|

काठमाडौंः काठमाडौं महानगरपालिकाले रत्नपार्कको सार्वजनिक शौचालयभित्र सम्झौताविपरीत व्यापारिक पसल सञ्चालन गर्दै आए पनि हटाउन सकेको छैन। महानगरपालिकाको बेवास्ताले गर्दा अहिले पनि व्यापारीहरू आफ्नै सम्पत्तिसरह शाैचालयभित्र व्यापार गर्दै आएका हुन्।

सार्वजनिक शौचालयमा व्यापारिक पसल सञ्चालन गर्दा शहरवासी शौचालय खोज्दै हिँड्नुपर्ने बाध्यता छ। तर, यी समस्यामा महानगरपालिकाले समाधान गर्न कुनै पहल गरेको देखिँदैन। काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सबै व्यापारिक पसल हटाउने बताउँदै आएकी थिइन्।

गत माघ महिनामा उनले थाहा खबरसँग भनेकी थिइन्,‘सार्वजनिक शौचालयमा पसल सञ्चालन गर्ने भनेर सम्झौता गरेका छैनौँ। शौचालयभित्र पसल सञ्चालन गर्न पनि मिल्दैन। बोर्ड बैठकमा पनि पटकपटक कुरा उठाएको छु। जसरी भए पनि पसल हटाइन्छ।’ उनको आशलाग्दा बोली अहिले सम्म कार्यन्वयनमा आउन सकेको छैन। 

काठमाडौं महानगरपालिका र माधवप्रसाद काफ्लेबीच शहरी सेवा केन्द्र (रत्नपार्क)को आय संकलन (ठेक्का बन्दोबस्त) सम्झौतामा व्यापारिक पसल सञ्चालन गर्न पाउनुपर्ने उल्लेख छैन। पसल राख्‍ने सम्झौता उल्लेख नभए पनि अहिले ठेक्का पाएको लाम्पनटार सिन्धुलीका काफ्लेले सार्वजनिक शौचालयभित्र अनाधिकृत पसल सञ्चालन गर्न अरू व्यवसायलाई स्वीकृति दिइसकेका छन्।

रोकिएन रत्नपार्कका शौचालयमा खाजाघर, सम्झौता मिचेर बनाइयो थप संरचना

सम्झौतामा हालको भौतिक अवस्थाको संरचनागत परिवर्तन गर्न नमिल्ने भनिएको छ। तर, सम्झौतालाई लत्याउँदै थप संरचना बनाएर पसल सञ्चालन गरिँदै आएको छ। अहिले ठेला, सटर, गरी रत्नपार्कमा ५० भन्दा बढी सटर ब्लकमा  जुत्ता, चप्पल, लुगालगायत पसल सञ्चालित छन्। पसल मात्र नभई शौचालयभित्र खाजाघर, रेष्टुरेन्टहरू समेत सञ्चालनमा छन्।

त्यस्तैगरी, खुलामञ्चको सार्वजनिक शौचालयमा पनि व्यापारिक पसल सञ्चालनमा हुँदै आएको छ। रत्नपार्क काठमाडौं महानगरपालिका २८ वडाअन्तर्गत पर्छ। वडा २८ का अध्यक्ष भाइराम खड्गीले पसल हटाउनका लागि महानगरपालिकामा पत्र पठाइसकेको बताए।

‘सार्वजनिक शौचालयमा पसल सञ्चालन गर्नु अनैतिक कार्य हो,’उनले भने,‘पसल हटाइमाग्‍न हामीले नगरपालिकामा पत्र पठाइसकेका छौँ। तत्काल पहल गरेन भने आफैँ नगरप्रमुख विद्यासुन्दर शाक्यसँग कुरा गरेर नगर प्रहरी ल्याई पसल हटाउँछौँ।’ वडाले मात्र पसल हटाउन गाह्रो हुने र रत्नपार्क केन्द्रबाटै हेर्दै आएकाले महानगरपालिकाले नै समस्या समाधान गर्नुपर्ने उनको भनाई छ। 

नयाँ टेण्डर गरेपछि सबै पसल हट्छन्

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नयाँ आर्थिक वर्ष २०७७/०७८ मा नयाँ टेन्डर गरेपछि व्यापारिक पसल सञ्चालन  गर्न नदिने बताए। उनले भने,‘अहिलेको टेन्डर समय सकिन लागेको छ। नयाँ कार्यविधि पनि बन्दै छ। अर्को आर्थिक वर्षबाट नयाँ टेण्डर गर्दा शौचालय मात्र सञ्चालनमा आउने छ। यस विषयमा नगरपालिकामा छलफल हुँदै आएको छ।’

उनका अनुसार आगामी आर्थिक वर्षमा फेरि नयाँ टेन्डर गरिनेछ। त्यसमा पसल नभई शौचालय मात्रै सञ्चालन गर्न दिइनेछ। त्यसपछि शहरवासीलाई शौचालयसम्बन्धी केही समस्या देखिनेछैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.