आज मलाई
जाबो हावाको झोक्काले हैरान बनाएर गयो
कहाँ हो कहाँ मैले सुँघेको
कहिले हो कहिलेको यादहरू
कस्तो कस्तो बास्नाले सम्झाएर गयो ।
वनझाँक्री, सुनको लौरो
वनझाँक्रीको पछाडी फर्किएको पैताला
वनझाँक्रीको ठूला-ठूला फाँचा भएकी स्वास्नीको डरले
साँझ पख खुब दगुर्थेँ म जङ्गलको बाटो
यो बास्ना त्यति बेलै जङ्गलबाट आएको डरलाग्दो गन्ध जस्तो पनि छ
हामी मधेस बसाइँ झर्दा
बेचेको घरलाई फर्की फर्की रुँदै हिँड्नु भएथ्यो आमा
गाउँलेहरू आँगनमा निक्लिएका थिए हामीलाई हेर्न
तल खोला पुगेपछि
अघिल्लो वर्षझै वनभोज खाँदै थिए मेरा सँगीहरू
यो बास्ना त्यति बेलै वनभोजबाट आएको
मीठो तर नरमाइलो-नरमाइलो पनि छ ।
यो बास्ना त्यति खेरको पनि हुन सक्छ-
काउकुती लाग्दो उमेरमा
उनी र म
जिस्किदाँ-जिस्कँदै /चल्दा-चल्दै,
योजनाबिनै त्यो सम्बन्धको अनुभव गरेथ्यौं
उनको भिजेको केशबाट निक्लिएथ्यो आलो मदहोसी बास्ना
हो ! यो बास्ना अलिअलि त्यस्तै मदहोसी-मदहोसी जस्तो पनि छ
खल्तिमा पैसा नहुँदा
भोकले लखतरान भेएर डेरा फर्कंदै गर्दा
मिठाई पसलबाट आएको मीठो बास्ना जस्तो
दसैं आउने बेला निद्रामै
हावाले ल्याएको मालतीको बास्ना जस्तो
प्रियजनको मलामी जाँदा अगरबत्तीबाट निक्लिएको
दर्दनाक गन्ध जस्तो पनि!
ए अँ त!
आज बाटोमा हिँड्दा-हिँड्दै
हावाको झोक्काले लिएर आएथ्यो
कस्तो-कस्तो बास्ना !
कहाँ हो कहाँ सुघेको !
ठम्याउनै नपाइ हावाले नै लिएर गयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।