|

पर्वत : पर्वतको कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीमा कोरोना संक्रमण भए/नभएको पुष्टि गर्न स्वाब परीक्षण गर्न लागिएको ट। दुईजना शंकास्पदहरुलाई भर्ना गरिएको छ।

पर्वतको बिहादी गाउँपालिकाकी ३० वर्षीय एक महिला र बागलुङ घर भई पर्वत सदरमुकाम कुश्मास्थित आफन्तकहाँ बस्दै आएका ३३ वर्षीय पुरुष उपचारका लागि आएकामा उनीहरूलाई कोरोना अस्पताल पठाइएको थियो। बिरामी महिलामा केही दिन रुघाखोकी र १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आइरहेको छ।

यस्तै, कोरोना संक्रमणको आशंका गरिएका अर्का व्यक्ति गत चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौँ आएकामध्ये एक रहेको खुलेको छ। डेनमार्कबाट नेपाल आएका उनी पर्वतको कुश्मास्थित आफन्तकहाँ बस्दै आएको खुलेको छ।

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार कोरोना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले आवश्यक परीक्षणका लागि उनीहरूलाई अलग्गै कक्ष (आइसोलेसन) मा राखिएको छ। 

बिरामी परेकी महिलाको श्रीमान १३ दिनपहिले भारतबाट आएको, तर उनमा अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ। कहिलेकाहीँ सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिए पनि भाइरस अरूमा सङ्क्रमण हुन सक्ने चिकित्सकहरूको भनाई छ। तर मौसममा परिवर्तन हुन लागेकाले भाइरल ज्वरो आएको हुनसक्ने सम्भावना पनि चिकित्सकले औंल्याएका छन्‌।

कोरोना अस्पताल (अस्थायी) मा राखिएकी महिलामा सङ्क्रमण भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएपनि यातायात सञ्चालन ठप्प भएका कारण काठमाडौं पठाउन सकिएको छैन। आइसोलेसनमै राखिएका युवाको स्वाब भने शुक्रबार नै परीक्षणका लागि काठमाडौं पठाइसकिएको डा.देवकोटाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.