'भाडा नदिए बीच बाटोमै झारिदिने भन्दै बसवालाले धम्काए'

|

मुगु : गत बिहीबार नेपालगन्जको राँझा विमानस्थलबाट उद्धार गरिएको भनी प्रचार गरिएका बालबालिकाबाट बस सञ्चालकहरूले ढाड सेक्ने गरी भाडा असुलेको खुल्न आएको छ। कणली प्रदेश सरकारको पहलमा बालबालिकाहरुलाई उद्धार गरिएको भनिए पनि बालबालिका लिएर आएका ५ वटा बसहरुले बीच बाटोमा एक जना बराबर ४ हजार १ सय ५० रुपैयाँ असुलेका हुन्। 

सामान्य अवस्थामा नेपालगन्जबाट मुगु सदरमुकाम गमगढीसम्मको भाडा प्रतियात्रु २ हजार रुपैयाँ कायम छ। काठमाडौका अध्यनरत ती विद्यार्थी नेपालगन्जबाट हुँदै घर फर्कंदै थिए। नेपालगन्जमा जहाजको टिकट नपाएपछि उनीहरु अलपत्र परेका र  उद्धारका गरिदिन तिनका आफन्तले अनुरोध गरेका थिए। होटलमा बस्न गाह्रो भएपछि उनीहरुलाई प्रदेश सरकारको पहलमा उद्धार गरिएको भन्दै बसमा बसाइएको थियो। 

‘तर बीच बाटोमै भाडा उठाउन थाले, साना बालबालिकासँग थोरै लिन्छन् भन्ने सोचेका थियौं तर एक जनाकै चार हजारभन्दा बढी भाडा लिए,’ बसमा आएका छायानाथ रारा १४ बाम गाँउका दानबहादुर बुढाले बताए। 

बसमा आएकी लुम्स गाउँकी विद्यार्थी छुमका कठायतले भनिन्, ‘ लकडाउन भएपछि कसरी घर पुग्ने चिन्ता थियो, केही अगुवाहरूले प्रदेश सरकारले उद्धार गर्दै छ भनेकाले खुसी भएका थियौं, प्रदेश सरकारले सबैलाई बसको व्यवस्था गरेको भन्ने लागेको थियो, तर सुर्खेत कटेपछि ४ हजार १ सय ५० का दरले भाडा उठाए।’आफूहरुले भाडा नतिरे बीचमै छाडेर जानेसमेत गाडीबालाले धम्की दिएको उनीहरुले बताए। 

उनी थप्छिन्, ‘कसैले फलानो प्रदेश सांसदले सहयोग गरे भन्थे, कसैले पार्टीका अध्यक्षले, तर सबै प्रचारबाजी रहेछ।’ सहयोगको नाममा आफूहरुलाई बसबालाले लुटेको उनले गुनासो गरिन्।

नेपालगंजको राँझाका विभिन्न होटेलमा करिब १ सय ८८ बालबालिका र मुगु आउने अन्य स्थानीय देश लकडाउन भएपछि अलपत्र परेका थिए। ‘उनीहरुलाई गत बिहीबार ५ वटा बसको व्यवस्था मिलाएर पठाएका र कोही माननीय वा सरकारले सहयोग गरेको आफूलाई थाहा नभएको बस पहलकर्ता प्रेम रोकायाले बताए। उनले थपे, ‘अरु भाडा यात्रु आफैंले थप्ने भनेका थिए।’ उनले चर्को भाडा नलिइएको दाबी गरे। उद्धारका लागि आफूहरुसँग कुनै समन्वय नभएको प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताएका छन्। 

बसमार्फत आएका ती सबै यात्रुलाई शुक्रबार राति ११ बजे जिल्ला अस्पतालको चिकित्सक टोलीले स्वास्थ्य चेकजाँच गरी १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सल्लाह दिँदै घर पठाइएको प्रजिअ ज्ञवालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.