तापक्रम जाँच्‍दै मन्त्रालय छिर्दै मन्त्रीहरू

|
कार्यालय प्रवेश गर्नुअघि तापक्रम जाँच गर्दै मुख्यमन्त्री गुरुङ। तस्‍वीर : मुख्यमन्त्रीको सचिवालय

काठमाडौं : गण्डकी प्रदेश सरकारले कोरोना भाइरसको रोकथामका लागि तीन करोड रुपैयाँ बजेट छुट्याएको छ। यो बजेट कोरोनाबाट जोगिने उपाय सिकाउन सामाजिक विकास मन्त्रालयमार्फत सचेतना कार्यक्रममा खर्च गरिने भएको हो।

‘सरकारले कोरोनाको संक्रमण फैलिन नदिन गर्न सकिने कार्यक्रमहरूका लागि ३ करोड २३ लाख ९८ हजार तीन सय रुपैयाँ छुट्याएको छ,’ गण्डकीका भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवत्ता रामशरण बस्‍नेतले भने, ‘सामाजिक विकास मन्त्रालयमार्फत खर्च हुने यो रकम कोरोनाको सतर्कताका लागि मात्रै छुट्याइएको हो।’ 

त्यस्तै, गण्डकी सरकारले अरू प्रदेशबाट गण्डकी प्रदेशका विभिन्‍न जिल्ला प्रवेश गर्ने नाकाहरूमा पनि हेल्थ डेस्‍क सञ्चालनमा ल्याएको छ। मन्त्री बस्‍नेतका अनुसार त्रिवेणी, दाउन्‍ने, नवलपुर, आँबुखैरेनी, आरुघाट, बुर्तिबाङ रे राम्दीमा हेल्थ डेस्‍क स्थापना गरिएको छ।

यी नाकाबाट गण्डकी प्रदेश प्रवेश गर्नेहरूको अनिवार्य स्वास्थ्य जाँच गरिने गरिएको छ। प्रदेश सरकारले हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर हेल्थ डेस्‍क स्थापना गरेको हो। 

१०० बढी आइसोलेशन बेड बन्दै 

गण्डकी सरकारले प्रदेशभित्र रहेका ठूला अस्पतालहरूसँग समन्वय गरेर आइसोलेशन बेडसमेत तयार पारेको छ। मणिपाल शिक्षण अस्पताल १५, गण्डकी मेडिकल कलेज १५, चरक मेमोरियल अस्पताल ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान १०, जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँलाई ३० बेड क्षमताको आइसोलेसन वार्ड तत्कालका लागि तयारी अवस्थामा राख्‍न बैठकले निर्देश गरेको छ।

यी अस्पतालले तोकेको आइसोलेशन बेड राख्‍न प्रतिबद्धता जनाइसकेको मन्त्री बस्‍नेतको भनाइ छ।  त्यस्तै, प्रदेशले वैकल्पिक व्यवस्थाका लागि मातृशिशु मितेरी अस्पताल बाटुलेचौरलाई र आर्मी अस्पताललाई आइसोलेटेड अस्पतालका रुपमा प्रयोग गर्नेबारे संघीय सरकारसँग अनुमति पनि मागेको छ। 

चेकजाँच गर्दै मन्त्रालय छिर्दै गण्डकीका मन्त्री

कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै गण्डकी प्रदेशका मन्त्रीहरूले कार्यालय प्रवेशको समयमा शरीरको तापक्रम जाँच गर्ने गरेका छन्। तीन दिनयता गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले शरीरको तापक्रम जाँच गर्न थालेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले थाहा खबरलाई जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.