|

लमजुङ : लमजुङको स्थानीय तहहरुले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि क्वारेनटाइन निर्माणमा तीव्रता दिएका छन्। 

केही स्थानीय तहहरुले क्वारेनटाइन निर्माण गरीसकेका छन् भने केहीले निर्माण गर्ने तयारीमा रहेको जनाएका छन्। लमजुङमा हालसम्म ५०० भन्दा बढी शय्याको क्वारेनटाइन निर्माण भइसकेका छन्। यसअघि जिल्ला विपद व्यवस्थापन समितिको बैठकले प्रत्येक नगरपालिकामा कम्तीमा एक हजार र गाउँपालिकाहरुमा कम्तीमा ५०० शय्याको क्वारेनटाइन बनाउने निर्णय गरेको थियो।

जिल्लाको सदरमुकमा समेत रहेको बेसीशहर नगरपालिकाले हालसम्म १६० शय्याको क्वारेनटाइन निर्माण गरेको छ। बेसीशहरको सहजीस्थित भवन डिभिजनको नवनिर्मित भवनमा ५० शय्याको क्वारेनटाइन तयार गरिएको नगरपालिकाले जनाएको छ। यस्तै, विभिन्न वडाहरुका सामुदायिक विद्यालय वा सार्वजनिक भवनहरुमा पनि क्वारेनटाइन निर्माण भएको नगरप्रमुख गुमानसिंह अर्यालले बताए। नगरपालिकाका साथै वडा तथा विभिन्न युवा क्लबहरुले पनि क्वारेन्टाइन निर्माण गरेका छन्।

यसैगरी मध्यनेपाल नगरपालिकाले भोर्लेटारस्थित इशानेश्वर क्याम्पसमा १२ शय्याको क्वारेनटाइन निर्माण गरेको जनाएको छ। यसका साथै विभिन्न विद्यालय तथा क्याम्पसहरुमा पनि क्वारेन्टाइन निर्माणको तयारी गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए।

क्होलासोँथार गाउँपालिकाले पनि ३५३ शय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ। गाउँपालिका अध्यक्ष प्रेम घलेका अनुसार गाउँपालिकाका सबै वडाहरुमा छुट्टाछुट्टै क्वारेन्टाइन निर्माण भएका हुन्। गाउँपालिकाले क्वारेन्टाइन निर्माणका लागि सामुदायिक विद्यालयहरुको प्रयोग गरेको छ।

पुर्वी लमजुङको दुधपोखरी गाउँपालिकाले पनि १८ शय्याको क्वारेन्टाइन निर्माण गरेको जनाएको छ। वडा नम्वर २, ५ र ६ मा रहेका सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन  निर्माण गरिएको गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले जानकारी दिइन्।

यसैगरी मर्स्याङदी गाउँपालिकाले पनि खुदीस्थित एक विद्यालयमा २० शय्याको क्वारेन्टाइन निर्माण गरिसकेको छ। त्यसबाहेक सबै वडाहरुमा पनि क्वारेन्टाइन निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए।

सुन्दरवजार नगरपालिका, राईनास नगरपालिका र दोर्दी गाउँपालिकाले भने क्वारेन्टाइन निर्माणको तयारी मात्रै गरेका छन्। सुन्दरवजार नगरापलिकाले प्रत्येक वडाहरुमा २० वटा शय्या रहने गरी क्वारेन्टाइन निर्माण गर्न लागिएको नगरप्रमुख जनकराज मिश्रले बताए।

राईनास नगरपालिका प्रमुख सिँहबहादुर थापाका अनुसार प्रत्येक वडामा १०÷१० वटा शय्याको क्वारेन्टाइन निर्माणको तयारी भएको छ। दोर्दी गाउँपालिकालेले प्रत्येक वडाका सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.