दुबईबाट आएका थिए धनगढी पुगेका युवा

|

काठमाडौं : काठमाडौं उपत्यका बाहिर कोरोनाका पहिलो संक्रमित भेटिएका छन्। धनगढी प्रादेशिक अस्पतालमा उपचाररत युवकमा कोरोना देखिएसँगै उपत्यका बाहिर पनि खतराको घण्टी बजेको हो।

दुबईबाट रोजगारी गरेर आएका युवकलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 'उपत्यका बाहिर देखिएको यो पहिलो केश हो', देवकोटाले भने, 'समग्रमा यो कोरोना संक्रमणको चौथो घटना हो। अहिले उनको चौथो केश हो। अहिले उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।'

ती प्रादेशिक अस्पतालमा युवक उपचारका लागि ११ गते चैतमा भर्ना भएका थिए। उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो। 

दिल्ली हुँदै नेपाल

कोरोना भाइरसबाट संक्रमित चौथो युवा गत ७ चैत (२० मार्च) मा भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौँ आएको पुष्टि भएको छ। तर उनी कुन जहाजबाट आए भन्‍नेबारेमा स्वास्थ्य मन्त्रालयले अहिलेसम्म केही बोलेको छैन।

उनी काठमाडौँ काठमाडौं उत्रिसकेपछि एक दिन बसेर नेपालगञ्ज गएका थिए। काठमाडौं ओर्लिएको पर्सीपल्ट उनी बुद्ध एयरको जहाजबाट नेपालगञ्ज गएको खुलेको छ। त्यसपछि उनी स्थलमार्ग हुँदै बसको प्रयोग गरेर सुदूरपश्‍चिमको राजधानी धनगढीसम्म पुगेको खुलेको छ।

'यसले उपत्यका बाहिर पनि संक्रमित छन् भन्ने देखायो', देवकोटाले भने, 'अब विदेशबाट आएका सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ। लकडाउनको पालना गरिदिनुपर्छ। विदेशबाट आएकाले अनिवार्य होम क्वारेन्टाइनमा बसिदिनुहोला।'

देवकोटाले सरकारले लागू गरेको नियम सबैले पालना गरिदिन पनि अपिल गरे। 'स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्योगी र राजनीतिककर्मीसहित सबैले क्वारेन्टाइनको अनुगमन गरिदिनुहोला', उनले भने, 'अब देशका अन्य जिल्लामा पनि जोखिम रहेको यसले देखाएको छ।'

यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। 

अहिले उनी टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। 

उनी उपचारपछि निको भइसकेका छन्। ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

यसरकारण खतरा

खाडीसहितका विभिन्‍न मुलुकमा कोरोनाको खतरा भएसँगै कयौँ युवा नेपाल फर्किएका छन्। सरकारले लकडाउन गर्नुअघिसम्म भारतबाट १० हजार भन्दा धेरै युवा गाउँ फर्किएका छन्। 

तीमध्ये थोरैमात्रै क्वारेन्टाइनमा बसेका छन्। अधिकांशले कोरोनाविरुद्धको आधारभूत सुरक्षा पनि अपनाएका छैनन्। पछिल्लो पटक फ्रान्स र दुबईबाट आएका दुई संक्रमितसँगै आएका करिब दुई सयजनाको अझै टु्ंगो लागिसकेको छैन।

प्रहरीले तीमध्ये करिब डेढ सयको पहिचान गरेको छ। तर अन्यको अझै पहिचान भइसकेको छैन। संक्रमितसँग आएकाहरु पनि क्वारेन्टाइनमा नबसेकाले उपत्याका बाहिर पनि कोरोनाको जोखिम बढेको हो।

स्थानीय तहका सरकारले प्रभावकारी भूमिका निर्वाह नगरी हेलचेक्र्याइँ गरिदिँदा अब कोरोनाको संक्रमण त्यता पनि पुग्ने जोखिम भएकाे स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने सबैलाई अनिवार्य होम क्वारेन्टाइन बस्न अपिल गरेको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.