फ्रान्सबाट आएकी संक्रमित चढेकै जहाजमा थिइन्

|

बागलुङ : कोरोन भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी अञ्चल अस्पतालमै उपचार हुने भएको छ। उनलाई शनिबार राती नै अञ्चल अस्पतालको मेडिकल टिमले घरबाट 'आइसोलेशन वार्ड'मा ल्याएको छ।

अस्पतालको 'आइसोलेशन वार्ड'मा राखेर उपचार गर्न लागिएको स्वास्‍थ्‍य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए। उनको अवस्था सामान्य रहेकाले अञ्चल अस्पतालको 'आइसोलेशन वार्ड'मा राखेर उपचार गर्न थालिएको हो। ‘अवस्था समान्य रहेकाले बाहिर लैजानु पर्दैन भन्ने माथिको निर्देशन आयो’ गुरौले भने, ‘हामीसँग उपलब्ध सेवा पाउने गरी अस्पताल भर्ना गरिएको छ।’

यस्तो छ कोरोना संक्रमित बागलुङकी युवतीको ‘ट्राभल हिस्ट्री’

बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी १९ बर्षिया ती युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार पुष्टि भएको थियो। उनी बागलुङ नगरपालिका-४ की वासिन्दा हुन्। कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा झरेकी उनी सोही दिन नै बागलुङ आइपुगेकी थिइन्‌।

कोरोना भाइरस पुष्टि भएपछि उनको उपचार गर्ने विषयमा शनिबार दिउँसोदेखि बसेको जिल्ला विपद्‌ व्यवस्थापन समितिको बैठकमा निकै लामो समय छलफल गरेको थियो। सुरूमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाउने भनिएपनि क्षेत्रीय अस्पताल पोखरा पठाउनेबारे छलफल गर्दै अन्तिममा अञ्चल अस्पतालमा नै उपचार गर्ने निर्णय गरेको हो।

गृह र स्वास्‍थ्‍यलगायतका मन्त्रालयसँग परामर्श गरेपछि जिल्ला सदरमुकाममै रहेको अस्पतालमा उपचार गर्ने निस्कर्षमा पुगेको गुरौले बताए। संक्रमित युवतीलाई थप समस्या भएमा पोखरा वा काठमाडौं पठाइने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.