दुवै अस्पतालमा कोरोना आशंकित बिरामी भर्ना नै भएका छैनन्

|

काठमाडौं  :शनिबार बिहानैदेखि एक मिनेटको अडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट भाइरल भइरहेको छ। सरकारले देशलाई शुक्रबारबाट 'सेमी लकडाउन'मा लगेको अवस्थामा फैलिएको यो अडियोका कारण सर्वसाधरण त्रसित भइरहेका छन्। 

एकजना युवकले हिमाल नामका आफ्ना साथीलाई महत्वपूर्ण समाचार सुनाउने भन्दै यो अडियो रेकर्ड गरेको सुन्न सकिन्छ। उनले यो अडियोमा नर्भिक अस्पतालमा उपचाररत कोरोना भाइरस आशंकित ९ जना बिरामीमध्ये ६ जनाको रिपोर्ट पोेजेटिभ आएको उल्लेख गरेका छन्।

नर्भिकमा भर्ना भएका नौमध्ये ६ जनालाई कोरोना संक्रमण भएको समाचार उनको टोलमै बस्ने त्यही अस्पतालका स्टाफले भनेको भन्दै रेकर्ड गरेको भेटिएको हो। उक्त अडियोका कारण भित्रभित्रै जनमानस आतंकित भएको छ। अडियोमा नेपालमा कोरोनाको महामारी नै फैलिइसकेको अर्को दाबी पनि गरिएको छ।

नर्भिक अस्पतालमा कोरोना देखिएका बिरामीबारेमा पत्रकारहरुले पनि समाचार नलेख्ने भन्दै उनले सरकारले यस घटनालाई लुकाइरहेको दाबी गरेका छन्।

‘नर्भिकका स्टाफ दाइले नै भनेपछि यो कुरा कसरी झुटो हुन्छ र? तिम्रो आफ्नो आफन्तालाई पनि भनिदेऊ’, अडियो सन्देशमा भनिएको छ, ‘यो कुरा 'फेक' होइन है। यो कुरा न्यूजमा पनि आउँदैन है, सरकारले पनि लुकाएको छ।’

यो अडियो सन्देशमा रेकर्ड भएको आवाजमा त्रिवि शिक्षण अस्पतालमा पनि ४/५ जना कोरोना संक्रमितको ज्यान नै गएको जिकिर गरिएको छ। मरेकाहरुलाई जलाउन नै लगिसकिएको र त्यस घटनालाई पनि गुपचुप राखिएको कुरा अडियोमा सुन्न सकिन्छ।

अल्का पुल्चोकमा नर्भिक थापाथली

यो अडियोमा भनिए अनुसारको नर्भिक अस्पताल ललितपुरको पुल्चोकमा छैन। पुल्चोक नजिकै त अल्का अस्पताल रहेको छ। नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा छ। प्रसुति गृह सामुन्ने छ नर्भिक इन्टरनेशनल अस्पताल।

नर्भिकमा छन् त कोरोनाका बिरामी? 

अस्पतालकी एक स्टाफ नर्सका अनुसार अहिलेसम्म नर्भिककमा कोरोना आशंकित कुनै बिरामी भर्ना भएका छैनन्। उपचार र स्वास्थ्य जाँचको कुरा त झन् परको भयो।

'हामीले पनि उक्त अडियो सुन्यौँ, कोरोना आशंकित बिरामी नै भर्ना नलिएको अवस्थामा उक्त अडियोले हामीलाई नै त्रसित बनायो', उनले भनिन्, 'अस्पताल रहेको ठाउँ नै गलत भनेर झन् भ्रम छरिएको छ, यो फेक हो भन्ने कुरामा कुनै शंका छैन। यसबारेमा अस्पताल प्रशासनले आधिकारिक धारणा पनि सार्वजनिक गर्नेछ।'

कोरोनाको परीक्षण शुक्रराजमा

नेपालमा कोरोनाको आशंकमा अहिलेसम्म साढे ५ सय भन्दा धेरैको स्वास्थ्य जाँच भइसकेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबारसम्ममा ५४६ जना बिरामीको स्वास्थ्य परीक्षण भएको हो। 

जसमा एकजनालाई मात्रै कोरोना पोजेटिभ देखिएको थियो। एक महिनाअघि कोरोना पोजेटिभ देखिएका ती युवक अहिले कोरोनाबाट ‘रिकभर’ भइसकेका छन्। त्यसबाहेक शुक्रराज अस्पतालमा स्वास्थ्य परीक्षण गरिएका ५४५ जनाको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ। 

नेपालमा अहिलेसम्म शुक्रराज अस्पतालमा मात्रै कोरोनाको जाँच हुन्छ। जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले स्वास्थ्य जाँच गरिएका ५४६ मध्ये ५४५ को रिपोर्ट नेगेटिभ आएको बताउँदै एकजना पनि एक महिनाअघि नै पूर्णरुपमा ठीक भइसकेको जानकारी दिएकी छन्। 

विदेशबाट आएका र यहीँका कोरोना आशंकित बिरामीलाई पनि शुक्रराज ट्रपिकल अस्पताल र पाटन अस्पतालको आइसोलेनसमा मात्रै राखिएको छ। 

