|

म्याग्दी : म्याग्दीमा चैत १ देखि यता विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिले गठन गरेको कमाण्ड पोस्टको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागि क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।

शनिबारदेखि भारत, खाडी र युरोपका लगायतका मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए। शंका र सन्त्रास हटाउन विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको प्रजिअ ढकालले बताए।

माउन्ट एभरेष्ट आवासीय माविको हिलसाइडस्थित पुरानो भवनमा १०, न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा ३० शय्या क्षमताको क्वारेन्टाइन बनाइएको छ। वेष्ट पोन्टमा १३ वटा बेड तयार भएको र १७ वटा शनिबार बिहान तयार गरिने जनाइएको छ।

नेपाली सेना, सशस्त्र र जनपद प्रहरी क्वारेन्टाइन निर्माणमा जुटेका छन्। रघुगंगा गाउँपालिकाले आठवटा वडामा पाँचवटाका दरले ४० शय्या क्षमताको क्वारेन्टाइन बनाएको छ। मालिका गाउँपालिकाले दरवाङको छ्यारछ्यारेमा रहेको जनप्रिय माविको भवनमा सात शय्या क्षमताको क्वारेन्टाइन बनाएको छ। बेनीको क्वारेन्टाइनमा राखिनेका लागि बेनी नगरपालिकाले खाना खुवाउने बताएको छ।

क्वारेन्टाइनमा राखिएकाहरुलाई ज्वरो, रुघा, सुख्खा खोकीजस्ता कोरोनाका लक्षण देखिएमा बेनी अस्पतालको आइसोलेसनमा राखेर नमुना परीक्षण गर्न काठमाडांै पठाइने भएको छ। परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिए थप उपचारका लागि काठमाडौं र नदेखिए घर पठाइने व्यवस्था मिलाइएको छ।

विदेशबाट फर्केका ९३ जनाको पहिचान

म्याग्दीमा चैत १ देखि विदेशबाट आएकाहरुको वडा कार्यालयले लगत संकलन गरेका छन्। हालसालै विदेशबाट फर्किएका ९३ जनाको लगत संकलन भएकोमध्ये चैत यता मात्रै आएका ६० जनालाई क्वारेनटाइनमा राख्ने निर्णय भएको कमाण्ड पोष्टका सदस्य समेत रहेका रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिए।

विदेशबाट आएकालाई घरमै क्वारेन्टाइनमा बस्न भने पनि अटेर गरेको पाइएपछि चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टनलाइनमा राख्ने निर्णय भएको हो।

बजारमा किटाणु मार्ने विषादी छर्किँदै

यसैबीच शनिबार बेनीलगायत म्याग्दीका मुख्य बजार क्षेत्रका सडकमा किटाणु मार्ने विषादी छर्कन लागिएको प्रजिअ ढकालले बताए। 

बेनीका साथै दरवाङ, तातोपानी, बाबियाचौर र पोखरेबगरमा किटाणु मार्ने विषादी छर्कने तयारी भएको छ। बेनी नगरपालिकाको दमकल प्रयोग गरेर प्रहरीले छर्कने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.