|

पर्वत : चैत १ गतेपछि छिमेकी मुलुक भारतसहित अन्य देशहरूबाट जिल्लामा भित्रिएका सबै जनालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ।

पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरीसहित जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरुबीच भएको संयुक्त बैठकले विदेशबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।

विदेशबाट आएकाहरूलाई अहिलेसम्म होम क्वारेन्टाइनमा राख्ने निर्णय भएको भए पनि परिवारका सदस्यहरू समेत जोखिममा पर्ने र त्यसले सङ्क्रमण फैलन सक्ने भएकाले परिवारसँग समेत भौतिक सम्पर्कमा नराखी सिधै क्वारेन्टाइनमा जान अपिल गरिएको हो।

विदेशबाट फर्केका सबै व्यक्तिमा कोरोनाको सङ्क्रमण नभए पनि परीक्षण गर्नका लागि त्यस्ता व्यक्तिलाई क्वारेन्टाइन सम्म पुर्‍याउन वडा अध्यक्ष तथा सदस्य र  टोल समितिलाई सक्रिय बनाउने सहमति बैठकमा भएको छ।

बैठकमा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले विदेशबाट फर्केका व्यक्तिलाई परिवारको समेत सम्पर्कमा नराखी साबिक गाविसका वडामा रहेका विद्यालयहरूमा राख्ने व्यवस्था गर्दा क्वारेन्टाइन प्रभावकारी बन्ने प्रस्ताव गरेका थिए।

विदेशबाट फर्केकाहरू क्वारेन्टाइनमा बस्न अनिच्छुक देखिएको र परिवारले समेत लुकाउने अवस्था आएका कारण पालिकाले नै बनाएको क्वारेन्टाइनमा राख्न आवश्यक भएको निष्कर्ष बैठकबाट निस्किएको हो। 

गुप्तेश्वर क्याम्पस साझा आइसोलेसन

जिल्लाका सात वटै स्थानीय तहले कोरोना भाइरस (कोभिड १९) को सामना गर्न साझा रणनीति तयार गर्न सहमत भएका छन् भने सङ्क्रमणको आशङ्का गरिएका बिरामीको उपचारका लागि पर्वतको कुस्मामा सञ्चालनमा आएको कोरोना अस्पताललाई  नै साझा आईसोलेसन बनाउने सहमतिसमेत गरेका छन्।

बैठकमा सहभागीहरूले जिल्लामा सबै ठाउँमा आइसोलेसन बनाउन सम्भव नभएका कारण पर्वत कोरोना अस्थायी अस्पताललाई नै प्रयोगमा ल्याउने र आवश्यक खर्चको व्यवस्थापन गर्ने सहमति गरिएको हो। ‘महामारीलाई साझा हिसाबले सामना गर्न सबै पालिकाहरू एक ठाउँमा आउने काम भएको छ।’

सांसद गिरीले भने, ‘पालिकाहरूले आन्तरिक रूपमा गर्ने तयारीलाई आफै गर्ने र जिल्ला स्तरमा साझा रणनीति अपनाएर जाने सहमतिले सबै नागरिकलाई सुरक्षित गर्न महत्वपूर्ण कदम हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.