|

धादिङ : कोरोना (कोभिड-१९) संक्रमण फैलावट रोकथाम गर्न धादिङका दुई नगरपालिकाले सार्वजनिकस्थलमा संक्रमणरोधी झोल छर्किएका छन्। जिल्लाका नीलकण्ठ र धुनिबेसी नगरपालिकाले मूख्य बजार क्षेत्र र मानिसको भीडभाड हुने स्थानमा यस्तो झोल छर्किएर संक्रमण रोकथाम कोशिस गरेका हुन्‌।

यी दुई नगरपालिकाले सडकका किनारामा पनि जिवाणुरोधी औषधी छर्किएका छन्‌। नीलकण्ठ नगरपालिकाले जिल्ला सदरमुकामको मूख्य बजार क्षेत्रमा जिवाणुहरु नष्ट गर्न मेडिकल ल्याबमा प्रयोग हुने 'सोडियम हाइपो क्लोरेट'मा पानी मिसाएर छर्केको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिए।गर्मी बढेसँगै जिवाणुहरू सक्रिय हुने भएकाले निष्क्रिय पार्न औषधि छर्केको रिजालले बताए। 

धादिङबेसी पुल्चोकबाट शुरू भएको औषधि छर्कने काम पुछारबजार, एमालेचोक, शान्तबजार, दुरसंचार, सुगमटोल, बीचबजार, क्याम्पस चोक, सरकारी कार्यालय परिसर हुँदै क्वारेन्टाइन क्षेत्रसम्म पुगेको थियो। यो अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

यसैगरी धुनीवेशी नगरपालिकाले पनि पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका धार्केदेखि पिपलमोडसम्मको सडकखण्डलाई डिस्‍इन्‍फेक्‍सन गरेको छ। प्रति १० लिटर पानीमा १६० ग्राम क्लोरिन घोलेर दमकलबाट औषधि छर्किएको धुनिबेसी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार अधिकारीले जानकारी दिए। यसरी औषधि छर्कंदा लामखुट्टे र झिंगा मर्ने तथा संक्रमण फैलने जोखिम कम हुने गर्छ।

औषधि छर्कने क्रममा सडक आसपासका नागरिकलाई 'लकडाउन'को पूर्णपालन गर्न आग्रह गर्नुका साथै कोराना भाइरसको लक्षण देखिए तुरुन्त स्वास्थ्यसंस्था वा नगरपालिकामा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.