साइबर ब्यूरो भन्छ : कसैले उम्किन पाउँदैनन्

|

काठमाडौं : विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला सबैभन्दा त्रास अफवाह फैलाउनेका कारण बढिरहेको छ। कोरोना भाइरस (कोभिड-१९) विरुद्ध विश्‍वजगत नै 'युद्धमोर्चा' मा खटिइरहेको छ। 

नेपालले रोकथामका लागि त्यही स्तरको तयारीलाई तीव्र बनाइरहेको छ। कोरोना संक्रमण हालसम्म नदेखिएको नेपालमा देशदेखि विदेशमा बसेकाले फैलाएको अफवाहका कारण सर्वसाधरण हैरान भएका छन्।

गत डिसेम्बरमा चीनदेखि फैलिएको कोरोना भाइरसको नेपालमा करिब ५५० जनामा परीक्षण भइसकेको छ। जसमा हालसम्म एकजना मात्रै पोजेटिभ देखिएको छ। एक महिनाअघि पोजेटिभ रिर्पोट आएका युवक अहिले ठीक भइसकेका छन्। 

अफवाहको आतंक
नेपालमा कोरोना संक्रमण नदेखिएको अवस्थामा शनिबार एकैचोटी तीनवटा अफवाह फैलाइयो। पहिलो थियो रामेछापका विवेक थापा मगरले नर्भिक अस्पतालमा कोरोनाका ६ जना बिरामी भेटिएको र शिक्षण अस्पतालमा ४ जनाको मृत्यु भइसकेको अफवाह।

आफुले सञ्चालन गरिरहेको झोर्ले अनलाइनमा रिच र भिजिटर बनाउने नाममा हिमाल नामका साथीलाई सम्बोधन गरी बनाइएको एक मिनेटको भ्रमपूर्ण अडियोले सर्वसाधरण त्रसित भएपछि प्रहरीले थापा मगरलाई शनिबारै भक्तपुरबाट पक्राउ गरिसकेको छ। 

नेपाल प्रहरीको साइबर ब्युरो प्रमुख एसएसपी नविन्द्र अर्यालका अनुसार आफ्नो अनलाइनमा चाहेजति रिच नआएको र भिजिटर पनि नबढेकाले यस्तो अफवाहपूर्ण अडियो बनाएर सामाजिक सञ्जालमा हालेको बयान विवकले दिएका छन्। 

अचम्म लाग्दो कुरा त अफवाहपूर्ण अडियो बनाएर भाइरल भएको अवस्थामा यस्तो ‘अडियो बनाउने युवकलाई खोज्दै प्रहरी’, शीर्षकको समाचार उनै विवेकले आफ्नै अनलाइनमा हालेका थिए। 

अमेरिकाबाट नेपालमा आतंक 

देश कोरोनाबाट जोगिन संघर्षरत रहेका बेला शिक्षित जस्ता देखिने एकजना युवकको टिकटक भिडियोृ सामाजिक सञ्जालमा शनिबार बिहानैदेखि भाइरल भयो। 

जसमा आफ्नो खुट्टामा कुकुरले टोकेको घाउ बल्झिन लागेकाले आमासहित डा. अजय पराजुलीलाई भेट्न टेकु अस्प्ताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा आएका बेला ५ वटा मान्छेका शरीर प्लास्टिकले बेरेर निकालेको दाबी उनले गरेका छन्। नर्सलाई सोध्दा आफूलाई थर्काएर चुप लगाएको भनिएको छ। 

यसअघि पनि १७ वटा मानव शरीर यसैगरी टेकु अस्पतालबाट निकालेको देखेको दाबी सुरक्षागार्डले गरेको अर्को तर्क उनले गरेका छन्। तर.....उनले यो टिकटक भिडियो कसैले फेसबुकमा लेखेको स्टाटसमा आधारमा आफूले बनाएको भन्दै उनले कोरोनाबाट आफू पनि बचौं, अरुलाई पनि बचाऊँ भन्न भ्याएका छन्। 

सत्य के हो? 

यस्ता अफवाहका कारण देशदेखि विदेशसम्मका नेपाली आजित भइसकेका छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका पत्रकार रामचन्द्र भट्टका अनुसार टेकु अस्पतालबारेका अफवाह फैलाउने युवक अमेरिकामै बस्छन्। 

‘हिजो मात्र बिबिसी नेपाली सेवामा ‘कस्ता समाचार पत्याउने र कस्तालाई नपत्याउने’ विषयमा छलफल सुनेको थिएँ। २४ घण्टा नबित्दै ‘टेकु अस्पतालमा ... को कोरोनाबाट मृत्यु’ भएको भन्दै सामाजिक सञ्जालबाट एउटा कुपात्रले अफवाह फैलाएको भेटेँ’, उनले भनेका छन्, ‘नयन पाण्डेको नाममा एकाउण्ट भएको ‘कुपात्र’ टेक्ससमै बस्ने रहेछ।’

भट्टका अनुसार यी युवकलाई पक्राउ गर्नका लागि नेपाल प्रहरीले अमेरिकी प्रहरीलाई पत्राचार गरिसकेको छ। उनका अनुसार प्रहरीले फेसबुकको मुख्यालय पालोआल्टोलाई पत्राचार गरिसकेको जानकारी आएको छ।

साइबर ब्यूरो के गर्दैछ?

