|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले २०७५ कात्तिक महिनामा जापानको हित्ता कम्पनीको सहयोगमा फोहोर जलाउने मेसिन नेपालमा ल्यायो। मेसिन सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनको समस्याबाट केही भए पनि मुक्त पाइने भन्दै स्थानीय खुसीले गदगद भए। तर, नगरपालिकाले मेसिन भित्र्याएको डेढ वर्ष पुग्दा पनि मेसिन सञ्चालनमा ल्याउन नसकेपछि फोहोर व्यवस्थापन गर्ने योजना अलपत्र परेको छ। 

नगरपालिकाले अहिलेसम्म पनि मेसिन प्रयोगमा ल्यान नसकेपछि मेसिनको कुरासमेत गर्न चाहेका छैनन् नगरबासी। गोकर्णस्थित बेसीगाउँका उर्मिला अधिकारीले गोर्केश्वर नगरपालिकाले मेसिन सञ्चालन गर्ने चासो नदेखाएकै कारणले अहिलेसम्म पनि मेसिन सञ्चालनमा आउन नसकेको बताउँछिन्।

उनले भनिन्,‘गोकर्णेश्वर नगरपालिकाले फोहोर जलाउने मेसिन नेपालमा भित्र्याएको एक वर्ष बितिसक्यो। अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन। अहिले त मेसिनको कुरा सुन्न पनि चाहदिनँ।’उनले मेसिन सञ्चालनमा आएमा थोरै भएपनि फोहोर व्यवस्थापन हुने आस राख्दै आएको बताइन्।

‘घरमा फोहोरमैला व्यवस्थापन गर्न सकिएको छैन,’उनले भनिन,‘मेसिन सञ्चालनमा आएको भए यति समस्या त हुँदैन थियो होला। तर, नगरपालिकाले यस विषयमा केही सोचेको छैन।’ उनका अनुसार हिउँदको समयमा भन्दा पनि बढी वर्षा यामको बेला फोहोर व्यवस्थापनमा समस्या हुन्छ।

जहिले पनि जोरपाटी चोकमा फोहोर थुप्रिने गरेको सुनाउँदै उनले भनिन,‘हिउँदको बेला त समयमा नगरपालिकाको गाडीले फोहोर लिन नआउँदा गन्हाउँछ। वर्षा याममा झनै फोहोरको समस्या हुन्छ। बाटो–बाटोमा फोहोर फाल्छन्। जहिले पनि जोरपाटी चोकमा फोहोर थुप्रिने गर्छ। त्यही वरिपरी हिड्ने सर्वसाधारण माक्स लगाएर वा नाक थुनेर हिड्नुपर्छ।’

गोकर्णेश्वर नगरपालिकाका अनुसार करिब पाँच करोड लागतमा ल्याएको मेसिनले दैनिक २५ टन कुहिने र नकुहिने दुवै प्रकारको फोहोरहरु जलाएर खरानी बनाउँछ। मेसिनले नै फोहोर सुकाई जलाउने काम गर्छ। 

‘विवादित भएकाले मेसिन सञ्चालनमा ल्याउन सकेनौँ’

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले फोहोर जलाउने ठाउँको विषयमा विवादित बनेपछि मेसिन सञ्चालनमा ल्याउन नसकिएको बताउँछन्। ‘मेसिन राख्ने ठाउँबारे विवादित हुँदा मेसिन सञ्चालनमा ल्यान सकिएन,’उनले भने,‘ठाउँ खोज्ने विषयमा नगरपालिकाले पहल गरिरहेको छ। उपयुक्त ठाउँ पाएपछि मेसिन सञ्चालनमा ल्याइन्छ।’

उनका अनुसार पहिले गोकर्ण जंगलको खाँली जग्गामा मेसिन राखेर फोहोर जलाउने योजना बनेको थियो। तर, स्थानीयले राख्न नदिएपछि त्यहाँ राख्ने योजना असफल भयो। अहिले पनि वस्ती नजिकमा मेसिन राख्न दिइरहेकोे छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.