|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अढाई करोडमा टिकट लेनदेन भएको अडियो रेकर्डबारे स्पष्टोक्ति दिएका छन्।

नेकपासँग गठबन्‍धन गरेका राजपाको तर्फबाट उम्मेदबार बनेका शेखर सिंह गत माघ ९ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भए। तर, निर्वाचनअघि नै राजपा अध्यक्ष मण्डललाई अढाई करोड बुझाएर  सिंहलाई टिकट दिलाएको दाबी सप्तरीका पूर्व-सिडिओ तिलक राम शर्माले गरेका छन्।

स्रोतका अनुसार सिंहले नै तत्काल रकम दिन भनेको र चुनाव जितेपछि उक्त रकम तिर्न नचाहेपछि पूर्व-सिडिओ शर्माले सप्तरीका ज्योति झासँग सहयोग मागे। त्यसपछि झा सिंहकै परोसी सरजित सिंहसँग फोनमा कुरा गरे। त्यही अडियो सार्वजनिक भएपछि यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ।

फोनमा सरजित सिंहले राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग अढाई करोडको लेनदेन विषयमा कुरा गरेको पूर्व-सिडिओ शर्मालाई बताएका छन्। उनले फोनमा भनेका छन्, 'राजकिशोर यादवसँग फोनमा कुरा गरेँ। उहाँले यो कुरा आउट भएपछि पार्टीको बदनाम हुन्छ। त्यसैले १०/१५ दिन मौन भएर बस्न भन्नुस्। पछि छलफल गरी समाधान गर्नुपर्छ।'

तर, राजपा अध्यक्ष मण्डलका सदस्य यादवले भने फोनमा आफूसँग कुरा गरेको प्रमाणित गरेमा राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। सामाजिक सञ्‍जालमा उनले लेखेका छन्, 'मसँग कुराकानी भएको कुरामा कुनै सत्यता छैन। टेलिफोनमा मात्र हैन, विगत ६ महिनादेखि न त कुनै किसिमको भेटघाट र फोन सम्वाद भएको छैन।'

उनले अडियो रेकर्डमा नितान्त आफ्नो राजनितिक चरित्र हत्या गर्ने गन्ध आएको देखिएको दाबी गरेका छन्। आफ्नो गरिमालाई कसैले षड्यन्त्रपूर्ण तरिकाले बदनाम गरे कानुनी कारबाही गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.