लकडाउनका कारण प्रहरीले खेदेपछि भोकभोकै सडक नाप्दै

|
भारतको गुजरातस्थित राजकोटमा अलपत्र परेका नेपालीहरूको एक समूह।

डडेल्धुरा : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको राजकोट शहरका विभिन्‍न होटलमा काम गरेका नेपालीलाई तलब नै नदिई कामबाट निकालिएको छ। काम गर्दागर्दै होटलबाट जबरजस्ती निकालिका १०० भन्दा बढी नेपाली श्रमिकहरू यतिखेर बिचल्लीमा परेका छन्‌। 

कोरोना भाइरस नियन्त्रणका लागि भारतका प्रधानमन्त्री मोदीले घोषणा गरेको 'लकडाउन' कार्यान्वयन भइरहेका बेला उनकै गृहनगरमा तलब नै नदिई नेपाली कामदारहरूलाई होटल सञ्‍चालकहरूले बिचल्लीमा पारिदिएका हुन्‌। 

गुजरातको राजकोटमा रहेका डडेल्धुराका सन्दीप बोगटीले दिएको जानकारीअनुसार त्यहाँका होटेल मालिकहरुले कामबाट निकालिदिएपछि १०० भन्दा बढी नेपालीहरु सम्पर्कमा आएका छन्‌। प्राप्त जानकारी अनुसार अलपत्र परेकामध्ये धेरैजसो भारतमा 'जनता कर्फ्यु' लगाइएको अघिल्लो दिन कामबाट निकालिएका थिए।

कोरोनाको कारण देखाउँदै होटेल सञ्‍चालकहरूले व्यवसाय बन्द गरेर आफूलाई कामबाट निकालेको र तलब पनि नदिएको बोगटीमार्फत सम्पर्कमा आएका डडेल्धुरा अमरगढी नगरपालिका-४ सुनेडाका तीर्थबहादुर बिष्टले जानकारी दिएका छन्‌। बिष्ट राजकोटस्थित एक होटलमा काम गर्दै आएका थिए।

होटेलबाट निकालिएका नेपालीहरू यतिखेर खुला आकाशमुनि भोकभोकै बसिरहेका छन्‌। 'लकडाउन' घोषणा गरिएका कारण ठूलो संख्यामा एकै ठाउँमा बस्दा सुरक्षाकर्मीबाट थप जोखिम हुने तथा संक्रमणको चपेटामा परिने डरले नेपालीहरू एक सातादेखि विभिन्‍न स्थानमा छुट्टाछुट्टै समूह बनाएर दिनरात काटिरहेका छन्‌।

लकडाउन भएका बेला खुला ठाउँमा देखेपछि त्यहाँको प्रहरीले अलपत्र परेका नेपालीहरूलाई लखेटिरहेको छ। प्रहरीले एक ठाउँबाट लखेटेपछि उनीहरु अर्को ठाउँमा गई लुकेर बस्‍ने गरेका छन्‌। 'बाहिर खुला ठाउँमा दिनरात काट्नु पर्ने अवस्था छ, तर त्यहाँ पनि प्रहरीले बस्न दिँदैन, लखेट्ने गरेको छ,' अर्का पीडित केशव बिष्टले दुःखेसो पोखे।

तलब नै नदिई कामबाट निकालिएका नेपालीहरूले आफूसँग खानेकुरा किनेर खाने पैसा समेत नभएको बताएका छन्‌। होटेल र पसलहरु समेत बन्द गरिएको हुँदा निकै सकसका साथ भोकभोकै समय काटिरहेको धर्म साउदले बताए।

गुजरातमा अलपत्र परेका नेपालीहरूले आफूहरू मात्र नभई राजकोट सहरमा विभिन्‍न ठाउँमा ठूलो संख्यामा नेपालीहरूले यस्तै हविगत भोगिरहेको जानकारी दिएका छन्‌। खान र बस्न समेत समस्या भएको हुँदा उद्दार गरिदिन नेपालीहरूले नेपाल सरकारका साथै सुदूरपश्‍चिम प्रदेश सरकारसँग गुहार मागिरहेका छन्‌।

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कुनै समय भारतमै काम गरेका हुनाले आफूहरुको समस्या बुझेर उद्दार गरिदिने आशा अलपत्र नेपालीहरूले गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.