पछिल्लो ६ महिनामा १ अर्ब राजस्व संकलन

|

विदुर आचार्य

सिन्धुपाल्चोकः सरकारले नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ। करिब दुई महिनादेखि बन्द रहेको तातोपानी नाका बुधबार बसेको उच्चस्तरीय बैठकले सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

तातोपानी नाकाबाट दुई महिनायताबाट आयात निर्यात पूर्ण रुपमा ठप्प रहेको छ। सरकारले नाका सञ्चालनमा ल्याउने निर्णय गरेपछि नाका सञ्चालनमा आफूहरू तयार रहेको भन्सार प्रमुख लालकुमार खत्रीले जानकारी दिए। सरकारले नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ। त्यसका लागि हामी पूर्ण रुपमा तयार छौँ, उनले भने। 

चीनबाट केही दिनमा नै औषधिलगायत सामग्री आँउदै गरेको जानकारी दिँदै भन्सार प्रमुख खत्रीले अत्यावश्यक सामग्री सहज आपूर्तिमा तातोपानी भन्सार तयारी अवस्थामा रहेको जनाए। 

हाल सञ्चालित हेल्प डेस्‍कलाई विस्तार गर्ने, सामान जाँचपास र कर्मचारी सुरक्षाको विषयमा संवेदनशीलता अपनाइएको प्रमुख खत्रीको भनाइ छ। 

‘चिनियाँ पक्षले यसअघि नै सामान पठाउन तयारी भएको जानकारी दिएको थियो’, भन्सार प्रमुख खत्रीले भने, ‘जाँचपास सुरक्षा, जनस्वास्थ्यमा संवेदनशीलता र जोखिम न्यूनीकरणमा हामी छलफमा थियौँ, अब सहज आपूर्तिमा ध्यान दिन्छौँ।’  स्थानीय सरकार र समुदायसँग समेत छलफल गरी भन्सार सञ्चालनमा पूर्णतयारी गरिएको उनले प्रष्ट पारे। 

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाईरसको संक्रमण नेपाल भित्रने संत्रासले माघ १६ यता कुनै पनि सामग्री आयात भएको थिएन। लगत्तै नेपाल चीन सीमानामा स्वास्थ्य कार्यालय, स्थानीय सरकार र भन्सार कार्यालयले हेल्प डेस्‍क स्थापना गरी स्वास्थ्य सचेतना र सेवा प्रवाह गरेको थियो।

चार वर्षपछि खुलेको थियो

चीनसँगको प्रमुख व्यापारीक नाकाको रुपमा परिचित तातोपानी नाका भूकम्पपछि करिब ४ वर्षपछि खुलेको थियो। ०७२ वैशाख १२ को भूकम्पपछि बन्द भएको नाका यही जेठ १५ गतेबाट आंशिक रुपमा सञ्चालन आएको थियो। 

भूकम्पअघि दैनिकजसो दुई करोडभन्दा धेरै राजस्व संकलन हुँदै आएको सो नाकाको व्यापार खस्किएको थियो। वर्षाको मुख जेठबाट सञ्चालन भएको नाका वर्षाको कारणले करिब दुई साता बन्द भएको थियो।

त्यसलगत्तै आंशिक सुचारु भएको नाका चीनको उहान शहरबाट फैलिएको कोरोनाको कारणले पुन बन्द भएको थियो। कोरोनाको त्रास  फैलिएपछि स फैलिएपछि नाकाबाट सामान लिन गएका  कन्टेनर समेत फिर्ता ल्याएको प्रमुख खत्रीले जनाए। 

कोरोना भाइरस फैलनुअघि स्याउ बोकेका १० वटा सम्म कन्टेनर दैनिक रुपमा नेपाल भित्रिने गरेको उनको भनाई छ। साथै, व्यापारिक खाद्यान्न र कपडा ल्याएका कन्टेनरहरु पनि नाकाबाट आउने गरेका थिए। नेपाली बजारमा प्याज महगंीएको बेलामा सो नाकाबाट प्याज आयातमा समेत वृद्धि भएको थियो। 

६ महिनामा १ अर्ब राजस्व संकलन

नाकाबाट पछिल्लो ६ महिनामा करिब १ अर्ब राजस्व संकलन भएको भन्सार प्रमुख खत्रीले जानकारी दिए। साउनमा २ करोड ६० लाख, भदौमा ५ करोड २६ लाख, असोजमा १० करोड ६९ लाख संकलन गरेको थियो । 

त्यस्तै कात्तिकमा २८ करोड, मंसिरमा २३ करोड ७७ लाख र पुसमा २० करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। भूकम्पअघि यो नाकाबाट दैनीक दुई करोड राजस्व संकलन हुदै आएको थियो। 

तातोपानी नाका पुुनः सञ्चालनमा आउने भएपछि सिन्धुवासि मात्रै नभएर देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.