कसैमा पोजेटिभ नदेखिएकाले अफवाहको पछि नलाग्न चिकित्सहरुले आग्रह गरेका छन्। जिल्लाबाट आएका बिरामीहरुको पनि परीक्षण गर्दा कसैमा कोरोना देखिएको छैन।

इटालियन पनि ठीक भए

कोरोनाको महामारी फैलिएको इटालीका एक नागरिकत एक सातअघि शुक्रराज अस्पतालको आइसोलसनमा भर्ना भएका थिए। विमानस्थलमा अवतरण गरेपछिको जाँचमा उच्च ज्वरो देखिएपछि आइसोलेसनमा भर्ना भएका इटालियनको रिपोर्ट पनि नेगेटिभ आएको थियो। उनी उपचारपछि पनि ठीक भएर गइसकेको डा. अनुप बाँस्तोलाले जानकारी दिए।

त्यसैगरी कोरोनाभाइरसको आशंकामा यही सोमबार पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिएको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले बताए। उनीहरु अमेरिका र स्कटल्याण्डका नागरिक थिए। उनीहरुमध्ये एकजनालाई गम्भीर निमोनिया देखिएको थियो। तर उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ। 

अपवाहको पछि नलाग्नू : खड्गा

उता यो अडियोमा दाबी गरिए अनुसार त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म कोरोनाको आशंकमा एकजना पनि बिरामी भर्ना गरिएको छैन।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले थाहाखबरसँग भने, ‘शिक्षणमा अहिलेसम्म कोरोनाका कुनै बिरामी भर्ना गरिएको छैन। कोरोनाका लागि आइसोलेसन वार्डसमेत हामीले बनाइसकेका छैनौँ। अहिलेसम्म सबै बिरामीको उपचार शुक्रराज अस्पतालमै भइरहेको छ’, उनले भने, ‘कोरोनाका बिरामी भर्ना नै नभएको अस्पतालमा पाँचजनाको मृत्यु भयो भन्नु अफवाह हो। हल्ला र भ्रम पार्ने कुराको पछाडि कसैले नलाग्नू।’

लुकाउन सम्भव छ?

तपाईं हामीलाई थाहा नै छ चीनको वुहान सहरबाट गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) विश्वका १७५ देशमा पुगिसकेको छ। 

यो भाइरस विश्वका एक सय भन्दा धेरै देशमा फैलिएलगत्तै विश्व स्वास्थ्य संगठनले गत फागुन २८ गते नै ‘विश्वव्यापी महामारी’ घोषित गरिसकेको छ। 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले भाइरसको बढ्दो प्रभावलाई रोक्न विश्वसमुदाय एकजुट हुनुपर्ने भन्दै यसलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेका थिए। 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले युरोपसँगै दक्षिण एसियालाई पनि अफ्ठेरोमा पार्न सक्ने चेतावनी दिइसकेको छ। उसले नेपाल पनि अब उच्च जोखिममा रहेको चेतावनी दिएपछि सरकारले देशलाई अहिले ‘सेमी लकडाउन’को अवस्थामा पुर्याइसकेको छ। 

यस्तो अवस्थामा कुनै पनि देशले कोरोना भाइरससम्बन्धी जुनसुकै विवरण लुकाउन पाउँदैनन्। एकदलीय शासन रहेको चीनलाई समेत निगरानीमा राखेको विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत नजिकबाट नियालिरहेको छ। 

उसले कोरोना भाइरसको तथ्यांक नलुकाउन चेतावनी दिँदै यदि त्यस्तो गरेमा अवस्था भयावह हुने बताइसकेको छ। विश्व स्वास्थ्य संगठनले नजिकबाट नियालिरहेको अवस्थामा कुनै पनि देशले कोरोना भाइरससम्बन्धी तथ्यांक लुकाउन सक्ने अवस्था छैन। यस्तोमा नेपालले कोरोना भाइरसबारेको तथ्यांक लुकाएर विश्व समुदायबाट एक्लिने जोखिम मोल्ने अवस्था छैन। 

अपडेट : समाचार छापिएपछिको प्रतिक्रिया

यो समाचार प्रकाशित भएपछि नर्भिक इन्टनेशनल अस्पतालका अध्यक्ष वसन्त चौधरीले केही व्यक्तिले नियतवश कोरोना भाइरसबारे अफवाह फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन्। 

उनले नर्भिकमा कोरोनाका कारण बिरामीको मृत्यु भएको भन्ने अफवाहका पछि नलाग्न पनि अपिल गरेका छन्। 'नर्भिकमा कोरोनाका कारण बिमारीको मृत्यु भएको भन्ने अपवाहका पछि नलाग्नुस। भाइरल भएको समाचार अत्यन्तै भ्रामक हो र नियतवस गरिएको हो', उनले भनेका छन्, 'नर्भिकमा यस्ता कुनै पनि बिरामीहरु नभएको जानकारी गराउन चाह । प्रहरीको साइबर क्राइम सेलले उक्त व्यक्तिको पहिचान गरी कारवाई अगाडि बढाएको छ। हामी सबैलाई भ्रममा नपर्न अनुरोध गर्दछौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.