लकडाउन र अन्तर्राष्ट्रिय सम्पर्क बन्दको समय थप्‍नुपर्छ

|

यसबेला विश्व मानवजगत नोभल कोरोना अर्थात् कोभिड-१९ नाम दिइएको भाइरस संक्रमणबाट अकल्पनीय संकटमा फसेको छ। अहिलेसम्ममा विश्वमा साढे ६ लाखमा संक्रमण र ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

यसबेला विकसित सुविधा र शक्ति सम्पन्न भनिएका अमेरिका र युरोपका देशहरू नै ज्यादा पीडामा परेका छन्।संक्रमणको कोलाहल देख्दा मानव सभ्यता नै संकटमा परेको महसुस हुन्छ। यो संकटलाई छिटै बिर्सिएन भने अबको विकासको अवधारणा र विकास गर्ने शैलीमा उल्लखनीय परिवर्तन आउनेछ।

अमेरिका विश्वमा सबैभन्दा धेरै संक्रमणको सिकार बनेको छ भने युरोपका इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता देशहरू ठूलो जोखिममा परेका छन्। बेलायतका राजकुमार चार्ल्स प्रधानमन्त्री वोरिस संक्रमित भए भने स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ। गत डिसेम्बर महिनामा चीनको वुहान शहरमा पहिलोपटक भेटिएको संक्रमणले यस्तो भयावह रूप लिनसक्ला भनेर कसैले कल्पना गरेको थिएन।

यसरी फैलियो कोरोना

गत डिसेम्बर अन्तिम अर्थात् पुसको मध्यतिर चीनको वुहानमा स्थानीय समुद्री खानेकुराको थोक बजारबाट ल्याएको खाना खाएपछि एकमुष्टमा ४१ जनामा फरक खालको निमोनिया देखिएको थियो। यो कुराको जानकारी चिनियाँ अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई दिए। त्यसको भोलिपल्ट जनवरी १ मा नै त्यो बजार चीन सरकारले बन्द गरायो। जनवरी ७ मा यो भाइरस अनौठो छिटो विस्तार हुने ठहर गर्दै कोरोना भाइरस-१९ को नाम दिइयो।

जनवरी ११ मा यसका कारणले वुहानमा पहिलोपटक एकजनाको मृत्यु भएको थियो भने जनवरी १३ मा थाइल्याण्डमा चीनबाहिर पनि देखियो। यसपछि जनवरी २० अर्थात् माघ ७ मा अमेरिकाको पश्चिमी राज्य वासिंगटनका एक ३५ वर्षे जवानमा देखियो।

यी अमेरिकाका लागि पहिलो बिरामी थिए। जनवरी २३ मा चीनको हुवेई प्रान्तमा संकटकाल घोषणा गरियो र जनवरी ३० का दिन विश्व नै कोरोनाका कारण संकटमा रहेको विश्व स्वास्थ्य संगठनले घोषणा गर्यो। त्यसको भोलिपल्ट नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट भित्रिने कसैलाई पनि अमेरिका पस्न नदिने बताए। माघ १९ तदअनुसार फेब्रुअरी २ मा पहिलोपटक फिलिपिन्समा एकजनाको मृत्यु भयो। यिनी चीनबाहिर मर्ने पहिलो मानिस थिए।

घटनाको गम्भीरता त्यसबेला थपियो

घटनाको गम्भीरता त्यसबेला थपियो जब चीनमा कोरोना देखिएको जानकारी विश्वसमक्ष सार्वजनिक गर्ने डाक्टर ली वेन लियाङको कोरोनाकै कारण मृत्यु भयो। डाक्टर ली कोरोनाका बिरामीहरूकै सेवामा खटिएका थिए। सोही दिन एक अमेरिकी नागरिकको पनि वुहानमै मृत्यु भएको थियो।

त्यसपछि दक्षिण कोरियामा पनि संक्रमण देखियो र इरानमा पनि। यसबेलासम्म यसलाई अमेरिका र युरोपले यो चीनको र गरिब राष्ट्रहरूको मात्र मामिलाका रुपमा व्याख्या गरिरहेका थिए। फेब्रुअरी २१ मा इटालीमा पहिलोपटक देखिए पनि उनीहरू गम्भीर थिएनन्। यसअघि फेब्रुअरी १२ मै कोभिड-१९ का नाउँ दिएर विश्व स्वास्थ्य संगठनले संक्रामक महामारी घोषणा गरिसकेको थियो। 

