सचेतनाका लागि नगरपालिकाको माइकिङ

|

काठमाडौं : विश्वव्यापी कोरोना भाइरस (कोभिड १९) फैलिएसँगै नेपालमा पनि भाइरसको संक्रमित देखिएपछि रोकथामका लागि सरकारले गत मंगलबार बिहान ६ बजेबाट एक साताका लागि ‘लकडाउन’ घोषणा गर्‍यो।

सरकारले कोही पनि घरबाट बाहिर ननिस्कन बारम्बार आग्रह गर्दै आएको छ। तर, लकडाउनको चौथौ दिन अर्थात् शुक्रबार गोकर्णको नाम्गेल क्षेत्रमा बेग्लै दृश्य देखियो। कोही मास्कबिनै खेतमा मकै गोडिरहेका थिए त कोही आलुमा किटनासक औषधि छरिरहेका देखिन्थे। कोही मास्कबिना खुल्लम खुला बाहिर हिँडिरहेका थिए सर्वसाधारण।

सरकारले लकडाउन लगाए पनि अटेरीपन देखाउँदै कोरोना भाइरसको उच्च जोखिम मोलेर काम गर्दै आएका छन्। तर, यस क्षेत्रमा चेतना दिई कडाई गर्ने प्रहरीको उपस्थिति देखिँदैन।

भिड नभएकाले निस्केका हौँ

नाम्गेलमा आलुमा औषधि छरिरहेका अस्मिता अधिकारीले सरकारले बाहिर ननिस्कन आग्रह गरे पनि आलुमा किटनासक औषधि छर्ने बेला भएकाले औषधि छरेको बताइन्। ‘सरकारले बाहिर ननिस्कन आग्रह गरेर के गर्नु,’उनले भनिन्,‘आलुको बोट र पातमा किराहरुले खाइसक्यो। पछि छर्दा ढिलो हुन्छ। त्यसैले औषधि छर्न आएको हुँ।'

काम सकिएपछि घरमै बस्ने उनले बताइन्। नाम्गेलकै अर्का स्थानीय भीमकुमार श्रेष्ठले धेरै भीडभाड नभएकाले बाहिर काम गरेको बताए। ‘यो ठाउँ अरु ठाउँ जस्तै भीडभाड छैन,’मकै गोड्दै उनले भने,‘यस्तो ठाउँमा कोरोना भाइरसको खासै डर हुँदैन। त्यसैले मकै गोड्न आएका हौँ।’ मकै गोड्ने काम सकिन लागेकाले अबदेखि घरमै बस्ने उनको भनाई छ।

मास्क नलगाएको विषयमा उनले भने, ‘गर्मी भएकोले मास्क नलगाएको हो अब घरभित्रै बस्ने हो।’ उनका अनुसार नाम्गेल क्षेत्रमा त्यतिधेरै बाक्लो बस्ती छैन। त्यसैले कम भिडभाड हुने भन्दै स्थानीय अहिले घर बाहिर काम गर्न जाने गरेका छन्।

माइकिङ गरेका छौँ : नगरपालिका

‘घरबाट बाहिर ननिस्कन नगरपालिका क्षेत्रभित्र माइकिङ गर्दै आएका छौँ’ गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले घरबाट बाहिर निस्‍किन नदिनको लागि नगरपालिका क्षेत्रभित्र माइकिङ गर्दै आएको बताउँछन्। उनले भने, ‘कोरोना भाइरसको जोखिम बढी छ यस्तोबेला घरबाट बाहिर निस्किनु हुँदैन।’

उनले कोरोना भाइरस रोकथामका लागि बिहीबारबाट नगरपालिका क्षेत्रभित्र डिसइन्फेक्सन स्प्रे (किटनासक औषधि) पनि छर्दै आएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.