|

डोल्पा : हिमाली जिल्ला डोल्पाका मुख्य नाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ। जिल्ला प्रवेश गर्ने मुख्य नाका त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र ठूलीभेरी नगरपालिकामा पर्ने जुफालमा हेल्थ डेस्क स्थापना गरिएको हो।

अहिले ती नकामा जिल्ला भित्रने सबैको स्वास्थ जाँच भइरहेको प्रशासनले जनाएको छ। जुफाल नाकामा हवाइजहाजबाट आउने यात्रुहरुको विमानस्थलमै स्वास्थ परीक्षणको व्यवस्था मिलाइएको छ। त्यसैगरी खदाङमा पनि जिल्ला भित्रने सबैको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थकर्मी तुलबहादुर श्रेष्ठले जानकारी दिए। जाँचका क्रममा शंकास्पद भेटिएमा जिल्ला भित्रन नदिइने बताइएको छ। 

बनेन आइसोलेसन कक्ष

मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरिए पनि आइसोलेसन कक्ष भने स्थापना गरिएको छैन। अन्यत्र जिल्ला आइसोलेसन कक्ष तयार भए पनि डोल्पामा यसको कुनै तयारी गरिएको छैन। आइसोलोसन कक्ष स्थापना नहुँदा शंकास्पद व्यक्तिलाई राख्ने ठाउँको अभाव भएको छ। पर्याप्त स्वास्थकर्मी, अक्सिजन सिलिन्डर, भेन्टिलेसन औषधि उपकरण आदिको व्यवस्था नभएकाले जिल्लामा आइसोलेसन कक्ष स्थापना गर्न सम्भव नभएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। 

जिल्ला अस्पतालमा बिरामीको चाप

जिल्ला अस्पताल डोल्पामा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। दैनिक स्वास्थ जाँजका लागि पचास देखि साठी जना बिरामी आउने गरेको र अघिपछि भन्दा बिरामीको चाप बढेको अस्पताल प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए। 

कञ्‍चनपुरका स्थानीय तह सक्रिय 

यता कञ्चनपुरमा कोभिड-१९ को सम्भावित संक्रमण रोक्न स्थानीय तह सक्रिय हुन थालेका छन्। स्थानीयन तहमा आइसोलेसन कक्ष समेत स्थापना गरिएका छन्। त्यस्तै भारतीय व्यापारीलाई समेत स्थानीय तह प्रवेशमा निषेध गरिएको छ। 

कोरोना भाइरसका शंकास्पद बिरामी राख्न लागि भीमदत्त नगरपालिकाले एक सय शैयाको क्‍वारेन्टाइन स्थापना गरेको नगर प्रमुख सुरेन्द्र बिष्टले जनाए। 

चौबीसै घण्टा स्वास्थ्य चौकी खुला  

शुक्लाफाँटा नगरपालिको २४ सै घण्टा स्वास्थ्य चौकी खोल्ने निर्णय गरेको छ। स्वास्थ्यकर्मी र एम्बुलेन्सको समेत स्वास्थ्य चौकीमा व्यवस्था मिलाइएको नगर प्रमुख दिल बहादुर ऐरले बताए। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नगरपालिकाभित्रका पर्यटकीय क्षेत्रमा जान निषेधसमेत गरिएको छ। 

माछामासु बेच्न प्रतिबन्ध  

बेलौरी नगरपालिका क्षेत्रमा भारतीय व्यापारीको आवागमन रोक्ने निर्णय गरेको छ। साथै नगरपालिकाले माछा, मासु, फलफूल, तरकारीलगायत अन्य कारोबारका लागि भारतीयलाई समेत रोक्ने निर्णय गरेको उद्योग वाणिज्य संघ बेलौरीका संघका अध्यक्ष टेकबहादुर साउदले बताए।

भीमदत्तनगर बजार बन्द 

आइतबार मध्यरातदेखि भीमदत्तनगर बजार बन्द गरिएको छ। दैनिक उपभोग्य वस्तु तथा उद्दार र राहतमा संलग्न यातायातबाहेक अरु सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना समेत अर्को सूचना प्रकाशन नभएसम्मका लागि बन्द गरिएको छ। उद्योग वाणिज्य संघ भीमदत्तनगरले अत्यावश्यक बस्तुका लागि बेलुका ६ बजे देखि ८ बजेसम्म पसल खोल्न आग्रह गरेकाे छ।

लमजुङमा पनि अत्यावश्यकबाहेक सबै सेवा बन्द 

लमजुङ प्रशासनले अत्यावश्यकबाहेक जिल्लाका सबै सेवा बन्द गरेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी यस्तो निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार जिल्लास्थित मालपोत, नापी, हुलाकलगायतका सरकारी कार्यालय अर्को सूचना जारी नहुन्जेल बन्द गरिएका छन्।

यस्तै, अत्यावश्यक खाद्यवस्तुको पर्याप्तता र यसको गुणस्तरबारे निरन्तर अनुगमन गर्ने, विदेशबाट आउनेलाई कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र ११ वटै वडामा कोरोना भाइरसबारेमा सचेतना कार्यक्रम गर्ने बेंसीसहर नगरपालिकाले जनाएको छ। 

डाेल्पाबाट रामचन्द्र न्याैपाने, राजेन्द्र पनेरु र लमजुङबाट सिर्जना अधकारीकाे रिपाेर्ट 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.