अस्पतालमै पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता

|
फाइल फोटो

काठमाडौं : शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज अपराह्न भेटवार्ता भएको छ। 

भेटमा नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन्। बालुवाटार स्रोतका अनुसार नेता नेपालर प्रधानमन्त्री ओलीबीच करिब ४० मिनेट कुराकानी भएको थियो। 

कोरोना महामारी व्यवस्थापनको विषयमा वार्ता भएको बताइएको छ। पूर्वप्रधामन्त्रीसमेत रहेका नेपालले कोरोना प्रकोप नियन्त्रणमा संघीय सरकारका साथै तीनै तहका सरकारका साथै पार्टी संगठनसमेत परिचालन गर्न सुझाएका थिए। 

नेता नेपालले तत्काल यो संकटबाट पार पाउन भारत र चीन दुवै छिमेकी मुलुकसँग समन्वय र सहयोग आदानप्रदान गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई आफ्नो स्वास्थ्य अवस्था विचार गरेर अधिकार प्रत्यायोजन गरेर काम सहज बनाउन सुझाव दिएको बताइएको छ। 

दुईबीच वर्तमान अवस्थाबारे पाठ सिक्दै विकासलाई नयाँ ढंगले सोच्नुपर्ने र सोहीअनुसार काम गर्न योजना बनाउने सहमति पनि भएको छ। 

भेटकाबारेमा नेता नेपालले थाहाखबरसँग आफू प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न अस्पताल गएको बताएका छन्। 

नेता नेपालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पूर्ववतः अवस्थामा आइसकेकोले आजै साँझ डिस्चार्ज हुने उपचारमा संलग्न चिकित्सकहरुले आफूलाई जानकारी दिएको बताए । 

प्रधानमन्त्री ओलीको मुटूमा सामान्य समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना गरिएको थियो। आजै प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि अस्पताल  पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.