|

उदयपुर : उदयपुरमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न नेपाली सेनाले व्यारेक नै खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ।

नेपाली सेनाको १८ नम्बर बाहिनीअन्तर्गत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलस्रोत क्याम्प खाली गरी क्वारेन्टाइनमा परिवर्तन गरिएको हो। प्रदेश १ सरकारले गत फागुन २९ गते प्रदेश १ मा सम्भावित कोभिड १९ को जोखिम न्यूनीकरण गर्न क्वारेन्टाइन निर्माणको निर्णय गरेको थियो। 

संक्रमण हुन नदिन न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्ने गरी व्यारेकका ३४ वटा भवनलाई २०० बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे हो। क्वारेन्टाइनको लागि व्यारेकमा रहेका नेपाली सेनालाई व्यारेक एक किलो मिटर टाढा अस्थायी टहरा निर्माण गरेर राखिएको रणशार्दुल गण बेलसोत क्याम्पका क्याप्टेन सूर्यबहादुर राईले बताए। 

विभिन्न कलष्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै क्षेत्रमा राख्ने गरी तयारी गरिएको र नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरिरहेको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए।

‘बेलसोत क्याम्पमा क्वारेन्टाइन र सैनिक एकै ठाउँमा राख्दा समस्या हुने भएकाले सेनालाई हटाई व्यारेकलाई क्वारेन्टाइन बनाइएको हो’ सहायक रथी सापकोटाले भन्ने, ‘व्यारेकबाट केही पर अस्थायी टहरा निर्माण गरेर सैनिकलाई राखिएको छ।’

क्वारेन्टाइनमा वेड, झुल, मोबाइल चार्ज, बत्ती, पंखालगायतको व्यवस्था गरिएको छ भने व्यारेकको गेटमा चिकित्सक सहितको टोलीले आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ।

क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकका लागि प्रदेश सरकारसँग समन्वय गरिने सेनाले बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.