अर्थ

पिखुवा खोलामा पक्की पूल निर्माणले गति लियो

चैत ५, २०७६

    भोजपुर : भोजपुरको पिखुवा खोलामा मोटर गुड्ने पुल निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। करिव दुई महिना अघिदेखि जग खन्न शुरू गरिएकोमा मंगलबारदेखि पुल अड्याउने कंक्रिट थाम (पिलर) ढलानको काम थालिएको हो।

    पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत प्रदेश नं १ सरकारको ६ करोड, १३ लाख ५३ हजार रूपैयाँ लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेवल पक्की पुल निर्माण शुरू भएको हो। 

    पुललाई गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न पूर्वाधार विकास कार्यालयले नियमित अनुगमन गरिरहेको छ भने पुलमा प्रयोग हुने सबै सामग्री 'ल्याब टेस्ट' गरेर मात्र प्रयोगमा ल्याइएको प्राविधिकहरूले दाबी गरेका छन्‌।

    पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले भने, ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट जिल्लामा सञ्चालन भएको यो नै सवैभन्दा लामो पुल हो, यसलाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गराउन हामी प्रतिबद्ध छौं, यो प्रयोग हुने सबै सामग्रीको 'ल्याव टेस्ट' गरिरहेका छौं, नियमित अनुगमन समेत गर्दै आएका छौं,’ पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले तोकिएको मापदण्ड पूरा गरेर समययावधिभित्रै निर्माण कार्य सक्ने प्रतिबद्धता जनाएको छ। 

    जनप्रतिनिधि र स्थानीयको सहयोग राम्रो रहेकोले काम गर्ने क्रममा प्राविधिक समस्या नआए तोकिएको समय अगावै काम सक्ने गरी जनशक्ति परिचालन गरेको कम्पनीको भनाई छ। निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवा प्रमुख श्याम श्रेष्ठले भने, ‘यो हाम्रो जिल्लाको गौरवको योजना पनि हो, यसलाई कार्यालयले तोकेको मापदण्ड अनुसार मैले काम गरिरहेको छ, काम गर्ने दौडानमा प्राविधिक समस्या देखिएन भने तोकिएको समयभन्दा अगावै काम सक्नेगरि यन्त्र उपकरणसँगै जनशक्ति परिचालन गरेको छु।’

    बर्खायाम शुरू भएपछि काममा बाधा हुने भएकोले यो समयमा कामलाई रातको समयमा समेत गर्ने गरेको श्रेष्ठले बताए। उनले भने, ‘यो हिउँदको समयमा हामीले जति बढी काम गर्‍यो, त्यति नै सजिलो हुन्छ, त्यसैले अहिले दिनरात नभनी काम तीव्र गतिमा अघि बढाएको छु।’

    डिजाइनअनुसार पूलको आयु ५० बर्ष तोकिएको छ। सम्झौता अनुसार पुलको निर्माण २ वर्ष अर्थात २०७८ असारसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ। भोजपुर नगरपालिका-१२ र रामप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने यो पुलले दक्षिणी क्षेत्रका स्थानीयलाई आवत-जावतमा सहजता हुनेछ। पुल निर्माणले रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकाको भोजपुर सदरमुकामसँग सीधा पहुँच विस्तार हुनेछ।

    पुलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत मंसिरमा शिलान्यास गरेका थिए। यो सँगै भोजपुरमा प्रदेश सरकारको बजेट तथा प्रदेशको पहलमा अन्य १० ओटा पक्की पुल निर्माण हुने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]