स्वास्थ्य सचिवदेखि राजकुमारसम्म बिरामी

|

लण्डन : बेलायतमा एकपछि अर्का उच्च पदस्थ कोरोना भाइरसको चपेटमा परेका छन्। शुक्रबार प्रधानमन्त्री बोरिस जोनसन कोरोना पोजेटिभ भएलग्तै स्वास्थ्य मन्त्री पनि संक्रमित भएको समाचार आएको छ। 

प्रधानमन्त्री जोनसनले शुक्रवार भिडियो सन्देशमार्फत आफूलाई कोरोना भएको पुष्टि गरेका छन्। प्रधानमन्त्रीलाई कोरोना भएको खबर सार्वजनिक भएलगत्तै स्वास्थ्य मन्त्री म्याट ह्यानकक पनि संक्रमित भएको खुलेको छ।

जोनसनले आफ्ना मुख्य चिकित्सा अधिकारी क्रिस व्हिट्टीको आग्रहमा परीक्षण गराउँदा कोरोना भएको खुलेको हो। त्यसपछि उनी आइसोलेसनमा गएका छन्। उनले भिडियो कन्फरेन्सबाट सरकार चलाउने बताएका छन्। 

प्रधानमन्त्री नै संक्रमित भएपछि अब उनको क्याबिनेटमा मन्त्रीहरुमाथि पनि कोरोनाको कहर बढेको छ। सबैभन्दा खतरा उनकी गर्भवती गर्लफ्रेन्ड क्यारी साइमन्ड्समाथि मडारिएको छ। क्यारी साइमन्डसलाई पनि आइसोलेसनमा राखिएको छ। 

अब मन्त्रिपरिषद्का सबैको स्वास्थ्य परीक्षण गरिने भएको छ। प्रधानमन्त्री जोनसनलाई कोरोना संक्रमण कसरी भयो भन्ने अझै खुलेको छैन। 

पछिल्लो एक सातादेखि उनले कुनै पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन्। मंगलबारको मन्त्रिपरिषद् बैठक पनि भिडियो कन्फ्रेन्सिङबाट गरिएको थियो। यसअघि बेलायतका राजकुमार चार्ल्स र स्वास्थ्य सचिव नडाइन डोरिसलाई कोरोना भएको पुष्टि भइसकेको छ।

स्वास्थ मन्त्रीलाई पनि कोरोना

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककलाई पनि संक्रमित भएको छ। ह्यानककमा कोरोनाका सामान्य लक्षण देखिएका छन्। उनले कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेर काम गरिरहेका छन्।

‘मलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ। लक्षण सामान्य देखिएको छ। र, म घरबाटै आइसोलेसनमा बसेर काम गरिरहेको छु,' उनले भिडियो सन्देशमार्फत भनेका छन्।

प्रधानमन्त्री जोनसनले गत सोमवार बेलायतमा लकडाउन घोषणा गरेका थिए। उनले अनावश्यकरुपमा घर बाहिर ननिस्कन अपिल गरेका थिए। 

बेलायतका राजकुमार चार्ल्सलाई पनि २५ मार्चमा कोरोना संक्रमण भएको थियो। उनकी पत्नी क्यमिलालाई पनि आइसोलेट गरिएको छ। क्यामिलाको रिपोर्ट नेगेटिभ आएको थियो।

राजकुमार चार्ल्सलाई यो संक्रमण मोनाकोका राजकुमार एल्बर्टबाट सरेको थियो। दुवैको भेटघाट १० मार्चमा भएको थियो। एल्बर्टलाई २० मार्च कोरोना पोजेटिभ देखिएको थियो। 

बंकिघम प्यालेसमा एक सम्मान समारोहका क्रममा चार्ल्ससँग मोनाकोका राजकुमार मिलेका थिए। त्यसबेला उनीहरुले हात नमिलाइ नमस्ते आदान प्रदान गरेका थिए। 

बेलायतकी स्वास्थ्य सचिव पनि कोरोना संक्रमित भएकी छन्। बेलायतकी स्वास्थ्य सचिव नडाइन डोरिस कोरोना संक्रमित भएपछि आइसोलेसनमा छिन्। 

मोनाकोका राजकुमार एल्बर्ट पनि संक्रमित

मोनाकोका राजकुमारलाई २० मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो। भ्याटिकन सिटीको हिसाब नगर्ने हो भने मोनाको विश्वको सबैभन्दा सानो देश हो। मोनाकोको जनसंख्या ३८ हजार छ।

उता क्यानाडका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफी ट्रुडो पनि कोरोना संक्रमित भएकी छन्। त्यसपछि टुडोलाई आइसोलेसनमा लगिएको छ। 

अस्ट्रेलियाका गृह मन्त्री पीटर डटन पनि कोरोना संक्रमित भएका छन्। अस्ट्रेलियामा पनि कोरोनाले समस्या बनाउँदै लगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.