बिरामीको उपचारदेखि अस्पतालको अवस्था पनि हेरिने

|

काठमाडौं : कोभिड-१९ का शंकास्पद बिरामीको उपचारका लागि निजी अस्पताल तयार नभएपछि सरकारले अनुगमन समिति बनाएको छ। कोरोना भाइरसका शंकास्पद बीरामीलाई निजी अस्पतालले भर्ना लिएर उपचार गर्न तयार नभएको अवस्थामा स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले अनुगमन समिति बनाएको हो। 

अनुगमन तथा व्यवस्थापनका लागि मन्त्रालयका सचिव यादव कोइरालाको संयोजकत्वमा एक समिति गठन गरिएको हो। सचिव यादव कोइरालाको संयोजकत्वमा बनाइएको समिति ७ सदस्यीय रहेको छ। जसको नाम सरकारी तथा निजी अस्पताल व्यवस्थापन समन्वय समिति दिइएको छ। 

देशभरका अस्पतालको अवस्थाबारेमा अनुगमन र कोरोनाका सम्भावित बिरामीको उपचारमा समन्वय गर्न मंगलबार उक्त समिति गठन गरिएको हो। 

समितिले अस्पतालमा बिरामीको अवस्था, स्वास्थ्य उपकरण, बिरामीले उपचार पाए नपाएको, अस्पतालमा बिरामीको चापको पनि अनुगमन गर्ने भएको छ। 

त्यसैगरि बिरामीले भरिएका अस्पताल, खाली अस्पताल आदिको पनि अनुगमन र समन्वय गर्ने जिम्मेवारी समितिले पाएको छ।

समितिमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारी सदस्य रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.