शैय्या थप गरेर चलाउन पनि मञ्जुर

|

विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार भएको छ। अस्पतालका सञ्‍चालक डा सुनिल शर्माले नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन तयार भएको थाहा खबरलाई बताएका छन्। 

कतिपय निजी तथा सरकारी अस्पतालले अहिले ज्वरोका बिरामीलाई समेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा डा शर्माले आज अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका हुन्। उनले यसबाट यस क्षेत्रका बिरामीलाई तड्पिनु नपरोस भनेर मात्र होइन एक व्यवशायीको नाताले राष्ट्रलाई परेको बिपदमा सघाउनु आफ्नो कर्तव्य भएकोले आफूले यो निर्णय लिएको बताए ।

निजी क्षेत्रबाट सञ्‍चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या छन्। डा शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा भगवान कोइरालालाई बिहीबार नैं पत्र समेत पठाएका छन्।

शैय्या थप गरी १ हजार शैय्यासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्‍चालनका विषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.