६ जना शंकास्पद बिरामीको रिपोर्ट आउन बाँकी

|

काठमाडौं : नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो उल्लेख गरेको हो।

दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो। तर ती व्यक्तिलाई चाँडै नै निको भएको थियो।

हालसम्म ४ सय ७८ को परीक्षण

हालसम्म नेपालमा ४ सय ७८ जना शंकास्पद बिरामीको ल्याब परीक्षण गरिएको छ। ती सबैमा कोरोना भाइरस नेभेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भने, 'परीक्षण गरिएका ती सबैको रिपोर्ट नेगेटिभ आएको छ, गएराति काठमाडौंलगायत विभिन्‍न अस्पतालबाट ६ जना शंकास्पद बिरामीको ल्याब परीक्षणका लागि नमुना ल्याइएको छ। उनीहरुको  रिपोर्ट बेलुकासम्म आउँछ।'

यस्तै हिजो (आइतबार) कोरोना भाइरसको आशंकामा विराटनगरबाट ग्रान्डी अस्पतालमा रिफर गरिएका बिरामीमा समेत नेगेटिभ रिपाेर्ट देखिएको थियाे। 

यस्तै कोरोना भाइरसको आशंकामा विभिन्‍न अस्पतालमा भर्ना भएका ११ जनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ। काठमाडौँको टेकु र पाटनसहित पोखरा, चितवन, नेपालगन्ज, धनगढी, लुम्बिनीका विभिन्‍न अस्पतालका आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद बिरामीको गत शनिबारबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

‘अस्तिदेखि परीक्षणमा राखेका थियौँ, हिजो राति १० बजे रिपोर्ट आयो तर सबै नेगेटिभ छ, आज राति आएको केसको भने रिपोर्ट आउन बाँकी छ.' प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भने। 

चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिलेसम्म संसारका १ सय ४९ वटा देशमा फैलिएको छ। महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हाल विश्वका १ सय ५६ देशमा फैलिसकेको छ । यसबाट ६ हजार ६८ जनाले ज्यान गुमाइसकेका छन् । 

चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमणको आंशकामा नमुना संकलन गरी परीक्षणका लागि १३ जनवरीमा हङकङ पठाइएको थियो । त्यसको १० दिनपछि उनमा संक्रमण देखिएको पुष्टि भएको थियाे । 

रिपोर्ट आउन २६ घन्टासम्म लाग्‍ने

एकजना कोरोना शंकास्पद बिरामीको नमुना परीक्षणको रिपोर्ट आउन कम्तीमा २४ देखि २६ घन्टा लाग्ने गर्छ। हाल टेकुस्थित केन्द्रीय प्रयोगशालामा सरकारीस्तरबाटै कोरोना भाइरस शंकास्पद बिरामीको नमुनाको ल्याब परीक्षण हुँदै आएको छ।

प्रयोगशालाले कोरोना परीक्षणका लागि दुई वटा ल्याब तयारी अवस्थामा राखेको जनाएको छ। हाल एउटा ल्याब परीक्षणका लागि प्रयोगमा ल्याइएको र अर्को तयारी अवस्थामा राखेको छ। आवश्यक परे तीन वटा ल्याब पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको प्रयोगशालाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.