धनगढी–दिल्ली मैत्री बस सेवा बन्ददेखि नाकामा आवागमन रोकसम्म

|

डडेल्धुरा : कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि सतर्कताका विभिन्‍न उपाय अपनाउन थालिएको छ। हालसम्म नेपालमा त्यसको पुष्टि नभए पनि सुरक्षाका लागि विभिन्‍न उपायहरू अपनाउन थालिएको हो।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै नेपालमा त्यसको प्रभाव देखिन थालेको छ।

सुदूरपश्चिम प्रदेश सरकार र यस प्रदेशका विभिन्न स्थानीय तहले पनि कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णय र कार्य गरेको छ। हालसम्म सुदूरपश्चिममा कोरोना भाइरसका बिरामी नदेखिए पनि पूर्व-तयारीलाई मजबुत बनाउने निर्णय प्रदेश सरकारको थियो। 

सामाजिक विकास मन्त्रालयको नेतृत्‍व

प्रदेश सरकारले सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेर धेरै स्थानमा स्थापना पनि गरिसकेको छ। यहाँको सामाजिक विकास मन्त्रालयले कोरानाको संक्रमण भित्रिन नदिन र रोकथाम गर्न आवश्यक व्यवस्थापनको नेतृत्व गरिरहेको छ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका नाका र जिल्लागरी प्रदेशभरीमा २९ वटा हेल्थ डेस्क र ५० वटा आइसोलेसन बेड स्थापना भएका छन्।

हेल्थ डेस्क सबैभन्दा बढी कैलालीमा स्थापना गरिएको छ सबैभन्दा कम बाजुरा र बैतडीमा छन्। कैलालीमा ६, कञ्चनपुर र दार्चुलामा पाँच–पाँच, डोटी र बझाङमा चार–चार, अछाममा ३,  बैतडी र बाजुरामा एक–एक हेल्थ डेस्क स्थापना भएका छन्। डडेल्धुरामा स्थापना गरिएका दुईवटा हेल्थ डेस्क अहिले बन्द गरिएको छ।

स्थानीय सरकारको पनि सचेतना अभियान

विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का बारेमा यहाँका स्थानीय सरकारहरूले नागरिकलाई सचेत गराइरहेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आमा समूहमार्फत सचेतनाका काम गरिरहेको गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए।

उनका अनुसार वडास्तरमा कोरोनाका लक्षण, यसबाट बच्न उपायबारे महिला स्वास्थ्य स्वयंसेविकामार्फत आमा समूहले सचेतना गराउँदै आएका छन्। वडा र गाउँपालिकामा संयन्त्रमार्फत कोरोनाबारे सचेतना गर्न लागेको गाउँपालिकाले जनाएको छ। अन्य स्थानीय तहहरू पनि कोरोनाबारे सचेतना जोगाइरहेका छन्।

नाकामा आवागमन बन्द

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाअन्तर्गत भारतसँग सीमा जोडिएका दुई नाका बन्द गरिएको छ। परशुराम नगरपालिकाको तातापानी सिसमजालाघाट र परिगाँउ बाङघाट नाका चैत ४ गतेदेखि अनिश्चित कालका लागि बन्द गरिएको हो। 

स्वास्थ्य सतर्कतालाई ध्यानमा राख्दै नगरपालिकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि तारउतारघाट बन्द गरिएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए।  उनले भने, ‘हेल्थ डेस्क स्थापना भए पनि आवश्यक स्वास्थ्य सुरक्षाको अभाव देखिएकाले तत्कालका लागि नगरपालिकाअन्तर्गत रहेका दुईवटै नाका हाललाई बन्द गरिएको हो।’

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणलाई मध्यनजर गर्दै सूचना जारी गरी अनिश्चित कालका लागि परशुराम नगरपालिका–५ को बाङघाट र परशुराम नगरपालिका–६ को सिसमजालाघाट पूर्ण रुपमा बन्द गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए। 

सिसमजाला घाट र बाङ्घाटबाट दैनिक १५० देखि २०० को हाराहारिमा मानिसहरू नेपाल(भारत आवतजावत गर्ने भए पनि घाट बन्द भएपछि दैनिक उपभोग्यका सामादेखि अन्य लत्ता कपडा र खाद्यान्य किनबेचमा समस्या आएको छ। सीमानाका बन्द भएपछि परशुराम नगरपालिकाको सिसमजाला, सादनी, घुम्टेगडा, सिमलखेत, परिगाउँ, कटाल, जमरेनी, लामीगडालगायत दर्जनौं बस्तीहरूका मानिसहरूलाई प्रत्यक्ष असर परेको छ।

यस्तै, बैतडीको तल्लोसोराड क्षेत्रका भारतसँग जोडिएका सबै नाका (घाट) बन्द गरिएका छन्। शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो।

गौरीफन्टा र खक्रौलामा उच्‍च सतर्कता

उता कैलालीमा भारतसँग जोडिएका गौरीफन्टा र खक्रौला बाहेकका अन्य नाकामा आवागमन रोक लगाइएको छ। गौरीफन्टामा बसेको नेपाल–भारतका अधिकारीहरूको संयुक्त बैठकले जिल्लाका दुई नाकाबाट मात्र आवातजावत गर्न दिने सहमति गरेको हो।

जिल्लाका गौरीफन्टा र खक्रौला नाकामा उच्च सर्तकता अपनाउँदै आवागमन गर्न दिने सहमति भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

अन्य नाकामा भने आवागमनमा रोक लगाउने निर्णय भएको उनले बताए। बैठकमा सीमाबाट आवतजावत गर्नेहरूको स्वास्थ्य परीक्षण थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

धनगढी–दिल्ली मैत्री बस सेवा बन्द

धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ। कोरोना भइरसको संक्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको हो।

धनगढीबाट गौरीफन्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए। यसबाहेक गौरीफण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ।

धनगढीबाट नयाँ दिल्लीका लागि छुट्ने बस सेवा सोमबारबाट बन्द गरिएको त्रिनगर प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक महादेव भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.