ओली-प्रचण्डको विशेष परिपत्र : महामारीसँग जुध्न सरकारलाई साथ दिनू

|

काठमाडाैं : कोरोना भाइरसविरुद्धको अभियानमा लाग्न सत्ताधारी दल नेपाल कम्यूनिष्ट पार्टीले आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ। नेकपाले पार्टी तथा जनवर्गीय संगठनहरुका बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने भएको हो।  

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्ना कार्यकर्तालाई कोरोनाविरुद्धको अभियानमा लाग्न निर्देशन दिएका छन्। शुक्रबार जारी निर्देशनमा कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लकडाउनलगायतका निर्णय, आह्वान र अपिललाई पूर्णरुपमा पालना गर्ने आम जनसमुदायमा सन्देश प्रवाह गर्न निर्देशन दिइएको छ।

नेकपाले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयम्सेवकको भूमिकामा परिचालित हुन आग्रह गरेको छ।

अध्यक्षद्वयले यतिबेला कोभिड-१९ (कोरोना भाइरस)को महामारीले विश्व समुदायलाई नै गम्भीररुपमा प्रभावित गरिरहेको बताउँदै उपचारको विश्वसनीय विकल्प पत्ता लागिनसकेको वर्तमान अवस्थामा यस रोगको प्रकोपबाट जोगिन पूर्वसतर्कता अपनाउन सबैका लागि अपरिहार्य हुने बताएका छन्। 

'आजसम्म दुनियाँका कपितय मुलुकहरुको तुलनामा हाम्रो मुलुकमा यसको प्रकोप कम देखिए पनि नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको ठहरले हामीलाई सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न प्रेरित गरेको छ', उनीहरुले भनेका छन्, 'सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्वपूर्ण कदम चालेकोले यो सतर्कता र प्रयास प्रशंसनीय छ।'

अहिलेसम्म नेपालमा कोरोना भाइरसले महामारीको रुप नलिएको बताउँदै नेकपाले सरकारका कदमलाई स्वागत, समर्थन गर्नु र साथ दिनु हरेक नेपालीको जिम्मेवारी भएको बताइएको छ।

परिपत्रमा कोरोना भाइरसद्वारा सिर्जित विश्वव्यापीसंकट र राष्ट्रकासामू बढ्दो खतराको घडीमा आपसी एकतालाई बलियो बनाउँदै यसलाई सामना गर्न सहयोगी हात जुटाउनुपर्नेमा जोड दिइएको छ। तर सङ्किर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउँने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका प्रभावकारी कामलाई समेत आलोचना गर्नेजस्ता नकारात्मक प्रबृतिहरु कतैबाट पनि प्रकट हुनु राम्रो नभएको उनीहरुको तर्क छ।

'विश्वस्तरमा झन् पछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखा परेमा पनि सुरक्षितरुपमा उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयंसेवी भूमिकाका साथ सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ', निर्देशनमा भनिएको छ, 'यस निम्ति समस्त पार्टी पङ्क्ति एवम् पार्टीनिकट जनवर्गीय संगठनहरुलाई परिचालित हुनु होला।'

नेकपाले हवाईमार्ग वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइसोलेशन वा क्वारेन्टाइनमा रहन पनि अपिल गरेको छ। 

कोरोना भाइरसको लक्षण देखिएको व्यक्ति वा लक्षण देखिएको व्यक्तिसँगको सम्पर्कमा आएको व्यक्तिबारेमा नजिकको स्वास्थ्य संस्थालाई सूचना दिन पनि अपिल गरिएको छ। त्यस्ता व्यक्तिको यात्रा अभिलेख र कन्ट्याक्ट ट्रेसिङ तयार गर्ने र राज्यका अधिकार प्राप्त निकाय वा नजिकको स्वास्थ्य संस्थालाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

आवश्यकता अनुसार स्वास्थ्य परिक्षण र उपचार कार्यमा सघाउन पनि दुई अध्यक्षले भनेका छन्। सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाइन लगायतका पूर्वाधार निर्माण गर्न पनि भनिएको छ।

तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्न पनि कार्यकर्तालाई निर्देशन दिइएको छ। कोरोना भाइरसको भयावह सङ्क्रमणबाट जोगिन नेपाल सरकारले एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको उल्लेख गर्दै विशेष निर्देशनमा समस्या फैलिन नदिन सरकारले यसलाई अपरिहार्य उपायका रुपमा अवलम्बन गरेको व्याख्या गरिएको छ। 

'अनेक कठिनाईका बाबजूद सरकारको यो निर्णय तथा आह्वानलाई साथ दिनु र सफल तुल्याउनु प्रत्येक नेपालीको कर्तव्य भएकोले सरकारको यो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सक्रिय भूमिका निर्वाह गर्नु जरुरी छ', निर्देशनमा भनिएको छ, 'नेपालमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न र फैलिन नदिन नेपाल सरकार, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरु, राज्यका सम्पूर्ण निकायहरु, राजनीतिक दलहरु, सामाजिक जीवनका प्रबुद्ध व्यक्तिहरु र सम्पूर्ण नेपालीले तत्कालै सचेतना, सतर्कता र नियन्त्रण कार्यमा जुट्नु हुनेछ।'

नेकपा कार्यकर्तालाई  कोरोना भाइरसको विश्वव्यापी महामारीलाई गम्भीरताका साथ लिन र यथेष्ट सतर्कता एवम् सक्रियताका साथ परिचालिन हुन दुई अध्यक्षले निर्देशन दिँदै बढ्दो खतराको सामना गर्न देशवासीलाई आग्रह पनि गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.