 हाम्रा नीति निर्माता मिलिनियम च्यालेञ्ज कर्पोरेसन पारित गर्ने नगर्ने, सभामुख चयन, प्रधानमन्त्रीको स्वास्थ्य जस्ता विषयमा विवाद केन्द्रित रहिरहे। पछि आएर सेक्युरिटी प्रेस खरिद र मन्त्री गोकुल बाँस्कोटा विवादले हामीलाई अल्झाइरह्‍यो।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई चीन वा इरानमा मात्र लाग्ने खालको संक्रमण हो भनेर  ‘चाइनिज भाइरस’का रुपमा व्याख्या गरिरहेका थिए। संक्रमण भएको तीन सातापछि मार्च आठ(फागुन २५)मा इटालीले यसको गम्भीरता महसुस गरी देशभर लकडाउन घोषणा गर्‍यो।

यसको तीनदिन पछि विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिएर सबैलाई सावधान हुन आग्रह गरेको थियो। यसैगरी सोही दिन मार्च ११ अर्थात् फागुन २८ मा बेलायत बाहेकका युरोपेली राष्ट्रहरूबाट अमेरिका जानेमाथि प्रतिबन्ध लगाउने ट्रम्पले घोषणा गरेपछि स्थितिले अर्को गम्भीर मोड लियो। फागुनको अन्तिम दिन कोरोनाका कारण अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गर्‍यो।

उता, फेब्रुअरीको पहिलो साता अर्थात् माघ अन्तिममा नै कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया सरकारले घोषणा गरिसकेको थियो। त्यसबेलासम्म पनि यो चीन र गरिब राष्ट्रको विषय सोचिँदै थियो। भने कतिपयले सर्प चमेरो जस्ता जीव खाने राष्ट्रको मामिला भनेर पश्चिमाहरू हँस्यौली बनाएर ठट्टा गरिरहेका थिए।

मार्च १७ अर्थात् चैत ४ मा इटालीमा कोरोना संक्रमण र यसकै कारण १९ जनाको मृत्यु भएको खबर विश्वभर फैलियो।

अहिलेको हाहाकार

विश्वका करिब १ सय ८० राष्ट्रमा कोरोनाबाट अहिलेसम्ममा इटालीमा संक्रमितको संख्या एकलाखको हाराहारीमा छ भने सबैभन्दा धेरै मानिस १० हजार भन्दा बढीको त्यहाँ मृत्यु भइसकेको छ। शक्ति राष्ट्र अमेरिकामा नै विश्वमा सबैभन्दा बढी एकलाख २५ हजार संक्रमित भएका छन् र त्यहाँ मर्नेको संख्या दुई हजार नाघेको छ। विश्वको राजधानी मानिएको न्यूयोर्क शहर सबैभन्दा ठूलो संक्रमणमा परेको छ।

इटालीमा नव्वे हजार भन्दा ज्यादामा संक्रमण फैलिसकेको छ भने दशहजार भन्दा बढीले ज्यान गुमाएका छन् । सयौंको संख्यामा मर्नेहरु थपिएर दाहसंस्कार समश्या भएको छ । गाड्ने चिहान नपाएर र मृतकका शवहरुबाट संक्रमणको डरले डढाउने तर्फ लागेका छन् । त्यसमा पनि मानिसको लामो लाइन हुने गरेको सञ्चार माध्यमहरुले बताइरहेका छन् ।

स्पेनमा मर्नेहरूको संख्या ६ हजार हाराहारी पुगेको छ भने संक्रमित ७३ हजार नाघेको छ। इरानमा संक्रमित ३५ हजार र मर्नेहरूको संख्या २५ सय नाघेको छ भने जर्मनीमा संक्रमितको संख्या ५५ हजारको हाराहारीमा देखिए पनि मर्नेको संख्या चारसय मात्रै छ। बरु संक्रमित ३८ हजार नपुगेको फ्रान्समा २४ सय मरिसकेका छन्।

