बालबालिका पढाउन जुटाउँदै सहयोग

|

काठमाडौं : छिरिङ डोल्मा शेर्पा तिनै हुन् जो ‘मिसेस नेपाल टुरिजम २०१९’ मा विजेता भएकी थिइन्। बौद्धकी उनी नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउन पर्यटन सद्‍भावना दूत हुन्। पर्यटन क्षेत्रप्रति उनको जति सद्‍भाव र माया छ, त्यति नै दुखी, असहायको सारथि पनि बन्दैछिन्। वर्तमानमा यो उनको रहर र इच्छा दुवै हो।  

शिक्षामा पनि उत्तिकै लगाव छ उनको । त्यसो त उनले  हिमाल चढ्ने क्रममा ज्यान गुमाएकाआरोहीका छोराछोरीलाई निःशुल्क शिक्षा दिन कोष खडा गरिसकेकी छिन्।

मिसेस नेपाल टुरिजम विजेता भएपछि उनमा देशका लागि केही गर्नुपर्छ भन्‍ने हौसला बढेको छ। 'जति माया र प्रेरणा पाउँदै गएँ, त्यत्ति नै देशका विकास र पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्‍ने लागेको छ', उनी बताउँछिन्। 

अमेरिका पुगेपछि समाजसेवा

नेपाल पर्यटन बोर्डले दुई वर्षका लागि पर्यटन सद्‍भावना दूतमा नियुक्ति गरेपछि शेर्पा ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई प्रवर्द्धन गर्दै २०१९ अक्टोबर २ मा अमेरिका गइन्।

अमेरिकी र नेपाली व्यक्तिसँग घुलमिल हुने धेरै अवसर पाइन्। अमेरिका जानुभन्दा अगाडि पनि नेपालमा हुँदा हिमाल आरोहणको क्रममा मृत्यु हुनेको छोराछोरी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर उनले कोष खोल्ने योजना बनाइरहेकी थिइन्।

तर, उनले नेपालमा चाहे जस्तो हौसला पाउन सकेकी थिइनन्। जब उनी अमेरिका गइन् तब उनको सोचले सफलताको बाटो समात्यो। ‘अमेरिकामा बस्‍ने नेपाली दाजुभाइहरूमा नेपाल र हिमालप्रतिको मायासँगै केही गरौँ भन्‍ने सोच पनि रहेछ,’ उनी सुनाउँछिन्,‘अमेरिका गएपछि हिमाल चढ्दा ज्यान गुमाएका अभिभावकका बालबालिकालाई शिक्षा दिनुपर्छ भन्‍ने कुरा आयो।'

अमेरिका बस्‍नेहरूले  नै कोष जम्मा गर्ने अवसर जुराए। उनीहरूकै हौसला अनि मायाले यो मेरो सोच साकार पार्ने लक्ष्य लिइन् उनले। उनका अनुसार हालसालै  संस्था दर्ता भइसकेको छ। अहिले पीडित बालबालिकाहरूको खोजीमा उनी होमिएकी छन्। 

सातजनाले पढ्न पाउने

शेर्पाले आउने नयाँ शैक्षिक सत्र वैशाखबाट शिक्षाका लागि सातजना हिमाल आरोहणका पीडित बालबालिकालाई कोष उपलब्ध गराउँदै छिन्। ‘अहिले ३२ जना पीडित बालबालिका पाएको छु,’ उनले  भनिन्,‘भर्खरै काम थालेकाले अहिले सातजनालाई मात्रै लगानी गर्दैछु। सात नम्बर लक्की भएकोले ३२ जनाबाट सातजना रोजेको हुँ।’

उनका अनुसार यी सातजनाको घर नजिकै भएका स्कुलहरूमा पढाई खर्च  दिनेछन्। उपत्यका र ताप्लेजुङ जस्ता ग्रामीण भेगमा कोष उपलब्ध गराइने छ। कापी, कलमदेखि लत्ताकपडा खाजालगायत सबै व्यवस्था शेर्पाले गर्नेछिन्। उनले यसका लागि करिब १६ लाखको कोष स्थापना गरिसकेको  उनले सुनाइन्।

उनका अनुसार सातजना भने सिन्धुपाल्चोक,रामेछाप,दोलखालगायत जिल्लाका बालबालिका छन्। उनीहरूले उच्च शिक्षा अर्थात् १२ सम्म पढ्न पाउनेछन्। पीडित बालबालिकाको अवस्थाबारे उनी बेलिविस्तार लाउँछिन्,‘मानिस जन्मेपछि हरेक दुःख गरिरहनुपर्छ, भोग्‍नुपर्छ।

त्यस्तै घर परिवार पाल्नका लागि ट्रेकिङ गरिरहेका हुन्छन्। तिनै हिमाल चढ्ने व्यक्तिहरूले अकालमा ज्यान गुमाउँछन्। उनीहरूको सन्तानले पढ्नबाट बञ्चित नहुन भन्‍ने लाग्छ।'

कुनै देशलाई चिनाउन हिमाल आरोहण गर्न लागि पर्छन्। तर, सोच्दै नसोचेको घट्ना घट्छ। त्यसपछि परिवार बिचल्लीमा पर्छन्। यस्तै समस्यामा भएका बालबालिकाहरू पाएको उनको अनुभव छ। भेटिएका बालबालिकाबाट शिक्षाप्रति धेरै रुचि राख्‍ने खालका पाएको उनको भनाइ छ। शिक्षामा स्‍नातक गरिसकेकी शेर्पाले धेरै शिक्षाको महत्व बुझिसकेकी छिन्।

