प्रशासन भन्छ : मानवीयता देखाउँदा गल्ती भयो

|

बाँके : सीमा नाका सिल गरेको स्थानीय प्रशासनले दबाब थेग्न नसकेपछि भारतीय सीमा बजार रुपैडियामा रहेका नेपालीलाई प्रशासनले नेपाल प्रवेश गराइएको छ।यद्यपि महेन्द्र बहुमुखी क्याम्पसमा राखिएका झण्डै दुई सय नेपाली पर्खालबाट हामफालेर भागेका छन्। रुपैडियामा अलपत्र परेका उनीहरूले आफूहरूलाई नेपाल लैजान स्थानीय प्रशासनसँग आग्रह गरेपछि प्रशासन नेपाल ल्याउन तयार भएको थियो। 

भारतको विभिन्न स्थानबाट रुपैडिया आएका ती नेपालीको उद्धार गरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। भारतबाट नेपाल आउन प्रतिबन्ध गरिए पनि मानवीयताका आधारमा ती नेपालीलाई नेपाल प्रवेश गराएर कोरोना भाइरस परीक्षणका लागि क्याम्पसमा राखिएको खड्काले बताए।  

भारतबाट ल्याइएका नेपालीलाई नेपालगन्ज उपमहानगरको बसमा राखेर क्याम्पसमा ल्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।  उनीहरूबाट कोरोना भाइरस भित्रिन नदिन क्वारेन्टाइनमा राखिएको नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरले बताइन्। 

उपमहानगरको बसमार्फत नेपालगन्ज नाकाबाट उनीहरूलाई क्याम्पसमा ल्याइएको थियो। क्वारेन्टाइनमा राखिएका बाँकेबाहिरका जिल्लाका नागरिकलाई उपमहानगरको बसमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी थालिएको छ। आइतबार बिहानदेखि नाका सिल गरिए पनि सोही दिन झण्डै तीन हजार नेपाली नेपाल भित्रिएका थिए। सोमबार बिहानदेखि बेलुकी ५ बजेसम्म ६ सय ६१ पुरुष र १ सय ५९ महिला गरी ९ सय ३० जना नेपाली नेपालगन्ज नाका भएर नेपाल भित्रिएका इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ।  

नेपालीको आग्रहपछि प्रशासनले क्वारेन्टाइनमा बस्ने सहमतिमा नेपाल ल्याएको प्रजिअ खड्काले बताए। तर, प्रशासनसँग आग्रह गरेर नेपाल आएकाहरू प्रशासनलाई धोका दिएर पर्खाल चढेर भागेका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। उनले क्वारेन्टाइनबाट भागेकाहरूको खोजी भइरहेको बताए। ‘होटलमा बस्न नदिनू भनेर उर्दी जारी भएको छ, सार्वजनिक सवारीसाधन पनि बन्द भएकोले उम्कने ठाउँ छैन,’ उनले भने। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.