|

काठमाडाैं :  कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्‌।

नेपाल पनि कोरोना संक्रमण भेटिएकामध्ये सबैभन्दा कम प्रभावित मुलुक हो। त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल आइरहेका छन्‌। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुककाे सूचीमा राखिसकेको छ। तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकजसो हवाईमार्ग हुँदै भारतीयहरू नेपाल आउने क्रम बढेको छ। 

भारतमा कोभिड-१९ को संक्रमणका कारण अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने १६९ जना संक्रमित भएका छन्‌। मानवीय हताहती बढेसँगै भारतीय नागरिकहरू त्रसित भई संक्रमणबाट जोगिन नेपाल आउन थालेको बताएका छन्‌।  

बुधबार मध्याह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि नेपाल आएकाे बताए। उनी भारतको चेन्नाइबाट आएका हुन्।

उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गरेकोले यतै बस्न आएको उनले सुनाए। नेपालमा अहिलेसम्म नफैलिएकोले यहाँ सुरक्षित होला भनेर यतै बस्न आएको उनको भनाई छ। अप्रिल दोस्रो हप्तासम्म उनी पढने कलेज छुट्टी छ। 'त्रिभुवन विमानस्थल भित्रको स्वास्थ्य परीक्षण गर्ने शैली चाहिँ खासै प्रभावकारी लागेन,' उनले भने।

भारतीय विमान स्थलमा नेपालमा जस्तो स्वास्थ्य परीक्षण नभएको उनले बताए। विदेशबाट आएका नागरिकलाई नेपालमा 'थर्मल गन' र 'स्क्रिनिङ' गरेर परीक्षण गरिरहेको छ। यतिमात्रले पनि स्वस्थ्य व्यक्तिको परीक्षण गराइमा सन्तुष्ट हुने आधार नरहेको उनले बताए।

त्यसैगरी, २५ वर्षे  श्याम शर्मा पनि भारतबाट आएका थिए। भारतको दिल्लीबाट आएका श्यामा अभिभावकका साथमा बस्न आएको उनले बताए। नेपालमा बसेका अभिभावकले उनलाई बोलाएर उनी आएका हुन्। 'भारतका अधिकांश मानिस भयभित छन, बाहिर तिर निस्कन सकेका छैनन, उनले भने।

उनका अन्य साथीहरु पनि नेपाल आउन चाहिँ रहेको छन। उनका अनुसार भारतका धेरै नागरिक त्रासमा छन्। दिल्ली सरकारले ५० जना भन्दा बढि भेला नहुने आदेश जारी गरेको अवस्था छ।

नेपालमा कोरोना भाइरस नदेखिएको र आफ्ना काका काठमाडौंमा काम गरेर बसेकाले केही दिन आफू यतै रहने मुकेश कुमारले बताए। उनी भारतको कर्नाटक राज्यमा बस्छन्। भारतमा भाइरसको संक्रमण कम भएपछि स्वदेश फर्कने उनले सुनाए।

दैनिक जसो नेपालमा भारतीय नागरिक १ सय ५० जना आइरहेका नेपाल अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारी बताउँछन्। अध्यागमन विभागलाई हवाइ उडान रोक्ने कुनै अधिकार नरहेको उनले बताए।

भिसा प्रक्रिया मात्र अध्यागमन विभागले हेर्ने भएकोले यसमा अध्यागमन विभाग जिम्मेवार नरहने उनले बताए। 'देशको नागरिकको स्वास्थ्यमा भयावह हुने अवस्था आएमा नागरिकको स्वास्थ्य सुरक्षालाई लिएर केही समयको लागि विमानस्थल बन्द गर्नलाई सिफारिस गर्न सकिन्छ,' उनले भने, 'कुटनीतिक सम्बन्ध रहेकोले पनि कतिपय अवस्थामा नागरिकलाई बन्देज गराउँन मिल्दैन।'

विदेशबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको उनले बताए। सकेसम्म विदेशी वा नेपाली यात्रुको राम्रो सँग परीक्षण गर्ने गरिरहेको छौ,' तिवारीले भने,' बाहिर मिडियामा आए जस्तो हल्ला या कमजोर व्यवस्थापन छैन।' थर्मल गन र स्क्रिनिङ गरेर प्रत्येक नागरिकको परीक्षण गरिरहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.