|

भद्रपुर : झापा जिल्लामा विभिन्न मितिमा चोरी भएका १३ वटा मोटरसाइकल प्रहरीले फेला पारेको छ। 

फेला परेका मोटरसाइकलमध्ये तीन वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ। एउटा मोटरसाइकल लिन आउनु भनी सवारी धनीलाई खबर गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरी कार्यालय झापामा आइतबार पत्रकार सम्मेलनमार्फत तीन वटा मोटरसाइकल फिर्ता गरिएको छ। 

प्रहरीले मे ९ प ८४७२ नम्बरको निलो कालो रङ्गको बजाज कम्पनीको पल्सर मोटरसाइकल अर्जुनधारा नगरपालिका ११ बस्ने वर्षीय २८ को महेन्द्र कहङवाङ, मे ९ प ३९९९ नम्बरको रातो रङ्गको बजाज कम्पनीको पल्सर मोटरसाइकल अर्जुनधारा नगरपालिका ११ बस्ने २६ वर्षीय लक्ष्मीप्रसाद अधिकारी र को १५ प ८६६१ नम्बरको निलो कालो रङ्गको बजाज कम्पनीको पल्सर मोटरसाइकल सुनसरी रामधुनी नगरपालिका बस्ने ३२ वर्षीय हेमन्त कुमार चौधरीलाई फिर्ता गरेको हो । 
तीनै जनालाई मोटरसाइकलको साँचो प्रहरी उपरीक्षक कोइरालाले हस्तान्तरण गरेका थिए।

चोरी भएका तीन वटा मोटरसाइकलको आवश्यक कागजात हेरेर उनीहरूलाई फिर्ता गरिएको बताए। प्रहरी उपरीक्षक कोइरालाले भने,'को ३२ प ६६४७ नम्बरको निलो रंगकोे सुजीकी कम्पनीको जिक्सर मोटरसाइकल तेह्रथुम आरामधुनी नगरपालिका २ बस्ने ३२ वर्षीय योगेश डाँगीलाई लिन आउनु भनी खबर गरेका छौं।’

‘चोरी भएका मोटरसाइकल प्रहरीमा परेको उजुरीको आधारमा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले फेला पारेको हो,’ उनले भने, ‘१३ वटा मध्ये चार वटा मोटरसाइकल धनीको पहिचान भए पनि ९ वटा मोटरसाइकल प्रहरी कार्यालयमै राखिएको छ ।’ ‘आवश्यक कागजात लिएर आउने धनीको मोटरसाइकल पनि फिर्ता गराउँछौ,’ उनले भने ।’   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.