|

बागलुङ : 'लकडाउन'को तेस्रो दिन बितिसक्दा बागलुङ बजारमा बस्ने सर्वसाधारणले उपभोग्य वस्तुको खोजी गर्न थालेका छन्। सञ्चीत उपभोग्य बस्तुहरु सकिएपछि खोजीका लागि सर्वसाधारण सडकमा निस्किन थालेका हुन्।

नोबेल कोरोना भाइरस (कोभिड (१९)को संक्रमणको जोखिम बढेसँगै बागलुङमा लकडाउन थप प्रभावकारी बनाउने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। सेनासमेत परिचालन भइसकेको अवस्थामा सानोतिनो समस्या लिएर सर्वसाधारण सडकमा निस्कने अवस्थामा छैनन्।

पसलअगाडि सेतो घेरा

तर, दैनिकी चलाउनसमेत कठिन भएको गुनासो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक हुन थालेपछि उद्योग वाणिज्य संघ र स्थानीय प्रसाशनले शर्तसहित उपभोग्य वस्तुको खरिदका लागि सर्वसाधारणलाई आह्‍वान गरेको छ। प्रहरी, प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरण हुने पसलहरुमा सेतो घेरा लगाइएको छ।

अत्यावश्यकीय पसलमा पनि दूरी कायम गरेर संक्रमणबाट सुरक्षित गर्नका लागि घेरा लगाईएको व्यवसायीहरुले जनाएका छन्। बजारका दैनिक उपभोग्य पसलमा बिहान र साँझ भीडभाड हुन थालेपछि बागलुङ उद्योग वाणिज्य सघंले जिल्ला प्रहरी कार्यालयसँगको पहलमा ग्राहकको लाइन बस्ने स्थानमा रेखांकन गरिएको जनाएको छ।

रेखांकनपछि पसलमा पनि भीड नहुने र कोरोनाको जोखिम रोकथाममा सहयोग पुग्ने सघंका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए।

‘अरुलाई नछुने गरी वा प्रभाव नपर्ने गरी पनि आवश्यकता पूर्ति गर्न सकिन्छ’ उनले भने ‘बजारका केही पसलहरुमा यसरी नै दूरी कायम गरेर अत्यावश्यक वस्तुलाई सहज बनाउने प्रयत्नमा छौं।’ बुधबार मात्रै बागलुङका १० ठाउँमा सेतो घरा बनाईएको थियो।

बागलुङमा उच्‍च जोखिम

दैनिक उपभोग्य पसललाई नेपाल सरकारले अत्यावश्यकमा राखेको छ। जसका कारण अरू व्यापार व्यवसाय बन्द गरिए पनि किराना दैनिक उपभोग्य सामानका पसल भने सञ्चालनमा छन्। बागलुङमा पछिल्लो समय कोरोनाको जोखिम बढी देखिएको छ। खासगरी भारतसहित विभिन्न देशबाट आएकाबाट जोखिम देखिएको छ। धौलागिरी अञ्चल अस्पताल मार्फत कोरोना आंशकामा दुईजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।

स्वाब संकलन गरिएका बिरामीमध्ये बानपा–७ का पुरुषको धौलागिरी अञ्चल अस्पताल बागलुङमा आइसोलेसनमा राखेर उपचार भइरहेको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि पोखरेलले जानकारी दिए।

कोरोना संक्रमित १९ वर्षीयासँगै गत चैत ५ गते फ्रान्सबाट कतार हुँदै बागलुङ आएकी बागलुङ नगरपालिका ४ की एक महिलालाई भने घरमै क्वारेन्टाइनमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.