न अन्तिम घडीमा साथ दिने मानिस, न त विधिवत दाहसंस्कार

|
आफन्त गुमाएर भावविह्वल युवती । तस्बिर : एएफपी

जब कोही प्रिय मानिसको मृत्यु हुन्छ : निजलाई अन्तिम पटक देख्नु र पूर्ण सम्मानका साथ विदा गर्नु हाम्रा लागि अतिआवश्यक हुन्छ।

तर इटलीका जनताले कोरोना भाइरसको महामारीका परेका आफ्ना प्रियजनलाई अन्तिम बिदाईसमेत गर्न पाएका छैनन्। दुःखको बेलामा थप दुःखद अवस्था निम्तनु भनेको मरेका मानिसहरुलाई अन्तिम सम्मान नदिनुजस्तै हो, जसले बाँचेका मानिसहरुलाई पनि थप दु:खी बनाइरहेको छ। 

महामारीले हामीलाई दुईपटक मारिरहेको छ, मिलानस्थित एक अन्तेष्टि गृहमा काम गर्ने एन्ड्रिया सेराटोले भनिन्, 'बिरामी मर्ने निश्चित भएपछि उनका आफन्त र प्रियजनहरु अलग-थलग हुन्छन्, मृतकको नजिक कसैलाई जान दिइँदैन, परिवारका लागि यो समय निकै कष्टप्रद भइरहेको छ र परिस्थितिलाई स्वीकार गर्न असाध्यै गाह्रो भइरहेको छ।'

अन्तिम अवस्थामा पानी दिने साथी नै हुँदैनन्

इटलीमा कोभिड १९ भाइरस संक्रमित जति पनि मानिसहरु मरेका छन्, तीमध्ये अधिकांश मानिसहरुको जीवनको अन्तिम घडीमा कोही पनि सँगै थिएनन्। किनकी संक्रमितको साथमै रहँदा निजको आफन्त पनि संक्रमित भइसक्छन्। 

दोस्रो व्यक्तिलाई संक्रमण नफैलियोस् भनेर अस्पतालले नै बिरामीका आफन्तहरुलाई उनीहरुसँग मिल्न दिइरहेको छैन। त्यसैले, संक्रमित मानिसहरुले निकै दर्दनाक र वियोगान्तक मृत्यु भोगिरहेका छन्, उनीहरुको आँशु देख्ने, पुछ्ने या दुःखमा सहभागी हुने मानिसहरु छैनन्। 

यद्यपी, स्वास्थ्य अधिकारीहरुको मरेका मानिसको शरीरबाट कोरोना भाइरस नसर्ने, तर निजले लगाएको कपडामा भने केही घन्टासम्म रहनसक्ने बताएका छन्। यसको मतलब मृतकको शरीरलाई तुरुन्तै 'शील' गर्न जरुरी हुन्छ। 

शवगृहमा आएक शवलाई अन्तिम संस्कारका लागि तयार पार्ने काम गर्नेहरुलाई उनका परिवारले एक अन्तिम पटक आफ्नो प्रियजनलाई हेर्न दिन आग्रह गरिरहेका छन्, तर यसो गर्न प्रतिबन्ध लगाइएको छ। 

शवलाई निज व्यक्ति जिउँदो छँदा मनपर्ने कपडा लगाइन्छ, शवलाई सजाइन्छ र अन्तिम संस्कार गरिन्छ। तर इटलीमा कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिहरुको अन्त्येष्टि यसरी हुन सकेको छैन। शवलाई अस्पतालकै गाउनमा बेरेर चुपचाप नष्ट गर्ने गरिएको छ। परिवारका सदस्यहरुले असाध्यै गरेमा एक टुक्रा कपडा सम्बन्धित व्यक्तिको लाशमा राखिन्छ र अन्तेष्टि गरिन्छ।

हिन्दु धर्ममा अन्तिम संस्कारका लागि ब्राह्मण आवश्यक परेजस्तै इसाईहरुका लागि पादरी उत्ति नै महत्वपूर्ण हुन्छन्। तर कोरोनाका कारण मरेका मानिसहरुको अन्तेष्टि संस्कार पादरीले नभई चण्डाल (अण्डरटेकर) हरुले गरिरहेका छन्। अन्डरटेकरहरुले मृतकका परिवार या मित्रको भूमिका निभाइरहेका छन्। उनीहरुले एक पादरीले झैं दिवंगत आत्माको मुक्तिका लागि प्रार्थना गरिरहेका छन्। 