बेलायतमा राजकुमार चार्ल्स प्रधानमन्त्री वोरिस र स्वास्थ्यमन्त्री स्वयं संक्रमित हुनुका साथै १७ हजारमा संक्रमण र मर्नेको संख्या एक हजार नाघेको छ। लगभग सुरुमै  संक्रमण देखिएका फिलिपिन्स दक्षिण कोरियामा फैलिने आशंका गरिएका देशमा संक्रमण मात्र होइन मृत्यु पनि अपेक्षाकृत कम नै देखिएको छ।

यसको उद्गमस्थल चीनमा ८१ हजारमा संक्रमण र ३३ सयको मृत्युपछि त्यहाँ लगभग नियन्त्रणमा आइसकेको छ र वुहानले पूर्णमुक्ति पाइनसकेको भए पनि संकटकालबाट मुक्ति पाएको छ। सावधानपूर्वक जनजीवन पुरानो ठाउँमा फर्किन खोज्दैछ।

दक्षिण एशिया कम पीडित

अहिलेसम्म दक्षिण एशियामा ठूलो जनसंख्या र विकासका दृष्टिले कमजोर भनिए पनि कोरोना संक्रमणको भयावह रूप देखिएको छैन। सावधानीका उपाय अपनाउँदै जाने हो भने हामी सुरक्षित रहन सक्छौं भन्ने विश्वास कायम छ।

हामीसँग सीमा जोडिएको र खुला सिमानाका कारण सर्वाधिक आवतजावत भएको भारतमा एक अर्ब ३१ करोड जनसंख्या भए पनि संक्रमितको संख्या हजारको हाराहारीमा छ भने अहिलेसम्म मृत्यु हुने २४ जना भएका छन्।

चैत १ मा कोरोना भाइरसका कारण दोस्रो मृत्यु भोगेको भारतमा संक्रमण बढ्ने त्रासले चैत ६ मा जनता कर्फ्यु घोषणा गरियो। त्यसअघि फागुन ३० मा नै  भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट साउदी अरबबाट भारत फर्किएका ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो। आजसम्ममा भारतमा करिब एक हजारमा यो संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या २५ पनि नाघेको छैन। अहिले भारत तीनसाताको बन्द जीवन बिताइरहेको छ। यद्यपि, पश्चिमाहरूले भारतले भयावह विनास भोग्ने डर देखाइरहेका छन्।

यसैगरी, चारलाख जनसंख्या रहेको पर्यटनमा नाम कमाएको टापुराष्ट्र माल्‍दिभ्‍समा १६ जनामा संक्रमण देखिएको छ भने १७ करोड जनसंख्या भएको बंगलादेशमा ५० जनामा संक्रमण र पाँच जनाको मृत्यु भएको छ। चार करोड जनसंख्या भएको अफगानिस्तानमा करिब सयजना संक्रमित भएको देखिएको छ भने अहिलेसम्म एकजनाले ज्यान गुमाएका छन्।

श्रीलंकामा दुई करोड १५ लाख जनसंख्याबीच ११३ जनामा संक्रमण देखिनुका साथै १ जनाको मृत्यु भएको छ। यसरी नै करिब साढे १४ करोड जनसंख्या भएको पाकिस्तानमा अहिलेसम्म १२ जनाले ज्यान गुमाए भने १५ सयमा संक्रमण देखिएको छ। तीन करोडभन्दा कम जनसंख्या भएको नेपालमा पाँच र साढे सातलाख जनसंख्या भएको भुटानमा तीनजना संक्रमित देखिएका छन्।

नेपाल : राजनीतिले ढिलो

विश्वमा कोरोनाको आतंक फैलिँदै गएका बेला नेपाल त्यसको जानकार नै थियो। किनभने चीनको वुहानमा संक्रमण फैलिन थालेपछि त्यहाँ रहेका नेपाली विद्यार्थीको उद्धार गर्न विद्यार्थीका अभिभावकहरूको चर्को दबाब संक्रमणको हल्ला चल्नासाथ सुरु भएको थियो।

