दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिइने

|
फाइल फोटो

सिन्धुपाल्चोक : गाउँपालिका राष्ट्रिय महासंघले सातै वटा प्रदेशमा कोरोना भाइरस जाँच गर्ने प्रयोगशाला स्थापना गर्न सरकारलाई आग्रह गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै गाउँपालिका महासंघले सातै प्रदेशमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला बनाउन माग राखेको हो।

सबै प्रदेशमा प्रयोगशाला स्थापना गर्न र संक्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षणलाई तीव्रता दिन महासंघले आग्रह गरेको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जनाकारी दिए। श्रेष्ठ सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष समेत हुन्‌।

श्रेष्ठका अनुसार महासंघले स्वास्थ्य संस्थामा आवश्यक पर्ने न्यूनतम स्वास्थ्य सामग्रीको सहज आपुर्तिका लागि आवश्यक सहजीकरण गर्न समेत सरकारसँग आग्रह गरेको छ।

नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय र आह्वानलाई कार्यान्वयन गर्न गाउँपालिकाले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गर्ने र तेस्रो मुलुकबाट आएका गाउँपालिकाका नागरिकहरुको विवरण अद्यावधिक गरि नियमित 'फलोअप' गर्ने उल्लेख गरेको छ। 

महासंघले संक्रमणको लक्षण देखिएका बिरामीलाई तोकिएको स्वास्थ्य केन्द्रमा पुर्‍याउने र वडा समितिबाट टोल-टोलमा सम्पर्क व्यक्ति तोकी नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिने व्यवस्था मिलाउने जनाएको छ। साथै, टोलमा रहेका सम्पर्क व्यक्तिले संक्रमणको लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पुर्‍याउने, त्यसका लागि न्यूनतम सुरक्षाका विधि अपनाइने उल्लेख गरेको छ। 

बजारमा उपभोग्य सामाग्रीको उपलब्धता र बिक्री-वितरणलाई सहज बनाउन सुरक्षा संयन्त्र र निजी क्षेत्रसँगको समन्वय प्रभावकारी बनाउने पनि महास‌ंघको विज्ञप्तिमा उल्लेख छ। महांघले दैनिक ज्यालादारी गर्ने र न्यून आय भएका नागरिकका परिवारको विवरण संकलन गरी न्यूनतम राहत सामाग्री उपलब्ध गराउने जनाएको छ। 

सबै काम गर्न प्रचलित कानुन बमोजिम विपद् व्यवस्थापन कोष खडा गरी एकद्वार ढंगले खर्च गर्ने र कोषमा योगदान गर्न सहयोगी मनहरुलाई आह्वान गरिएको  महासंघका अध्यक्ष श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.