|

सल्यान : जिल्लामा अदुवा पखाल्नका लागि निर्माण गरिएका पोखरी प्रयोगविहीन भएका छन्।

पोखरीमा सफा गरेर बजारीकरण गर्न निर्माण गरिएका पोखरी प्रयोगविहीन बनेका हुन्। जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरमा  ४ लाख ४० हजारको लागतमा निमार्ण गरिएका दुई पोखरी प्रयोगविहीन बनेका छन्।

सुरुका केही वर्ष प्रयोगमा आए पनि व्यापारी सिधै किसानको बारीमै गएर अदुवा किन्न थालेपछि प्रयोगविहीन बनेको ढोरचौर कृषि सहकारी संस्थाका अध्यक्ष कुलबहादुर गिरीले बताए। उनले भने, 'सञ्चालन गरेको एक दुई वर्ष किसानले पोखरीमा सफा गरेर बिक्री गर्ने गथ्ये तर आजभोलि अदुवा सिधै बारीबाटै बिक्री हुने भएकाले प्रयोगमा आउन सकेको छैन ’ 

प्याक्ट सुर्खेतको अनुदानमा ढोरचौर कृषि सहकारी संस्थाले दुईलाख २० हजार र माल्नेटा कृषि सहकारी संस्थाले २ लाख ४० हजारको लागतमा अदुवा पखाल्ने पोखरी निर्माण गरेका थिए। 

नौ लाख ४० हजारको लागतमा दुई पोखरी र दुईकोठे अदुवा संकलन भवन गरी निर्माण गरिएको छ। सहकारीको भवन अहिले नयाँ ठाउँमा सारेका कारण पनि भवन प्रयोगविहीन भएको उनको भनाई छ। तत्कालको आवश्यकता भन्दा दिर्घकालीन योजना बन्न नसक्दा धेरै योजना प्रयोगविहीन बन्दै गएको स्थानीय किसानको गुनासाे छ।

योजनाको माग गर्ने तर योजना आइसकेको पछि त्यसको प्रयोग नगर्ने बानी सबैको रहेको स्थानीय किसान वेदबहादुर गिरीले बताए।

पोखरी र भवन एकवर्ष प्रयोग आए पनि अहिले प्रयोगविहीन भएको उनको भनाई छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.