|

दैलेख : कोभिड–१९ बाट बच्न दैलेखका ११ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन्। स्थानीय सरकारले आफ्नो क्षेत्रका विभिन्न ठाउँमा क्‍वार‍ेन्टाइन स्थापना र भारतलगायत अन्य मुलुकबाट आएकाको लगत संकलन तीव्र बनाएका छन्। 

नारायण नगरपालिका

जिल्लाको मुख्य बजार मानिने दैलेखको सदरमुकाम दैलेख बजारमा कोरोना नियन्त्रणका लागि नगरपालिकाले उच्च सतर्कता अपनाएको छ।मानिसको आवतजावत हुने बजारका मुख्य चोकमा स्वास्थ्य चेकजाँचको व्यवस्था मिलाइएको नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए।  उनका अनुसार नारायण क्याम्पसमा १ सय बेडको क्‍वार‍ेन्टाइन निर्माण हुँदै छ। हालसम्म ८ वटा बेड तयार पारिएको उनले जानकारी दिए। 

नगरपालिकाको तर्तांमा २० बेडको आइसोलसन तयारी अवस्थामा राखिएको छ।  नगरपालिका भित्र रहेका ११ वटै स्वास्थ्य संस्थाबाट मानिसको चेक जाँच भइरहेको र दैलेख सुर्खेतको सिमाना गुराँसेमा रहेको हेल्थ डेस्कमार्फत मानिसको विवरण संकलन भइरहेको खड्काले बताए।

दुल्लु नगरपालिका

दुल्लुले पनि उच्च सतर्कता अपनाएको छ। शंकास्पद बिरामी फेला परे दुल्लु अस्पतालमा उपचारका ५ बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको नगर प्रमुख घनश्याम भण्डारीले  बताए। भारत लगायत अन्य मुलुकबाट आएकालाई १५ दिन क्‍वार‍ेन्टाइनमा राख्ने निर्णय गरिएको छ। नगरमा हाल मुम्बई बाट आएका चार जनालाई वडा नम्बर १ र २ को सिमानामा रहेको भानेश्वर माविमा क्‍वार‍ेन्टाइनमा राखिएको भण्डारीले जानकारी दिए। नगरपालिका १० को पन्चकोसी ज्वाला मावि गमौडीमा १५ वेडको क्‍वार‍ेन्टाइन निर्माण गरिएको छ।

आठबिस नगरपालिका 

आठबिसमा पनि बाहिरबाट आएकालाई राख्न वडा नम्बर ४ मा रहेको जनज्योति माविमा १५ बेडको क्‍वार‍ेन्टाइन बनाउने काम थालिएको छ। र राकम स्वास्थ्य चौकीमा ११ बेडको क्‍वार‍ेन्टाइन निर्माण गरिएको छ। त्यहाँ डाक्टरमार्फत स्वास्थ्य सेवा दिइएको छ। जनसंख्याका आधारमा प्रत्येक वडामा ५५ हजार देखि १ लाख रुपैयाँसम्मका स्वास्थ्य सामग्री खरिद गर्न बजेट छुट्याइएको छ। साथै वडावडामा जनचेतना फैलाइएको छ। 

चामुण्डाबिन्द्रासैनी नगरपालिका  

नगरपालिका प्रवेश गर्ने नाकामा चेक जाँच कडा पारिएको नगरपालिकाले जनाएको छ। दुई स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। स्वास्थ्य अभियन्ता राखेर नगरका प्रत्येक घरमार्फत सूचना संकलन गरिएको छ। 

नगरपालिका ३ मा चामुण्डा कलेजमा १५ बेडको क्‍वार‍ेन्टाइन बनाइएको छ। वडा नम्बर ५ को जनता माविमा १५ बेडको क्‍वार‍ेन्टाइन र वडा नम्बर ९ को डम्सुर माविमा १५ बेडको क्‍वार‍ेन्टाइन निर्माण थालिएको छ।  नगरमा ५० लाखको कोरोना उपचार कोष खडा गरिएको र विपद्मा निशुल्क एम्बुलेन्स र नगरबस तयारी अवस्थामा राखिएको छ। 

