|

बारा :  खोला छेउमा बालुवा, गिटी, ढुंगाका ठूला-ठूला थुप्रासँगै दर्जनौं क्रसर मेशिनहरू मध्य दिनमा धुँलो, धुँवा र चर्को आवाजसहित चलिरहेको छ।

ठूलो संख्यामा ट्याक्टर र टिपर ढुंगा, गिटी, बालुवा बोकेर कुदिरहेका छन्। क्रसर उद्योग अनुगमन गर्न आउने अपरिचत व्यक्तिलाई तह लगाउन मुन्द्रेशैलीका युवा वरपर घुमिरहेको प्रष्ट देखिन्छ। बाराको निजगढस्थित बकैया खोला छेउमा सञ्चालित क्रसर उद्योगमा देखिएको दृष्य हो यो। 

झण्डै २ दशकदेखि नवीकरण नै नभएका क्रसर उद्योगलाई सम्वन्धित निकायले के आधारमा सञ्चालन गर्न दिएको छ? साना व्यवसायीलाई कानुनी प्रक्रिया नपुर्‍याए कारबाहीको दायरामा ल्याउने सरकारले वर्षौंदेखि नीति नियम मिचेका खोलाको सार्वजनिक जग्गामा क्रसर उद्योग सञ्चालन गर्दा कारबाही गर्ने सम्वन्धित निकाय भने मौन बसेको प्रष्ट बुझिन्छ। 

२०५३ सालदेखि २०६६ सालसम्म बारा जिल्लामा मात्रै २८ ओटा क्रसर उद्योगहरु दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको विवरणमा उल्लेख छ। सामान्यतया: उद्योग दर्ता गरेको पहिलो ५ वर्षमा र त्यसपछि प्रत्येक २/२ वर्षमा नवीकरण गनुपर्ने कानुनी प्रावधान छ। साथै जुन निकायमा उद्योग दर्ता गरिएको हो। सोही कार्यालयबाट नवीकरण गनुपर्ने कानुनी व्यवस्था भए पनि २ दशक अघि दर्ता भएर सञ्चालनमा रहेको क्रसर उद्योगले हालसम्म न त प्रारम्भिक वातावरणीय परीक्षण गरेका छन् न त नवीकरण नै। 

घरेलु तथा साना उद्योग कार्यालय कलैयाका प्रमुख अरविन्द साहले वर्षौंदेखि नवीकरण नभएका क्रसर उद्योगहरू खोला छेउमा सञ्चालन हुँदा अनुगमन र कारबाही गर्ने निकाय मौन बसेको बताए। ‘कानुन मिचेर खोला छेउमा क्रसर उद्योगहरू सञ्चालित छन्, कारबाही गर्ने निकाय मौन बस्छ, हामीलाई अनुगमन तथा कारबाही गर्ने अधिकार छैन, के गर्ने?’ कार्यालय प्रमुख साहले भने। 

क्रसर उद्योग सञ्चालनका लागि के छ मापदण्ड?

उद्योग मन्त्रालय तथा प्रदेश २ उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालयले क्रसर उद्योग स्थापना तथा सञ्चालनसम्वन्धी मापदण्डमा क्रसर उद्योग सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गनुपर्ने र आइईमा उल्लेख भएको मापदण्डभित्र रहेर उद्योग सञ्चालन गनु पर्नेछ। तर बारामा सञ्चालित क्रसर उद्योगले आइई नै नगरी वर्षौंदेखि सञ्चालनमा छन्।

‘उहाँहरूले मापदण्ड विपरित खोलामा क्रसर चलाइरहनु भएको छ भने अव के आधारमा आइईमा उल्लेख भएको मापदण्ड पूरा गर्न सक्नुहुन्छ?' साहले प्रतिप्रश्न गर्दै भने। क्रसर उद्योग सञ्चालनका लागि प्रत्येक १०/१० वर्षमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने र त्यसका लागि नदी, खोला र राजमार्गदेखि ५ सय मिटर, घनावस्ती, वन क्षेत्र, निकुञ्ज र शिक्षण संस्थादेखि २ किलोमिटर टाढा क्रसर उद्योग सञ्चालन गनुपर्ने व्यवस्था छ। 