फेब्रुअरी १६  अर्थात् फागुन ४ गते सरकारले १७५ जना विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएर भक्तपुर खरिपाटीको क्वारेण्टाइनमा राखिसकेको थियो। नेपालमा संक्रमित नभेटिए पनि हामी जोखिममा छौं भन्ने सबैले सुरुदेखि नै महसुस गरेको कुरा हो। तर, तदअनुरूपको तयारी गर्ने काम भने अपेक्षा गरिएअनुसार अगाडि बढ्न सकेन। यसो हुनुमा चीनसँग खुला सिमाना नभएको र संक्रमण देखिएको वुहान निक्कै टाढा भएको सोचिएको हुनुपर्छ।

अहिलेको विश्वमा यातायात र सञ्चारको सुविधासँगै त्यसले ल्याउने चुनौतीलाई हाम्रा नीति निर्माताले बुझ्न सकेनन् र मिलिनियम च्यालेञ्ज कर्पोरेसन पारित गर्ने नगर्ने, सभामुख चयन, प्रधानमन्त्रीको स्वास्थ्य जस्ता विषयमा विवाद केन्द्रित रहिरह्यो। पछि आएर सेक्युरिटी प्रेस खरिद र मन्त्री गोकुल बाँस्कोटा विवादमा हामी अल्झिन पुग्यौं।

कोरोनामा प्रवेश

यद्यपि मार्च २ अर्थात् फागुन १९ गते सरकारले चीन जापान दक्षिण कोरिया बहराइन लगायतका पाँच मुलुकबाट आउनेलाई विमानस्थलबाट तत्कालै दिने प्रवेशाज्ञामा रोक लगाएको थियो। फागुन २२ मा भुटान प्रवेश गरेका एक अमेरिकीमा संक्रमण देखियो। नेपालले २३ गतेको नारी दिवस र २४ गते होली खेल्न फागु पूर्णिमामा भेला जमघट नगर्न आग्रह गर्‍यो। 

नेपालमा अहिलेसम्म पाँचजनामा मात्र संक्रमण देखिएको छ। त्यो पनि विदेशबाट आउनेहरूमा। आठ सयभन्दा बढीको प्रयोगशाला परीक्षण गर्दा संक्रमितको संख्या न्यून नै देखिएको छ। तर यसो भनेर ढुक्क पर्ने स्थिति भने छैन।

चैत २ अर्थात् मार्च १५ मा यसको गम्भीरतालाई महसुस गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा दक्षिण एशियाली सहयोग संगठन सार्क आबद्ध राष्ट्रका सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स गरेपछि यो क्षेत्रमा एकप्रकारको सक्रियता देखियो। तर त्यो सैद्धान्तिक मात्र थियो। कार्यगत तहमा त्यसको त्यति प्रभाव रहेन।

फागुन २९ मा चैत १ देखि वैशाख १८ अर्थात् अप्रिल ३० सम्म विदेशबाट नेपाल आउनेले आफू स्वस्थ्य भएको प्रमाणपत्र देखाउनुपर्ने वा आफ्नै बन्दोबस्तमा क्वारन्टाइनमा बस्नुपर्ने नियम लगाउने निर्णय भयो। तर स्थलमार्गतर्फ यो नियम लगाउने कुरामा ध्यान दिइएन। मार्च २२ चैत ९ मा विश्व स्वास्थ्य संगठनको आग्रहमा संक्रमण फैलिन नदिन नेपालले भारत र चीनका नाका ७ दिनका लागि बन्द गर्ने निर्णय लियो।

कोरोनाको प्रवेश

यस्‍तै त्रासको विषयमा नेपालको भारतसँगको खुला सिमाना सोचिएको थियो। तर नेपालमा पहिलो संक्रमित व्यक्ति चीनबाट आएका थिए जो उपचारपछि घर फर्किसकेका छन्। दोस्रो संक्रमित पनि फ्रान्सबाट घर आएका नेपाली विद्यार्थी नै हुन् भने तेस्रो कतारबाट छुट्टीमा घर आएका मानिस हुन्। चौथो कुवेत र पाँचौं बेल्जियम बसेर आएका मानिसमा संक्रमण देखिए पनि अहिलेसम्म नेपालमा कोरोनाकै कारण मृत्युका घटना भएका छैनन्।