गुराँस गाउँपालिका 

गुराँसले पनि १० दिन अगाडिबाटै गाउँपालिका प्रवेशद्वार ( गाउँपालिका ५ को रानिमत्ता)मा हेल्थ डेस्क बनाएको छ। गाउँपालिका अध्यक्ष खेमराज ओलीका अनुसार गाउँपालिकाका प्रत्येक वडामा ५ सयका दरले मास्क वितरण गरिएको र हरेक स्वास्थ्य संस्थामा पर्याप्त औषधिको व्यवस्था गरिएको छ। 

डुंगेश्‍वर गाउँपालिका

गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्लका अनुसार गाउँमा सचेतना जगाउने काम भइरहेको छ। हालसम्म ४५ जना भारतलगायत अन्य मुलुकबाट प्रवेश गरेकाले उनीहरूलाई राख्न गाउँपालिका ५ को पिपल चौतारा माविमा क्‍वार‍ेन्टाइन निर्माण थालिएको छ। 

भगवतिमाई गाउँपालिका

भगवतीमाई गाउँपालिकाले बिरामीको जाँच गर्ने उपकरण पिपिईलगायत थर्मोमिटर पाउन नसकेको अध्यक्ष दानबहादुर थापाले बताए। 
तत्कालका लागि गाउँपालिका १ को ज्वाला माविमा १४ बेडको क्‍वार‍ेन्टाइन बनाइएको छ। पालिकाको मुख्य बजारमा हेल्थ डेस्क मार्फत चेक जाँच गर्ने काम भएको भए पनि नारायण नगरपालिका र भगवतिमाई गाउँपालिकाको प्रवेश द्वारमा हेल्थ डेस्क बनाइएको छ। 

भैरवीमा सामाजिक कार्यमा रोक 

भैरवी गाउँपालिकाले विवाह तथा व्रतबन्धलगायत सामाजिक कार्यमा रोक लगाएको छ। तत्कालका लागि बाहिरबाट गाउँपालिकामा भित्रिने व्यक्तिहरूको स्वास्थ्य जाँचका लागि गाउँपालिकाको मुख्य बजार डाडिमाडीमा हेल्थ डेस्क बनाइने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए। गाउँपालिकाको वडा नम्बर २ मा रहेको पञ्चदेवलमा रहेको गौरी माविमा क्‍वार‍ेन्टाइन निर्माण थालिएको छ।

बिरामी जाँच्ने साधन छैन ठाटिकाध 

जिल्लाको पश्चिममा पर्ने ठाटिकाध गाउँपालिकाले बिरामी जाँच्ने साधन नभएकाले अहिलेसम्म हेल्थ डेस्कको स्थापना गर्न नसकिएको बताएको छ। गाउँपालिका १ मा रहेको कृष्ण माविमा १० बेडको क्‍वार‍ेन्टाइन बनाउने काम थालिएको र कोरोना स्वास्थ्य जाँच्न सामाग्री अभाव भएका कारण हेल्थ डेस्क बनाउन नसकेको गाँपालिकाले जनाएको छ। 

महाबुका ४ स्थानमा हेल्थ डेस्क  

महाबु गाउँपालिकाले ४ स्थानमा हेल्थ डेस्क बनाएको छ। दारेघाट गाउँपालिका ४–५ र ६ को सिमानामा पर्ने गिताचौवर ४ र १ को सिमाना पर्ने घोडामर्चेमा हेल्थडेस्क बनाइएको छ। रानीवन स्वास्थ्य चौकीमा ७ बेडको क्‍वार‍ेन्टाइन निर्माण गरिएको छ 

नौमुले गाउँपालिका 

गाउँपालिकाकाे प्रवेशद्वार तामेमा हेल्थ डेस्क बनाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कोइरालाका अनुसार कोरोनाविरुद्ध सचेतना जगाउने काम भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.