|
झापा प्रहरीले नियन्त्रणमा लिएकाे एम्बुलेन्स

भद्रपुर : लकडाउनमा एम्बुलेन्सको दुरुपयोग गर्दै चालकले यात्रु बोक्न थालेको पाइएको छ।  यात्रुलाई नक्कली बिरामी बनाएर बोकेको एउटा एम्बुलेन्स झापा प्रहरीले बिहीबार नियन्त्रणमा लिएपछि यस्तो घटना खुलेको हो। 

भद्रपुरबाट विराटनगरतर्फ जाँदै गरेका को२च १२६६ नम्बरको एम्बुलेन्सले यात्रुलाई नक्कली बिरामी बनाएर लगिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेले पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा उक्त एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार विराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रस्टको एम्बुलेन्स चालक कटहरी बस्‍ने अजय सरदारले विराटनगरबाट बिरामी बोकेर भद्रपुर गएका थिए  । भद्रपुरबाट फर्किने क्रममा चालक सरदारले पाँच जना यात्रु हालेर विराटनगर लगिरहेका थिए। 

प्रहरीले सवारीसाधन चेकजाँच क्रममा सोधपुछ गर्दा एम्बुलेन्समा नक्कली बिरामी फेला परेको हो। एम्बुलेन्समा जाने एकै परिवारका सदस्य हुन्। उनीहरू ससुरालीबाट घर फर्किँदै थिए। तिनीहरूले ९ हजार भाडा तिरेर एम्बुलेन्समा विराटनगर गइरहेका थिए। भद्रपुरदेखि विराटनगर जाने एम्बुलेन्सको भाडा दर ४३ सय रहेको छ। यता चालक सरदारसहित एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा आवश्यक कारबाहीका लागि राखिएको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.