|

सुर्खेत : कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपद व्यवस्थापन कोषका लागि मुख्यमन्त्रीको स्वकीय सचिवालयका सदस्यहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माको समन्वयमा शुक्रबार बसेको स्वकीय सचिवालयको वैठकले एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो। स्वकीय सचिवालयका ५ जनाले आफूले पाउने १ महिनाको पारिश्रमिक रकम कोषमा दाखिला गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जानकारी दिए।

पाँच जनाको १ महिनाको पारिश्रमिकमा सामाजिक सुरक्षा कर कट्टी गरेर प्राप्त हुने रकम एकलाख ९८ हजार आठ सय नव्बे रूपैयाँ कोषमा दाखिला गरिने उनले बताए। मुख्यमन्त्रीको स्वकीय सचिवालयमा राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकी, प्रमुख स्वकीय सचिव खेमवहादुर सिंह र स्वकीय सचिव धर्मराज शाहीले सहयोग कोषमा एक महिनाको तलब जम्मा गर्ने भएका हुन्।

बिहीबार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद वैठकले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको प्रदेश विपद व्यवस्थापन कोषमा मुख्यमन्त्रीलगायत सवै मन्त्रीहरूको १ महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गर्नुको साथै कोष वृद्धिका लागि जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी व्यवसायी र इच्छुक व्यक्ति एवं संस्थालाई पनि सहयोगको आव्हान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.