|

बैतडी : ‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको  सीमा नाका झुलाघाट सिल भएपछि ट्युबबाट नेपाल आएका उनीहरूको बिहीबार बिहान र बुधबार राति उद्धार गरिएको हो।

दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरीचौकी, दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले जानकारी दिए। 

महाकाली नदीमा ट्युबबाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीयको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। लक डाउन शुरु भएपछि आएका नागरिक दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए। उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए। उद्धार गरिएका उनीहरूलाई सम्बन्धित स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाइएको छ। 

लक डाउनका बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन स्थानीय प्रशासनले आग्रह छ।

लक डाउन आज पनि जारी 

जिल्ला प्रशासन कार्यालय बैतडीले घोषणा गरेको  ‘लक डाउन’ आज पनि जारी रहेको छ। मंगलबारदेखि सुरु भएको लक डाउन चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। जिल्ला सुरक्षा समितिको बैठकले विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको भन्दै संक्रमणबाट जोगिन जिल्लामा हुने चैते दशैं, नवरात्र, मेला, पर्वहरू पनि बन्द गर्ने निर्णय गरेको छ। साथै अनावश्यक रुपमा घरबाहिर ननिस्किन आग्रह गरिएको छ।

संक्रमणबाट जोगिन निजी तथा सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ। अत्यावश्यक सेवाबाहेक सबै प्रकारका पसल, व्यवसाय, उद्योग, कलकारखाना बन्द गरिएका छन्।

निर्णय कार्यान्वयनका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनको आग्रहलाई अटेरी गरी कसैले अनावश्यक रुपमा भीडभाड गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.