कारवाहीको तयारीमा स्वास्थ्य मन्त्रालय

|

काठमाडौं : कोरोना भाइरसको सम्भावित संकटविरुद्ध सरकारले सम्पूर्ण शक्ति लगाइरहँदा निजी क्षेत्र भने तर्किन थालेको छ। विश्‍‍वभर पुगिसकेको कोरोना नेपालमा फैलिन नदिन सरकारले नेपाललाई नै एक साताका लागि लकडाउन गरिसकेको छ। 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार काठमाडौं उपत्यकाका निजी अस्पतालले रुघाखोकीका बिरामीको पनि उपचार अस्वीकार गरेका छन्। 

'सामान्य रुघाखोकी बिरामीलाई पनि भर्ना नलिएर रेफर गर्न थालिएको पाएका छौं। त्यहीकारण टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चाप बढेको छ', ती अधिकारीले भने, 'रुघाखोकीका सबै बिरामीलाई कोरोना लागेको हुँदैन तर निजी अस्पतालहरुले संकटको अवस्थामा गैरजिम्मेवारपूर्ण व्यवहार देखाउन थाले।'

सरकारले कोरोनाको संक्रमण फैलिएको अवस्थामा उपचारका लागि ५० करोडको राहत कोष पनि बनाइसकेको छ। यस्तो अवस्थामा निजी क्षेत्र भने सरकारसँगको मोर्चामा एक हुनुको साटो टाढिँदै गएको छ। 

निजीक्षेत्रको यस्तै एउटा दृष्टान्त काठमाडौंका निजी अस्पतालले देखाएका छन्। काठमाडौंका अधिकांश अस्पतालले कोरोना आशंकित बिरामीको भर्ना गरी उपचार गर्न अस्वीकार गर्न थालेका छन्। 

ग्राण्डीसँग स्पष्टीकरण

कोरोना भाइरसका शंकास्पद बिरामीलाई भर्ना लिन नमानेपछि धापासीस्थित ग्राण्डी अस्पतालसँग स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण सोधेको छ। केही दिनअघि मन्त्रालयले बिरामी भर्ना गर्न अस्वीकार गर्नुको कारण पेश गर्न भन्दै मन्त्रालयले ग्राण्डीलाई स्पष्टीकरण सोधेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको उपचार र डायलाइसिस मसेत गरेको यो अस्पतालले रुघा लागेका सर्वसाधारणलाई कोरोनाका बिरामी भन्दै भर्ना लिन नमानेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। निजी अस्पतालले कोरोना शंका लागेर आउने बिरामीलाई फिवर क्लिनिकमा जाँचपछि टेकु अस्पतालमै पठाइरहेका छन्। 

मन्त्रालयका अनुसार ग्राण्डीसँगै ललितपुरस्थित अल्का अस्पतालले पनि शंकास्पद बिरामी भर्ना गर्न अस्वीकार गरेको उजुरी आइपुगेको छ। 'यसबारेमा हामीले छानबिन गरिरहेका छौं', ती अधिकारीले भने, 'बिरामी भर्ना नलिनुको कारणबारे सम्बन्धित अस्पताललाई स्पष्टीकरण सोध्छौं।'

ललतपुरस्थित किष्ट अस्पतालले पनि सोमबार एकजना बिरामीलाई भर्ना गर्न अस्वीकार गरेको थियो। तर स्वास्थ्य मन्त्रालयकै अधिकारीहरुले हस्तक्षेप गरेर ती बिरामीलाई भर्ना गर्न लगाएको खुलेको छ। 

किष्ट प्रशासनले कोरोनाका बिरामी भन्दै भर्ना लिन नमानेको खुलेको छ। अधिकांश अस्पतालले कोरोनाका बिरामीको उपचारका लागि आइसोलेसन वार्डसमेत बनाएका छैनन्। जसले गर्दा कोरोनाका शंकास्पद बिरामीको एकोहोरो भारत टेकु अस्पतालमाथि परेको छ।

'उपत्यकाका सबैजसो निजी अस्पतालले रुघाखोकी र निमोनियाका बिरामी आउँदा पनि सिधै यहीँ रेफर गर्न थालेका छन्',  टेकु अस्पतालका एक चिकित्सकले नाम नखुलाउने शर्तमा भने, 'अन्य अवस्थामा बिरामी तानातान गर्न प्रतिस्पर्धा गर्ने निजी अस्पताल अहिलेको संकटमा भने पछि हटिरहेका छन्। कुनै पनि बिरामीलाई भर्ना नलिनु जस्तो गैरजिम्मेवार व्यवहार अरु हुन सक्दैन।'

नर्भिकले बनायो आइसोलेसन वार्ड

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सरकारलाई पूर्ण साथ दिने जनाएको छ। नर्भिकका अध्यक्ष वसन्त चौधरीले कोरोना भाइरसबाट निम्तिएको यो संकटको घडीमा आफूहरु पूर्ण साथ दिन तयार रहेको बताएका छन्। नर्भिकले कोरोनाका बिरामीको उपचारका लागि तीन बेडसहितको आइसोलेसन वार्ड पनि बनाइसकेको चौधरीले बताए। 

उपचार गर्न सकिँदैन : थापा

निजी अस्पतालहरूले कोरोना भाइरसका शंकास्पद बिरामीलाई अस्पतालमै राखेर उपचार गर्न नसक्ने जनाएका छन्।

निजी अस्पतालहरूको छाता संगठन 'अफिन' का वरिष्ठ उपाध्यक्ष कुमार थापाले सुरक्षा सामग्री अभावले कोरोनाका बिरामीलाई उपचार सेवा दिन नसकिने स्पष्टीकरण यसअघि नै दिइसकेका छन्। 

सरकारले निजी अस्पतालहरूलाई छुट्टै फिबर क्लिनिक र आइसोलेसन बेड तयार गर्न निर्देशन दिएको छ। यस्तोमा निजी अस्पतालले उपचार नै गर्न नसकिने बताइरहेका छन्। 

'अस्पतालहरूसँग सुरक्षा सामाग्री छैन, परीक्षण गर्नलाई किट छैन। यस्तो अवस्थामा कोरोना शंकास्पद बिरामीलाई उपचार गर्न सम्भव छैन,' उनले भने।

पाले आफू सञ्‍चालक रहेको अल्का अस्पतालमा पनि फिवर क्लिनिक रहेको तर आइसोलेसन बेड नभएकाले उपचारमा समस्या हुने बताएका छन्। 

उनका अनुसार स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट (पीपीई) समेत नहुँदा उपचारमा समस्या हुन्छ। थापाले परीक्षणमा पठाउने किट पनि नभएकाले कोरोनाका बिरामीलाई सेवा दिन नसकिने स्पष्टीकरण दिएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.