नेपालमा अहिलेसम्म पाँचजनामा मात्र संक्रमण देखिएको छ। त्यो पनि विदेशबाट आउनेहरूमा। आठ सयभन्दा बढीको प्रयोगशाला परीक्षण गर्दा संक्रमितको संख्या न्यून नै देखिएको छ। तर यसो भनेर ढुक्क पर्ने स्थिति भने छैन। पछिल्ला दिनहरूमा संक्रमित थपिँदैछन्। क्वारन्टाइन नबस्ने, आइसोलेसनबाट भाग्ने  र शंकास्पदहरू परीक्षणमा नै नजाने गरेका कुरा बाहिर आइरहेका छन्।

अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण एउटा ढुक्क त छ तर पहिले नै छिरिसकेकाहरूको राम्रो पहिचान नभएकोले भित्रभित्रै समस्‍या निम्तिने डर पनि उत्तिकै छ। भारतमा विस्तारित हुँदै गएको संक्रमण र हाल नियन्त्रित गरिएको सीमामा भरपर्दो जाँच हुनुपर्ने र भित्रिएकाहरूलाई क्वारन्टाइन अनिवार्य राखिने कुरामा कमजोरी देखिएको छ।

यसका लागि स्थानीय सरकार बढी जागरूक चनाखो र सक्रिय हुनुपर्छ। प्रदेश सरकारको संयोजनकारी भूमिका पनि खासै देखिएको छैन। संघीय सरकारका मन्त्रीहरू सानातिना कुरामा नअल्मलिई नीति निर्माण स्रोत पहिचान र व्यवस्थापनमा लाग्नु उचित हुन्छ। संघीयताको अभ्यास गर्ने यो एउटा राम्रो अवसर पनि हो।

अन्त्यमा

कतिपय विपत्ति यस्ता हुन्छन् जसको तयारी गरिएको हुँदैन तर आएपछि टार्दै जानुपर्छ। युरोप अमेरिका त रोइरहेछन् भने हामीलाई अप्ठ्यारो पर्नु अस्वाभाविक होइन। यसबेला सरकारले सकेसम्म धेरैको सल्लाह लिएर सोच विचार गरेर कदम चालोस्। सरकारले चालेका कदममा सबैको साथ र सहयोग पनि रहनुपर्छ।

सरकारमा रहेको दलले सबै कार्यक्रम स्थगित गरेर कोरोना नियन्त्रण अभियानमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ। यो निर्देशनअनुसार कार्यकर्ता केमा लाग्ने हो भेउ नपाएको अवस्था छ। उनीहरूलाई स्पष्ट पारिनुपर्छ।

केहीले व्यक्तिगत कुण्ठा पोखे पनि सहयोग रहन्छ भन्ने संकेत प्रतिपक्षी दलहरूले संस्थागत रूपमा दिइसकेका छन्। सबै दलका नेता कार्यकर्ता अहिले यसैमा जुट्नुपर्छ।

अन्तिम र महत्त्वपूर्ण कुरा केहो भने, कोरोना प्रतिरोधी 'लकडाउन'को म्याद अरू २ साता थप्ने निर्णय अबिलम्व गरिनुपर्छ। दुई सातापछि देशभित्रको आवतजावत खुलाए हुन्छ। तर दुई सातापछि पनि भारत र चीनबाट आयात निर्यातबाहेक आवतजावत एकमहिनाका लागि बन्द राखिनु उचित हुनेछ।यसैगरी उपचारमा खट्ने सम्पूर्ण चिकित्सक सहितको टोली , सुरक्षाकर्मीहरु र  अग्रपङतिमा रहेर आधारभूत काममा खट्नेहरुको  रक्षा तथा सुविधा हेरिनु पर्छ।

अन्तर्राष्ट्रिय उडानहरू पनि अरू दुई महिनाका लागि सीमित गरेर सो अवधिमा नेपाल प्रवेश गर्ने सबैलाई २ साता क्वारेन्टाइनमा अनिवार्य राखिनुपर्छ। तपाईं हामी पनि अनुशासित र सहयोगी हुनुपर्छ । श्रम तथा रोजगारमा आश्रितलाई स्थिति परिस्थिति हेरी स्थानीय सरकारले गाँसवासको व्यवस्था गर्नुपर्छ। यसो गरियो भने मात्र हामी ठूलो क्षतिबाट बच्न सक्नेछौं। भनाइ नै छ - बाँचे मात्र नाच्न पाइन्छ। नाच्न सके मात्रै हाँस्न पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.