|

भद्रपुर : कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट बच्‍न झापा कारागार भद्रपुरमा उच्च सतर्कता अपनाइएको छ।

झापा कारागार प्रशासनले कारागारभित्र रहेका कैदबन्दीलाई चाहिने कुनै पनि वस्तु क्वारेन्टाइनमा नाराखी प्रवेश गर्न दिएको छैन। यतिसम्म कि कैदीका आफन्तले ल्याएको नगद पैसासमेत बाहिर बनाइएको क्वारेन्टाइनमा पाँच दिनसम्म राख्नुपर्छ।

क्वारेन्टाइनमा पाँच दिनसम्म राखेपछि मात्र कैदीले आफ्नो पैसा पाउने व्यवस्था गरिएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिए। ‘आफन्त र बाहिरबाट आएको कुनै पनि खानेकुरा, आवश्यक सामग्री कारागारभित्र लान दिएका छैनौँ,’ उनले भने। 

कारागारमा पुर्पक्षका लागि आउने नयाँ कैदीबन्दीलाई छुट्टै स्वास्थ्य परीक्षण गरेर मात्र भित्र प्रवेश गर्न दिएको बताउँदै उनले भने, ‘उच्च ज्वरो र रुघाखोकी लाग्‍ने कैदीलाई उपचारका लागि अस्पताल पठाइरहेका छौँ।’

 पत्रिका किन्‍न छाडे

यता, कैदीबन्दीले आफैँले व्यक्तिगत रूपमा खरिद गरी पढ्दै आएको कान्तिपुर साप्ताहिक पत्रिकासमेत लिन छाडेका छन्। शुक्रबार प्रकाशित हुने साप्ताहिक पत्रिका कारागारमा हप्तामा एक दिन जाने गरेको थियो। कैदीबन्दीले साप्ताहिक पत्रिका लिन छाडेको पुस्तक पसल सञ्चालकहरूले जानकारी गराएका छन्।

साप्ताहिक पत्रिका बन्द भए पनि अन्य दैनिक पत्रिका भने नियमित गइरहेको छ। कैदी बन्दीलाई भेट्न जाने आफन्त र वकिललाई कारागारको गेटमै साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्न दिइरहेको कारागारका प्रहरी प्रमुख उदय शमशेर रानाले जानकारी दिए।

कुनै पनि सामान बोकेर भित्र लान  नदिइरहेको उनको भनाइ छ।  कारागारमा हाल ७५ जना महिला, पाँच जना आश्रित र १०७३ जना पुरुष गरी ११५३ जना कैदी रहेको जनाइएको छ।  

१५ सय थान मास्क वितरण

कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपाली बजारमा मास्कको अभाव भइरहेको बेला प्रज्ञा एकाडेमी भद्रपुरले नि:शुल्क मास्क वितरण गरेका छन्।

कोरोना भाइरसबाट बच्‍न मुखमा मास्क अनिवार्य लागाउनुपर्ने अभियानमा उत्रिएका प्रज्ञा एकाडेमीले १५ सय थान मास्क वितरण गरेका हुन्। प्रज्ञा एकाडेमी, इन्टरएक्ट र बाल क्लबले संयुक्त रूपमा शुक्रबार झापाको सदरमुकामस्थित चन्द्रगढी हाटबजारमा आउने सर्वसाधारणलाई मास्क निःशुल्क रूपमा वितरण गरेको एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले जानकारी दिए।

मास्क वितरणमा विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। बजारमा मास्कको अभाव भइरहेको बेला विद्यालयको सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी एकाडेमीले सर्वसाधारणलाई मास्क उपलब्ध गराएको उनको भनाइ छ।

भद्रपुर १० नम्बर वडा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा एकाडेमीका प्रिन्सिपल पाण्डेले भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठलाई मास्क लगाइदिएर कार्यक्रमको उद्घाटन गरेका थिए।

मास्क वितरण कार्यक्रममा १० नम्बर वडा अध्यक्ष टेकबहादुर खड्का, नगर शिक्षा शाखाका प्रेम भुजेल, रोटरी क्लब भद्रपुरका अध्यक्ष टीकाराज ढकाल, इन्टरएक्टका अध्यक्ष अभि पाण्डेलगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.