यसरी लागिन् पर्यटन क्षेत्रमा 

शेर्पा बाल्यकालदेखि नै  सकारात्क सोच राख्‍ने खुबी राख्‍ने खालकी  थिइन्। मिस नेपाल हुनुभन्दा अगाडि विभिन्‍न इभेन्टहरुको लिष्ट तयार गर्थिन्। नेपाली महिला भएकाले पनि समाजका लागि केही गर्नुपर्छ भन्‍ने सोच उनमा आयो।

उनी  भन्छिन्,‘म एउटा शेर्पाको छोरी भएकाले टुरिजमसम्बन्धी माया बढ्दै गयो। त्यसैले मिस नेपाल २०१९ मा भाग पनि लिएँ। उत्कृष्टमा विजेता भएँ। झनै ठूलो हौसला मिल्यो।’

संघर्षको परिणाम अर्थात् प्रमाणपत्र पुरस्कार सम्मान पाइन् उनले। उनले  आफ्नो अनुभव सुनाइन्,‘म पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्छ भनेर लागिरहेकी छु। त्यसैले देश तथा विदेशमा कार्यक्रम चलाउँछु। सम्मान गर्छन्। माया गर्छन्। यति पाउँदा धेरै नयाँ कुराहरूको ज्ञान अहिले पनि पाइरहेकी छु।’

शेर्पाले अहिले पर्यटन प्रवर्द्धन,मिस नेपालका लागि कसरी प्रश्नको उत्तर दिने, कसरी निरीक्षण,बोल्ने जस्ता विषयमा अरूलाई सिकाउँदै आएकी छिन्। 
उनको स्कुल पनि छ ‘माया कुञ्ज मन्टेश्वरी किन्डर गार्डेन’। नयाँ बस्तीमा रहेको यो मन्टेश्वरीको पनि उनी प्रधानाध्यपक हुन्। मन्टेश्वरी स्कुल खोलेको १० वर्ष भइसकेको छ।

उनी सजिलैसँग यहाँसम्म पक्कै आएकी भने होइनन्। ‘काम गर्दै आउँदा,जाँदा चुनौती त अवश्य भइहाल्छ नि,’विगतमा गरेको संघर्षलाई सम्झिँदै उनी सुनाउँछिन्,‘बालक जन्मिँदा पनि आमालाई धेरै चुनौती हुन्छ। त्यस्तैगरी जीवनमा संघर्ष गर्दै जाँदा समस्याहरु त आइरहन्छन्। त्यसलाई सामना गर्न सक्नु नै ठूलो कुरा हो।’ जति समस्या आइरहे पनि आजको लागि बाच्‍न सक्ने क्षमता बनाउँदै जानुपर्ने उनको भनाइ छ। 

एक सिजनमै ८० को ज्यान जान्छ

हिमाल आरोहण त्यति सजिलो छैन। त्यसैले बेलाबखतमा मृत्यु भएको समाचार सुनिन्छ। शेर्पाका अनुसार टुरिजम् प्राकृतिक वातावरण र हावापानीसँग जुध्‍नुपर्छ। केही वातावरणको तालमेल नमिलेकै कारणले गर्दा हिमाल आरोहीहरूले ज्यान गुमाउँदै आएका छन्।

‘मैले सुनेअनुसार एक सिजनमा ८० जनासम्मले ज्यान गुमाउँछन्,‘उनले भनिन्,‘यसभित्र हिमाल आरोही,गाइड,कुकलगायत सबै पर्छन्।’ 

सरकारसँग पयाप्त बजेट र नीति भए पनि नीति कार्यन्वयनमा आउन नसक्दा यस्ता समस्या हुँदै आएको उनको बुझाइ छ। ‘शिक्षा सबैलाई अपरिहार्य छ। तर, सरकारले हिमालपीडितका छोराछोरीका लागि केही सहयोग गरेको छैन,’उनी थप्छिन्। 

उनको सुझाव छ,‘एकजनाले मात्र पर्यटन क्षेत्र प्रवर्द्धन गर्न सकिँदैन। शिक्षा पनि दिन सकिँदैन। त्यसैले सरकार लाग्‍नुपर्छ। नेपाली जनता पनि सहयोगमा जुट्नुपर्छ। महिलाहरू घरमा बसेर हुँदैन सबै सशक्तीकरण बनाउनुपर्छ। म जस्तै अन्य महिलाहरू पनि पर्यटन प्रवर्द्धन गर्न लाग्‍नुपर्छ।’ 

 उनको याेजना पनि धेरै छन्। ‘अहिले छिरिङ डोल्मा शेर्पा फाउन्डेसनमा लागिपरिरहेको छु। मिसेस नेपाल टुरिजम २०२० सिजन थ्रीको ग्रेन्ड फिनाली चैतमा हुँदै छ। त्यसको पनि तयारी गर्दै छु। अब अन्य योजनाहरू काम गर्दै जाँदा बढ्दै आउँदै जानेछन्। भविष्यमा इभेन्ट मेनेजमेन्ट जाने सोचमा छु’, उनी आशावादी हुँदै सुनाउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.