कोरोनाबारे अफवाह फैलाउन थालिएपछि नेपाल प्रहरीको साइबर ब्यूरो अनुसन्धान जुटेको छ। कोरोना भाइरसबारे भ्रमपूर्ण सन्देश फैलाउन थालेपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई कडाइका साथ अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ।

‘कोरोना भाइरसबारे भ्रामक जानकारी र अफवाह फैलाउनेप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रहरी प्रवक्ता डीआइजी शैलेश थापाले भने, ‘यसमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान प्रकृया अगाडी बढाइसकिएको छ।’

थापाका अनुसार शनिबारदेखि फैलाइएको अफवाहसम्बन्धी विवरणमा कुनै सत्यता नरहेको जानकारी सम्बन्धित अस्पतालले दिएका छन्। ‘सम्बन्धित अस्पतालसँग जानकारी माग गर्दा र बुझ्दासमेत यस्ता खबरमा कुनै सत्यता नरहेको पाइएको छ’, उनले भने, ‘यस्ता अफवाहको पछि नलाग्न सबैलाई अपिल गर्दछौँ। अफवाह फैलाउने देश विदेश जहाँ भए पनि कानुनी दायरामा ल्याउछौँ।’

खोजी हुँदैछ

साइबर ब्यूरो प्रमुख अर्यालका अनुसार कोरोनाबारे अफवाह फैलाउने एकजना पक्राउ परिसकेका छन्। अन्य केहीको खोजी भइरहेको छ। अमेरिकाबाट अफवाह फैलाउने नयन पाण्डेको पहिचान भइसकेको छ।

त्यसैगरी कोरोना भाइरसविरुद्ध नेपाली सेनाले हेलिकोप्टरबाट कीटनाशक औषधि छर्किन लागेको भन्दै २९ सेकेण्डको अडियो बनाएर अफवाह फैलाउने युवतीको खोजीमा पनि प्रहरी जुटेको छ।

‘संकटको बेलामा विद्युतीय माध्यमको प्रयोग गरी अफवाह फैलाउनेहरुविरुद्ध लिखित र मौखिक उजुरी आएका छन्’, अर्यालले भने, ‘हामी द्रूतगतिमा अनुसन्धानमा जुटेका छौँ। केहीविरुद्ध प्रमाण जुटाइसकेका छौँ, अफवाह फैलाउने सबै कानुनी दायरामा आउँछन्। 

सेनाले यसो भन्यो

नेपाली सेनाले कोभिड(१९ (कोरोना भाइरस) नष्ट गर्न हेलिकोप्टरबाट किटनासक औषधि छर्ने कुरालाई मनगढन्ते भनेको छ। 

एकजना युवतीको आवाजमा रेकर्ड भएको करिब २९ सेकेण्डको अडियो भाइरल भएपछि सेनाले मुख खोलेको हो। नेपाली सेनाका प्रवक्ता तथा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालहरुमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड(१९) विरुद्ध किटनासक औषधि छरिने’ भनी आएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले सेनाले कोरोना फैलिन नदिन आवश्यक पूर्वतयारी गरिरहेकै बेला यस्तो अफवाहको पछि नलाग्न पनि भनेका छन्। 

‘नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाइरसको रोकथाम तथा संभावित महामारीविरुद्ध न्युनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको छ’, उनले भनेका छन्, ‘यसका अलावा सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ।’

शुक्रराजमा मात्रै कोरोना परीक्षण

नेपालमा कोरोनाको आशंकमा अहिलेसम्म साढे ५ सय भन्दा धेरैको स्वास्थ्य जाँच भइसकेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबारसम्ममा ५५० भन्दा धेरै जना बिरामीको स्वास्थ्य परीक्षण भएको हो। 

जसमा एकजनालाई मात्रै कोरोना पोजेटिभ देखिएको थियो। एक महिनाअघि कोरोना पोजेटिभ देखिएका ती युवक अहिले कोरोनाबाट ‘रिकभर’ भइसकेका छन्। त्यसबाहेक शुक्रराज अस्पतालमा स्वास्थ्य परीक्षण गरिएका अन्य सबैको रिपोर्ट कोरोना नेगेटिभ देखिएको छ। 

नेपालमा अहिलेसम्म शुक्रराज अस्पतालमा मात्रै कोरोनाको जाँच हुन्छ। जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले स्वास्थ्य जाँच गरिएकामध्ये अधिकांशको रिपोर्ट नेगेटिभ आएको बताउँदै एकजना पनि एक महिनाअघि नै पूर्णरुपमा ठीक भइसकेको जानकारी दिएकी छन्। 

विदेशबाट आएका र यहीँका कोरोना आशंकित बिरामीलाई पनि शुक्रराज ट्रपिकल अस्पताल र पाटन अस्पतालको आइसोलेनसमा मात्रै राखिएको छ। कसैमा पोजेटिभ नदेखिएकाले अफवाहको पछि नलाग्न चिकित्सहरुले आग्रह गरेका छन्। 

कानुनमा के छ? 

यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय हुन्छन्। ‘मुलुकी अपराधसंहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ’, थापाले भने, ‘यस सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएकाले थप सजायसमेत हुनसक्छ ।’

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद(२ ‘सार्वजनिक शान्तिविरुद्धका कसूर’ मा भएको प्रावधानमा यस्तो व्यवस्था छ।

झुट्ठा अफबाह फैलाउन नहुने

(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्नु हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.