परिवारलाई नै आइसोलेसनमा राखियो

|
पूर्व गोरखा सैनिक राईको निधन भएको अस्पताल। फोटो : एजेन्सी

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) बाट बेलायतमा एकजना नेपाली नागरिकको मृत्यु भएको छ। कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्वगोरखा सैनिकको मृत्यु भएको हो।

संखुवासभाको खाँदबारी नगरपालिका-१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार मृत्यु भएको हो। 

उनको लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। पूर्व गोरखा सैनिक राईको कोरोना संक्रमणबाटै मृत्यु भएको जानकारी गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कृष्णकुमार राईले थाहाखबरलाई दिए।

'हो, उहाँ (लीलाबहादुर) को कोरोनाबाटै मृत्यु भएको पुष्टि अस्पतालले गरेको छ। परिवारले पनि मलाई यसबारे जानकारी दिएका छन्', अध्यक्ष राईले भने, 'गम्भीर बिरामी भएपछि उहाँलाई मंगलबार दिउँसो अस्पताल भर्ना गरिएकोमा त्यही साँझ मृत्यु भएको खबर आएको छ।'

राई यही साता मात्रै अस्पतालबाट घर फर्किएका थिए। तर मंगलबार अपरान्ह ४ बजेको समयमा स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई फेरि नर्थवीक पार्क अस्पताल लगिएको थियो। तर साँझ ८ बजेको समयमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे।

राईको निधनको तीन दिनपछि मात्रै अस्पतालले उनमा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए। कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आउन २४ घण्टादेखि ४८ घण्टासम्म लाग्न सक्छ।

संखुवासभाबाट बसाइँ सरेर सुनसरीको इटहरी उपमहानगरपालिकामा पनि बसोबास गरिरहेका उनी सन् २००८ मा बेलायत गएका थिए। आर्मी नम्बर २११६०५८१ का राई सेकेण्ड गोरखा राइफल्समा १७ वर्षसम्म कार्यरत थिए। 

राई बेलायतमा श्रीमती र छोराबुहारीसहित बस्दै आएका थिए। राईको २० वर्षअघि मिर्गौला प्रत्यारोपण पनि गरिएको पारिवारिक श्रोतले जनाएको छ। 

कोरोना संक्रमित भएर निधन भएपछि अहिले उनको परिवारलाई नै ‘आइसोलेसन’ मा राखेर निगरानी गरिएको छ। परिवार नै आइसोलेसनमा रहेकाले आफन्तहरुलाई भेट्न दिइएको छैन। 

उता संखुवासभा समाज बेलायतले जिल्लाबासी र आफन्तलाई राईको परिवार आइसोलेसनमा रहेको जानकारी दिएको छ। उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट निस्किएपछि मात्रै भेटघाट गर्न पाउने पाइने समाजले जनाएको छ।

नर्थ वीकमा ६ जनाको मृत्यु

लण्डनस्थित नर्थ वीक अस्पतालमा उपचारका क्रममा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। जसमा एकजना पूर्व गोरखा सैनिक राई पनि हुन्।

अस्पतालका अनुसार गम्भीर अवस्थामा ती ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो। ती ६ जना बिरामीको मृत्युको पुष्टि अस्पतालले शुक्रबार गरेको हो। 

यो अस्पताललाई लण्डन नर्थ वेस्ट युनिभर्सिटी हेल्थ केयर ट्रष्टले सञ्चालन गरिरहेको छ। यो अस्पतालमा कोरोनाका बिरामी थपिँदै गएका छन्। कोरोनाका थप बिरामीको उपचारका लागि क्षमताले धान्न नसक्ने अस्पतालले शुक्रबारै जनाइसकेको छ। 

बेलायतमा ४०७२ संक्रमित, १७७ को मृत्यु

बेलायतमा शनिबारसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ४०७२ पुगेको छ। शुक्रबारसम्म संक्रमितको संख्या ३९८३ थियो। तर शनिबार ८९ जना नयाँ संक्रमित भेटिएका हुन्। 

त्यहाँ मृत्यु हुनेको संख्या १७७ पुगिसकेको छ। बेलायतमा ठूलो संख्यामा नेपाली समुदायको बसोबास छ। बेलायतमा कोरोना संक्रमितमध्ये ६५ जना मात्रै अहिलेसम्म उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.