निजगढ नगरपालिका अन्तर्गतको बकैया खोलामा मात्रै दर्जनौ क्रसर मेशिन राजमार्गको १०० मिटर दूरीमा खोलाकै सार्वजनिक जग्गामा सञ्चालनमा छन्। ‘प्रायजसो क्रसर उद्योग खोलामै सञ्चालन भएकोले उनीहरूले आइई गर्न मापदण्ड नै पुग्दैन’ साहले भने। 

कुन क्रसर उद्योग कति वर्षदेखि नवीकरण बिनै चलिरहेका छन्? बारा जिल्लामा दर्ता भएका २८ वटा क्रसर उद्योगमध्ये दर्ता भएको मितिले हालसम्म कुनै उद्योगले  नवीकरण नगरेको घरेलु तथा साना उद्योगले जनाएको छ। ती सवै उद्योगहरू नवीकरणको प्रकियामा गएका छैनन् भने आकाश स्टोन क्रसर उद्योगको दर्ता मिति घरेलुले तयार गरेको विवरणमा पनि उल्लेख छैन। 

बारा जिल्लामा दर्ता भएका २८ वटा क्रसर उद्योग मध्ये निजगढमा सबैभन्दा धेरै रहेको छ। विगतमा ठूलो विवादका कारण अमलेखगञ्जमा केही क्रसर उद्योग बन्द भएका छन्। प्रत्येक क्रसर उद्योगले छुटाछुट्टै प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्दछ। दशकदेखि क्रसर उद्योगले आइईबिना नै सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। ‘हामी कहाँ नवीकरणका लागि नआएका कारण कति क्रसर उद्योग बन्द छन्। कति सञ्चालनमा छन् भन्ने तथ्यांक पनि छैन ।’ साहले भने, ‘मापदण्डविपरित चलेको देख्दा देख्दै पनि हामीलाई चिठी काट्न सक्ने अधिकार छैन।’

२०७० असोज ८ गते घरेलु तथा साना उद्योग विभागले पठाएको पत्रका आधारमा जिल्ला घरेलु कार्यालयले मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योग २०७१ असार मसान्तभित्र अन्यन्त्र स्थानान्तरण गनुपर्ने अन्यथा सो अवधिपछि सो उद्योगहरू बन्द रकने भनि निर्णय गरेको थियो। तर पछि क्रसर उद्योगीहरूको दवावमा सरकारले पुन: २०७२ साउन ३१ गते देशभरका क्रसर उद्योगलाई पत्र पठाएर सञ्चालनमा रहको स्थानमै प्रारम्भिक वातावरणीय परीक्षण (आइई) मा तोकिए मापदण्डभित्र रहेर सञ्चालन गर्न दिने भनी उल्लेख गरेको छ। 

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय प्रमुख शिवराज सेढाईले अमलेखगञ्जमा विगतमा सञ्चालित अधिकांश क्रसर उद्योगहरू बन्द भइसकेको बताए।  उनले भने, ‘क्रसर उद्योग सञ्चालनका लागि जुन निकायमा उहाँहरूले उद्योग दर्ता गर्नुभएको हो। नवीकरण गर्ने अधिकार पनि उसैलाई हुँ अहिले हाम्रो मातहतमा क्रसर उद्योगहरू खासै सञ्चालनमा छैनन्।'
 
'क्रसर उद्योग भित्रको बेथितिको म एक्लैले तोड्न सक्दिनँ' : नगरप्रमुख खनाल

निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनालले क्रसर उद्योगभित्र देखिएको बेथिति आफू एक्लैले तोड्न नसक्ने बताए। ‘यो निजगढ नगरपालिकाको मात्रै समस्या होइन, देशभरको समस्या हो। क्रसर उद्योगलाई विद्युत प्राधिकरणले विद्युत दिइरहेको अवस्था छ, कर कार्यालयले राजस्व पनि असुली गरिरहेको छ।

बेथिति छ भने उहाँहरूले पनि लाइन काट्न सक्नुपर्‍यो। राजस्व लिन छाड्नुपर्‍यो। त्यति गर्नासाथ क्रसर उद्योग आफैँ बन्द भइहाल्छ’ नगरप्रमुख खनालले भने।