कोरोनाबाट मृत्यु हुनेहरुका परिवार अन्तिम क्षणमा त के, अन्तिम संस्कारमा पनि सहभागी हुन पाउँदैनन्। किनकी उनीहरुमा पनि संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ र क्वारेन्टाइनमा लगेर राखिएको छ। मृतकप्रति परिवारले अन्तिम क्षणमा निभाउनुपर्ने सबै जिम्मेवारी अन्डरटेकरहरुले नै निभाइरहेका छन्। कोरोना संक्रमणका कारण इटलीमा अहिलेसम्म करिब ८,२१५ जनाको मृत्यु भइसकेको छ। ८०, ५८९ जना संक्रमित भेटिएका छन्। 

उपचार हुँदाहुँदै ज्यान गुमाएका मानिसको अन्तिमपटक एक तस्बिर लिइन्छ, त्यसपछि अस्पतालबाट शव लगेर सोझै अन्त्येष्टि गरिन्छ। सम्बन्धित परिवारका लागि आफ्ना मानिसको मृत्यु भएको हो भन्ने विश्वास गर्नेबाहेक अरु विकल्प नै बाँकी रहँदैन। 

मुर्दाघरमा एउटा लाश लैजानासाथ फेरि अर्को शव लिन अन्डरटेकरहरु कुदिहाल्छन्। इटलीमा रहेका यर्दा मुर्दाघरहरु यतिखेर मानिसको शवले भरिएका छन् र मृतकहरुको संख्या पनि बढिरहेको छ। 

२३ मार्च यतामात्रै इटलीमा ६००० भन्दा बढी मानिसको ज्यान गईसकेको छ। चार दिनकै अवधिमा कोरोना संक्रमणका कारण यति ठूलो संख्यामा मानवीय हताहति भएको हो। 

शवदाह गृह बाहिर मानिसको लाशको खात लगाइएको छ, मानौं कि त्यो प्याक गरिएका सामान टनाटन राखिएको सुपरमार्केट हो। उत्तरी इटलीका अस्पताको मुर्दाघर त मानिसको शवै शवले भरिएको छ। शवदाह गृहनजिक रहेका चर्चहरु लाशको गोदाम भएका छन्। 

इटलीको बर्गेमोमा कोरोनाका कारण सबैभन्दा धेरै क्षति भएको छ, जहाँ शवलाई तह लगाउन सेना नै बोलाउनु परेको छ। यहाँका सबै चिहानहरु भरिएका छन्। अब थपिने मृतकहरुलाई राख्ने ठाउँसमेत छैन।

इटलीको अवस्था निकै दारुण छ, हृदयविदारक छ। यो त युद्धमा भएको भारी हताहतिभन्दा पनि भयानक छ। जस्तो कि दोस्रो विश्वयुद्धमा इटलीले खराब मानवीय र भौतिक क्षति व्यहोरेको थियो। 

यतिखेर इटलीका चिकित्सक र नर्सहरु ईश्वरजस्ता भएका छन्। अन्डरटेकरहरु युनानी मिथकको 'चेराँन' नामक पात्र जस्तै भएका छन्, जसले मृतकको आत्मालाई स्वर्गमा लिएर जाने विश्वास गरिन्छ।

नेपालमा पनि अहिलेसम्म कोरोना संक्रमणका कम्तिमा दुईवटा मामिला पुष्टि भएका छन्। इटलीको जस्तो अवस्था आउन नदिन सरकारले मानिसहरुलाई कोठा या घरभित्रै बस्न र बाहिर ननिस्कन भनेको छ। 

मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना जिवाणु फैलान नदिन अहिले नेपालमा लडकाउन कार्यान्वयन भइहेको छ। तर केही मानिसहरु फुक्काफाल सडकका कुदिरहेको, एकै ठाउँमा बसिरहेको र बेपर्वाह भइरहेको देखिन्छ। यस्ता गतिविधी नियन्त्रण गर्न सके हामीले चीन, इटली या अमेरिकाको जस्तो खराब स्थिति ब्यहोर्नुपर्ने छैन। हेल्चेक्य्राइँ गरिरहे चाहिँ...

(एजेन्सीको सहयोगमा)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.