किसानलाई पिरोल्न थाल्यो बैंकको ऋणले

|

पाल्पा : कोरोनाको त्रासले बिक्री हुन छाडेपछि पाल्पाका किसानले धमाधम कुखुरा मार्न थालेका छन्। 

उनीहरूले पालेका कुखुरा मार्दै खाल्डोमा पुरेका छन्। ठूलो संख्यामा कुखुरा पालेका किसानले बिक्री गर्न तयार भएका कुखुरा मार्न बाध्य भएका हुन्। 

कुखुरा बजारसम्म लैजाने अवस्था नभएको र स्थानीय मानिसले समेत मासु खान छाडेपछि कुखुरा मार्न बाध्य भएको किसानहरूले बताएका छन्। 

पालिरहन खर्चले नसक्ने अवस्थामा दाना पनि पाइन छाडेपछि किसानले कुखुरा मार्न थालेका हुन्। जिल्लाको रैनादेवी छहरागाउँपालिका–३ भुवनपोखरीका किसानले हजारौंको संख्यामा कुखुरा मारेका छन्। 

व्यवसायीक रुपमा कुखुरा पाल्दै आएका स्थानीय किसान वेदप्रसाद मरासिनीले खोरमा भएका सबै कुखुरा मारेको बताए। दुई दिनमा ६ हजार कुखुरा मारेर खाल्डोमा पुरेको उनले बताए।

‘२ किलोदेखि ४ किलोसम्मका कुखुरा थिए। झण्डै ७० क्वीण्टल बराबरको कुखुरा मारिएको हो। दिनको १२ बोरा दाना चाहिन्छ। केही स्टक थियो। त्यो पनि सकियो। कतैबाट ल्याउन पाइँदैन’, उनले भने, ‘हुर्किसकेका कुखुरा बिक्री गर्ने बजार पनि छैन। गाउँमा सबैले मासु खान छाडिसके। त्यसैले मार्नु परेको हो।’

आफुले पालेका कुखुरा बुटवल, गुल्मी, पर्वत निर्यात गर्दै आएको मरासिनीले सुनाए। १५ लाख बराबरको नोक्सान भएको उनको भनाई छ। १५ वर्षदेखि कुखुरा पाल्दै आएका उनलाई व्यवसायमा अहिले ठूलो नोक्सान परेको हो। 

केही महिनाअघि घर धितो राखेर ज्योति विकास बैंकबाट ऋण काढेर ६ हजार कुखुरा पालेको उनले बताए। अब बैंकको ऋण तिर्ने कसरी हो? भन्नेमा उनी चिन्तित छन्। उनले हाइलाइट मरासिनी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर कुखुरा व्यवसाय संचालन गर्दै आएका छन्। 

अर्का किसान मोहन पौडेलेको पनि व्यथा उस्तै छ। जीविकोपार्जनको लागि कुखुरा व्यवसाय गर्दै आएका उनले ४ सय ५० कुखुरा पालेका थिए। दाना र बजारको अभाव हुँदा खोरमा भएका सबै कुखुरा मार्न बाध्य भएको उनले बताए। 

विश्वभर कोरोनाको महामारी फैलिएपछि नेपालमा पनि लकडाउन गरिएको छ। लकडाउनका कारण दाना कम्पनी समेत बन्द भएका छन्। घरमा स्टक रहेका दाना सकिएपछि मार्नुको विकल्प नभएको पौडेलले सुनाए। 

गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको टोली किसानको अवस्थाबारे अनुगमन गर्न घट्नास्थल गएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए। क्षतिको आधारमा मर्कामा परेका किसानलाई आवश्यक सहयोग गर्ने उनले आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.