|

काठमाडौं : विश्वभर अहिले कोरोना भाइरस (कोभिड १९) फैलिएको छ। नेपालमा पनि भाइरस संक्रमित व्‍यक्ति भेटिएको छ। चीनको वुहानबाट उत्पन्‍न भएको भाइरसले विश्वभर १४ हजारभन्दा बढीको मृत्यु भएको छ। दिनप्रतिदिन भाइरस फैलिँदै गएपछि कामको शिलशिलामा विदेश जाने नेपालीलाई मानसिक समस्या उत्पन्‍न हुँदै गएको छ।

उनीहरू न नेपाल आउन पाएका छन् न त काम गर्न नै पाएका छन्। अहिले मलेसियामा रहेका ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ उदयपुरका तक राईले बाहिर निस्कन नपाउँदा समस्या हुँदै आएको बताए।

‘यहाँको सरकारले हामीलाई बाहिर निस्कन दिएको छैन,’उनले भने,‘आर्मीहरू खटाएको छ। बाहिर निस्कियो भने ठटाउँछन्। घरभित्र बस्दाबस्दा मानसिक समस्या हुन थालिसक्‍यो। कसरी नेपालमा आउने हो भन्ने मात्रै चिन्ता छ। रासन पानी पनि धेरै दिनसम्म पुग्‍ने छैन।’

उनका अनुसार अहिले कोठाभित्र खाने बस्‍नेबाहेक अरू केही काम गर्न पाएका छैनन्।  रासन तयारी गरे पनि धेरै समयसम्म पुग्‍ने अवस्था छैन।

त्यस्तै, कुवेतमा रहेका विराटनगरका एक व्यक्तिले पनि  बाहिर जान पाए पनि पनि कोरोनाको त्रासले गर्दा मानसिक सन्तुलनमा समस्या हुँदै गएको बताए।

कुवेत सरकारले कडिकडाउ गरेको हुँदा नाम उल्लेख नगर्ने शर्तमा उनले भने,‘मैले हातमा ग्लोब्स लगाएको छु। दिनमा दुईतीन चोटि बदल्छु।  मास्क पनि नियमित लगाइरहेको छु। मजदुरी हुँ बाहिर जानै पर्छ। बाहिर गएन भने कसरी पेट भर्नु। धेरै त्रास लिएर जानुपर्छ। यसैले मानसिक समस्या हुँदै गएको छ।’

उनका अनुसार उनी बिहान करिब ८ बजे घरबाट कामका लागि बाहिर निस्कन्छन। बेलुका ११ बजे सम्ममा बेलुका घर पुग्‍ने गरेका छन्। ठाउँठाउँमा पुलिस राखिएका छन्। ‘मास्क लगाउँदालगाउँदा कान नै दुखिसक्यो,’उनले थाहाखबरसँग  टेलीफोन र म्यासेन्जरमा भने,‘काममा दौडिनुनैपर्छ। अहिले यसैगरी मेरो दिनचर्या बितेको छ। हेरौँ भगवान् भरोसा। भोलि के हुन्छ थाहा छैन।’

कोरोनाको डर छ, चेतनशील भएर बसकेा छौँ

त्यस्तैगरी, अहिले नर्वेमा रहेका सिन्धुपाल्चोकका पत्रकारसमेत रहेका सरोज ढुंगानाले २१ सय जनामा संक्रमित देखिए पनि नेपालीहरुको अवस्था भने चिन्ताजनक नरहेको बताए। ‘को कति संक्रमण भएको छ भनेर सरकारले गोप्य सूचना राखेको हुन्छ,’उनले भने,‘कोरोनाको डर त छ। तर, हामी स्वयं चेतनशील भएर बसेका छौँ।’  
सरकारले भने विदेशमा रहेका नेपालीहरूलाई विदेशमा नै सुरक्षितसँग बस्‍न आग्रह गर्दै आएको छ। सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि आइतबारबाट अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.