अरूलाई बचाउने स्वास्थ्यकर्मी आफैं जोखिममा

|

पाल्पा : पानी पर्दा लगाइने रेनकोट पहिरिएको शरीर, खुट्टा र घाँटीमा राता-सेता प्लास्टिकले छोपिएको अवस्था, आँखामा चस्मा, मुखमा कपडाको मास्क र हातमा ग्लोब्स लगाएका दुई मानिस। यो हो गोरखदल गण तानसेन पाल्पाका नेपाली सेनाका मेडिकल टिमका सदस्यको हुलिया। 

तानसेनस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनासकाली गाउँपालिको ग्राम्य माध्यमिक विद्यालयमा स्थापना गरिएको क्‍वारेन्टाइनमा रहेका मानिसहरूको स्वास्थ्य जाँच गर्न पुगेका थिए। उनीहरूले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) विकल्पमा योखाले पोसाक लगाएका थिए। मेजर मनोज डंगोल भन्छन्, ‘कोरोनाबाट सुरक्षित हुने पिपिई छैन, यही प्रयोग गरेका छौं।’ शरीरमा हावा छिर्ने ठाउँमा प्लास्टिक बाँधेको उनले सुनाए। 

मानिसको नजिकै गएर स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले यस्तो गर्नुपरेको मेजर डंगोलले बताए। ‘रेनकोट ब्यारेकबाटै लगेका थियौं, प्लास्टिक त्यहीँ क्‍वारेन्टाइनस्थलमै फेला पार्‍यौं’, उनले थपे, ‘तत्कालका लागि स्वास्थ्य सुरक्षाको विकल्प रोजका हौं।’ 

अरूलाई बचाउने स्वास्थ्यकर्मी आफैं जोखिममा 

स्वास्थ्यकर्मीको टोलीमा गएका डाक्टर झपेन्द्र ढकालले अरूलाई बचाउने स्वास्थ्यकर्मी आफैं खतरामा रहेको बताए। ‘स्वास्थ्य सुरक्षाको कुनै उपकरण छैन,’ उनले भने ‘गोलीबिनाको युद्धमा जस्तै स्वास्थ्यकर्मीले जोखिम मोल्नुपरेको छ,’ यद्यपि आफूहरूको क्षमताअनुसार उपचारमा खटिने उनले बताए। 

महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले चालेको अभियानमा क्षमताअनुसार साथ दिन आफूहरू तयार रहेको डाक्टर ढकालले प्रतिबद्धता जनाए। स्वास्थ्यकर्मीलाई पिपिई उपलब्ध गराउनेतर्फ सरकारले पहिलो प्राथमिकता दिनुपर्ने उनले सुझाए। 

क्‍वारेन्टाइनमा रहेका ३७ जनाको अवस्था सामान्य 

बुधबार राति भारतबाट आएका ३७ जना तानसेनस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनासकाली गाउँपालिकाको ग्राम्य माध्यमिक विद्यालमा निर्माण गरको क्‍वारेन्टाइनमा छन्। बिहीबार बिहान गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनीहरूको अवस्था सामान्य रहेको डाक्टर झपेन्द्र ढकालले बताए। परीक्षण गर्दा उनीहरूमा ज्वरो, रुघाखोकी फेला नपरेको उनले बताए। भारतबाट आएका उनीहरू धनगढीको गड्डाचौकी हुँदै नेपाल प्रवेश गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.