|

धनकुटा : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले कोरोना भाइरस रोकथामका लागि कोष स्थापना गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको हो। सो कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरेको छ।कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोनाबारे सूचना डेक्स स्थापना गर्ने निर्णय गरेको छ।

प्रदेश १ भित्र रहेका विभिन्न मठ, मन्दिर, मस्जिद र गुम्बाजस्ता धार्मिक सामाजिक सम्पदा क्षेत्रमा सर्वसाधारणलाई नजान प्रदेश सरकारले सबैलाई आग्रह गरेको छ।

प्रकोप व्यवस्थापन कोषमा धनकुटा नगरपालिकाको १० लाख सहयोग

कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला स्तरीय प्रकोप ब्यवस्थापन कोषमा धनकुटा नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। धनकुटा नगरपालिका क्षेत्रलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित बनाउन पूर्वतयारी गर्ने तथा अन्य अत्यावश्यक विषयमाथि छलफलको लागि नगरप्रमुख चिन्तन तामाङले कार्यालयको आकस्मिक बैठक आह्वान गरेपछि उक्त निर्णय भएको हो।

बैठकले नगरभित्र रहेका स्वास्थचौकी तथा शहरी स्वास्थ्य क्लिनिकमा कोरोना संक्रमणको जाँच गर्नको लागि आवश्यक उपकरण तथा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा साधन तत्काल उपलब्ध गराउने तथा अत्यावश्यक सेवामा खटिने कर्मचारीको लागि सुरक्षा प्रवन्ध मिलाउने निर्णय गरेको नगर प्रमुख तामाङले बताए। 

नगरपालिकाबाट दैनिक रुपमा प्रदान गरिने अत्यावश्यक सेवालाई सहज र सुरक्षित ढंगबाट सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुखहरूलाई नगर प्रमुखबाट आवश्यक निर्देशन आएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए। लकडाउनको समयमा अत्यावश्यक सेवा प्रवाहमा कुनै समस्या भएमा जुनसुकै बेला नगरपालिकामा सम्पर्क गर्न नगरबासीलाई प्रमुख तामाङले आग्रह गरे।

लकडाउनलाई कडाइ गरिने

धनकुटा जिल्लामा बुधबारदेखि लकडाउनलाई कडाइका साथ लागू गरिने भएको छ। मंगलबार सरकारले घोषणा गरेको लकडाउन सर्वसाधरणले बढी उल्लंघन गर्नुका साथै कोरोना संक्रमित युवतीसँगै एउटै प्लेनमा आएका दुईजना छिमेकी शहर धरानमा पनि फेला परेपछि धनकुटामा बुधवारदेखि लकडाउनलाई कडाइका साथ लागू गरिने भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताए।

लकडाउनका साथै जिल्ला प्रशासन कार्यालयले गरको निषेधाज्ञाको उल्लंघन गरी सर्वसाधरणले बढी सवारी साधन चलाएको र लकडाउनको बेवास्ता गरेको भए पनि पहिलो दिन मंगलबार सम्झाएर छोडिएको र बुधबारदेखि अतिआवश्यक पसल औषधि पसलबाहेक अरु पसल बन्द गर्ने र सर्वसाधारण आवतजावतमा पूर्णरुपमा निषेध गरिने प्रमुख जिल्ला अधिकारी बिमलीले बताए।

कोरोना संक्रमणबाट जोगिन सरकारले मंगलबार विहान ६ बजेदेखि देशैभर लकडाउन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.