निजगढ नगरपालिकाभित्र मात्रै ९ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन्। नगरप्रमुख खनालले विगतमा छाडा तरिकाले सञ्चालन भएका क्रसर उद्योगलाई चालु आर्थिक वर्षभित्रै एकै ठाउँमा राखेर व्यवस्थित ढंगले सञ्चालन गर्ने गरी तयारी भइरहेको जनाए। प्रारम्भिक वातावरणीय परीक्षण नगरी सञ्चालन भएका क्रसर उद्योगलाई प्रकिया पुर्‍याएर आउन आफूले निर्देशन दिइसकेको नगरप्रमुख खनालले जनाए।

क्रसर उद्योग सञ्चालनमा अप्रत्यक्ष रुपमा उच्च, प्रशासनिक र राजनीतिक तहको संरक्षण भएकोले पनि मापदण्डविपरित खोलाको सार्वजनिक जग्गामा सञ्चालन भएका उद्योगलाई कारबाहीको दायरामा ल्याउन गाह्रो हुने गरेको श्रोतले जनाएको छ। 

'इआइए गर्नु/नगर्नु हाम्रो सरोकारको विषय होइन' : प्रमुख कर अधिकृत 

आन्तरिक राजस्व कार्यालय सिमरा बाराका प्रमुख कर अधिकृत तुलसीप्रसाद चौलागाँईले क्रसर उद्योगहरु मापदण्ड विपरित चले-नचलेको विषय आफूहरूको सरोकारको विषय नभएको जनाइएको छ। ‘इआए तथा आईइ गरेको छ/छैन, त्यो हेर्ने सम्वन्धित निकाय हामी होइनौं,  नगरपालिका र घरेलुले मात्रै हेर्ने हो, हामीले त आर्थिक कारोबार मात्रै हेर्ने हो, नियमअनुसार कर प्रणालीमा आएको छ छैन? कर समयमै तिरेको छ छैन? हेर्ने हो’ उनले थपे, ‘सञ्चालनमा रहेका क्रसर उद्योगहरूले कहिँ कर छलि गरेका छन् कि भनेर खोज्ने मात्रै दायित्व हाम्रो हो।’

घरेलु तथा साना उद्योग कार्यालय दर्ता भएका जिल्लाभरका २८ वटा क्रसर उद्योगहरू मध्ये कतिले आन्तरिक राजस्व कार्यालयसँग कारोबार गरिरहेका छन् भन्ने विस्तृत विवरण राजस्वमा कार्यालयमा नभएको एक कर्मचारीले जनाए।
  
कतिपय क्रसर उद्योगहरू अन्य व्यवसायको नामबाट कारोबार शुरु गरेरपछि सोही प्यान नम्बरमा क्रसर उद्योग थप गरी कारोबार गरिरहेको अनुसन्धानको क्रममा भेटिएको छ। आन्तरिक राजस्व कार्यालयमा हालसम्म बक्यौता रकम नतिरेका कारण निजगढ नगरपालिकाअन्तर्गत बकैया खोलामा सञ्चालित वैष्णवी स्ट्रोन क्रसर उद्योग कारबाहीमा परेको छ। 

‘यो बाहेक अन्य क्रसर उद्योग हालसम्म कारबाहीमा परेको हाम्रो रेर्कडमा छैन’ आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीले भने। २०६३ साल साउन २८ गते घरेलुमा दर्ता भएको वैष्णवी स्टोन क्रसर उद्योगले कर कार्यालयलाई राजस्व बापतको सात लाख ९८ हजार रूपैयाँ बक्यौता रकम २०७६ असार १८ गते बुझाएर पुन : सञ्चालनमा आएको छ। 

घरेलुमा दर्ता भएर आन्तरिक राजस्व कार्यालयमा करको दायरामा आएका क्रसर उद्योगहरू तोकिएको समयभित्र नवीकरण भए नभएको, प्रारम्भिक वातावरणीय परीक्षण गरे-नगरेको, मापदण्डविपरित सञ्चालन भएको भए पनि त्यो आफ्नो सरोकारको विषयभित्र नपर्ने आन्तरिक राजस्व कार्यालयले जनाएको छ। 

‘क्रसर उद्योगभित्र भएको बेथिती हेर्ने स्थानीय तह,प्रशासन हो। त्यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन’ प्रमुख कर अधिकृत चौलागाईंले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.