सेनासहित जनप्रतिनिधिले गरे अनुगमन, १३ जना पक्राउ

|

बारा : कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गर्न सुरक्षाकर्मीले आग्रह गर्दा पनि नटेरेपछि बाराका स्थानीय आफैंले सडक अवरुद्ध पार्न उत्रिएका छन् । बाराको निजगढ नगरपालिकाका अधिकांश वडामा स्थानीयले लकडाउनको समयमा पनि सवारी आवतजावतमा कमी नआएपछि बाटो बन्द गरेका हुन्। 

ग्रामीण सडकमै स्थानीयले काठका मुढा राखेर सडक अवरुद्ध पारेका छन्। स्थानीय युवाहरुले सडकमै प्रवेश निषेधसहित सन्देशमूलक प्लेकार्ड समेत राखेका छन्। प्ले कार्डमार्फत घरभित्रै बसौं, सुरक्षित रहौं, समयमा नै चेकजाँच गरौं, संक्रमण हुनबाट बचौंजस्ता सन्देशसमेत दिइएको न्यु जनजागृति युवा क्लबका अध्यक्ष साजन ढुंगानाले जानकारी दिए।

‘कोभिड १९ नोबेल कोरोनाले गर्दा जनतामा अहिले एक खालको त्रसितमय वातावरण बनेको छ,’ अध्यक्ष ढुंगानाले भने, ‘युवाहरु मिलेर अनावश्यक रुपमा बाहिरबाट गाउँमा आउने सवारीसाधन निषेध गरेका छौं,’ उनका अनुसार गाउँका होटेल पनि बन्द गरिएको छ। कोभिड–१९ को प्रकोप रोक्न नेपालमा लकडाउन भएको दोस्रो दिन बुधबार बाराको विभिन्‍न ठाउँमा गाउँ–गाउँमा प्रहरीले माईकिङ गर्दै सूचना जारी गरेको छ। राजमार्गमा प्रहरी खटिएर निर्णय लागू गराउन भरपूर प्रयास गरे पनि सर्वसाधारणले अटेरी गरिरहेका छन्। 

सेनासहित जनप्रतिनिधिले गरे अनुगमन

लकडाउन कार्यान्वयन खुकुलो भएपछि निजगढ नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गरेका छन्। निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, उपमेयर लीलादेवी लामिछाने खनाल नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीले गाँउमा अनुगमन गरेका हुन्। 

१३ जना पक्राउ

निषेधाज्ञा आदेशको दोस्रो दिन उल्लंघन गर्ने १३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरुलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए। त्यसैगरी लकडाउन अवज्ञा तथा उल्लघन गर्ने एक सय १६  मोटरसाइकल, अटो १, ट्याक्टर १ तथा एउटा सेन्ट्रो गाडी नियन्त्रणमा लिइएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.